गृहपृष्ठ कर्मचारी समायोजनको मारमा मेहेलकुना अस्पताल, जनशक्ति अभावले सेवा प्रभावित
कर्मचारी समायोजनको मारमा मेहेलकुना अस्पताल, जनशक्ति अभावले सेवा प्रभावित
गुर्भाकोट नगरपालिका– ६ का ईन्द्रबहादुर थापाले मेहेलकुना अस्पतालमा पहिलेजस्तो सेवा नपाएको गुनासो गरे । उनले स्थापना कालमा अस्तालले राम्रै सेवा दिएको भए पनि हाल भने आफूहरुले सन्तोषजनक सेवा नपाएको बताए ।
समयमै उपचार नपाउँदा बिरामीको ज्यान गएका धेरै उदाहरण रहेको उनको भनाइ छ । ‘पचास शैय्याको अस्पतालमा एउटा एम्बुलेन्ससमेत छैन,’ उनले भने, ‘सर्पले टोकेको बेला होस् या सुत्केरीको गम्भिर अवस्थामा होस् बाहिरको गाडी नबोलाई विकल्प छैन ।’ अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकार र गुर्भाकोट नगरपालिकाले एम्बुलेन्स खरिदका लागि छुटाएको बजेट अहिलेसम्म अत्तोपत्तो नभएको उनले बताए । जाजरकोट जिल्लालगायत सुर्खेतका सिम्ता गाउँपालिका, भेरीगंगा नगरपालिकाबाट सेवाग्राही आए पनि अस्पतालले भने राम्रो सेवा दिन नसकेको उनले गुनासो गरे । अस्पतालमा प्रशिक्षार्थी डाक्टरहरु मात्र हुने गरेको उनको भनाइ छ ।
कर्मचारी समायोजनका कारण भनेजस्तो सेवा दिन नसकेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. मनिषकुमार मिश्रले बताए । उनले अस्पतालमा आवश्यक कर्मचारीको अभावमा सेवामा प्रभावित भएको बताए । ‘अस्पतालले नियतवश सेवाग्राहीलाई सेवा नदिएको होईन,’ उनले भने, ‘कर्मचारी समायोजनका कारण मेहेलकुना अस्पताल ताला लगाउनुपर्ने अवस्थामा पुगेको थियो ।’
स्थानीय तहसँग समन्वय गरी केही समयका लागि करारमा कर्मचारी थप गरे पनि अझै अस्पतालमा कर्मचारी अभाव रहेको उनले बताए । ‘पहिलो त अस्पताललाई दरबन्दी नै थोरै छ । त्यसमा पनि दरबन्दीअनुसार डाक्टरहरु छैनन्,’ उनले समस्या सुनाए । सुपरिटेन्डेन्ट डा. मिश्रले पचास शैय्याको अस्पतालका लागि नवौँ वा दशौँ तहको मेडिकल अधिकृत आवश्यक परे पनि आठौँ तहको मेडिकल अधिकृतले प्रमुखको जिम्मेवारी सम्हाल्नु परेको बताए ।
अस्पतालमा विशेषज्ञ डाक्टर १, जनरल फिजिसियन १, मेडिकल अधिकृत ४, ल्याब टेक्निसियन २, एक्सरे रेडियोग्राफीमा २, प्रशासनमा १ जना नायब सुब्बा, प्रसुतिमा अनमी ३, प्यारामेडिसिनमा ४ एचए र अहेब ४ जना गरी अझै करिब २५ जना जनशक्तिको आवश्यक रहेको उनले बताए । दिनमा दुईसय पचासभन्दा बढी सेवाग्राही अस्पतालमा सेवा लिन आउने गरेको उनले बताए ।
स्थानीय तहको सहयोगमा करारमा कर्मचारी थप गरे पनि समस्याको दीर्घकालीन समाधानका लागि ठोस निर्णय लिनुपर्ने उनले बताए । कर्मचारी समायोजनमा आफू पनि बाहिर जाने तयारीमा रहेको तर अस्पताल सुधारका लागि केही दिन बसेको उनको भनाइ छ । स्वास्थ्य विभागले केही मेडिकल अधिकृतहरु खटाइरहेको भए पनि यसबारे कर्णाली प्रदेश सरकारले कुनै चासो नदेखाएको उनले गुनासो गरे । भनेजस्तो सेवा नपाउँदा सेवाग्राहीले गुनासो गर्नु स्वभाविक भएकोसमेत उनले बताए ।
सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका जनस्वास्थ्य प्रशासक बृषबहादुर शाहीले मन्त्रालयमा आएका कर्मचारीहरु पठाइरहेको बताए । प्रदेश सरकारको मातहतमा रहेको मेहेलकुना अस्पताललाई स्थानीय तहले नै व्यवस्थापन गर्नेगरी जिम्मा दिएको उनले बताए ।
गुर्भाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर कुँवरले मेहेलकुना अस्पताल कर्णाली प्रदेश सरकारको मातहतमा भएकाले आफूहरुको अधिकार क्षेत्रभित्र नपर्ने बताए । ‘हाम्रो अधिकार क्षेत्रभित्र नपरे पनि हामीले केही कर्मचारीका लागि सहयोग गरेका थियौँ,’ उनले भने, ‘तर सँधै हामीहरुले सहयोग गर्न सक्दैनाैँ । हाम्रै स्थानीय तहमा अस्पताल भएको कारण सेवाका गुणस्तर र प्रभावकारितालाई हेर्न सक्छौँ ।’
२०७२ सालमा स्थापना भएको मेहेलकुना अस्पताल कर्णाली प्रदेश सरकारको मातहतमा रहेको छ । हाल अस्पतालमा विशेषज्ञ डाक्टर नभए पनि दुईवर्षे परिक्षण कालको लागि मिक्स साईमनले एकजना विशेषज्ञ डाक्टर पठाएको अस्पताल प्रशासनले बताएको छ । अस्पतालका अनुसार डेण्टल अधिकृत एकजना मात्रै स्थायी रहेको छ । अस्पतालमा प्रदेश सरकार, स्वास्थ्य विभाग र अस्पताल व्यवस्थापन समितिले गरी ६ जना मेडिकल अधिकृत र डेण्टल अधिकृत डाक्टर करारमा दिएका छन् । अन्य कर्मचारी, स्टाफ नर्श, अनमी , अहेब र ल्याब तथा फार्मेसी गरी ८ जना करार र १४ जना स्थायी कर्मचारी रहेको अस्पतालले जानकारी दिएको छ । कार्यालय सहयोगी भने समिति र विभागको दरबन्दीअनुसारका गरी ११ जना रहेका छन् ।
प्रकाशित समय १३:२३ बजे
















