गृहपृष्ठ मोहनी लगाउने श्रीअन्तुको सुन्दरता

मोहनी लगाउने श्रीअन्तुको सुन्दरता

shreeantu_tourism

सूर्योदय र सूर्यास्तको आकर्षक दृश्यका लागि चर्चित इलामको श्रीअन्तुमा पर्यटकको चहलपहल सुरु भएको छ । घाम उदाएको र अस्ताएको हेर्नकै लागि असोजदेखि मंसिर अन्तिमसम्म दैनिक सयौँ पर्यटक श्रीअन्तु पुग्छन् ।

पर्यटकीय गन्तव्यका रूपमा परिचित श्रीअन्तु सूर्योदय नगरपालिकामा पर्दछ । तराईबाट नजिकै पर्ने र यातायातको सहजताका कारण पनि श्रीअन्तु धेरै पर्यटकहरूको पहिलो रोजाइ बन्ने गरेको छ । सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य नै श्रीअन्तुको मुख्य आकर्षण हो । भारतका विभिन्न क्षेत्रका पर्यटकहरू समेत श्रीअन्तु आउने गरेका छन् । श्रीअन्तुमा आगामी मंसिरमा ‘श्रीअन्तु महोत्सव’को आयोजना हुने भएको छ ।

विराटनगरबाट अन्तु पुगेका युवा राजनीतिकर्मी मृत्युजयकुमार झाले भ्रमण वर्षको सन्दर्भमा सबै पर्यटकीय स्थलहरुको प्रचारप्रसार, प्रवद्र्धन र भौतिक पूर्वाधार निर्माणका लागि सबैले ध्यान दिनुपर्ने बताए । यसका लागि स्थानीय तह तथा प्रदेश र संघीय सरकारले उचित ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ । ‘अन्तु चर्चित पर्यटकीय ठाउँ हो । यसको चर्चा विदेशमा समेत हुन्छ, तर सडकको अवस्था भरपर्दो छैन रहेछ,’ उनले भने, ‘साँच्चै वाह्य पर्यटकहरु वृद्धि गर्ने हो भने यस्ता पर्यटकीय स्थलहरुमा पुग्ने सडकहरुको तत्काल स्तरोन्नति गरिनुपर्छ ।’

विराटनगरका योगनारायण राजवंशीले अन्तु सोचेभन्दा सुन्दर र रमणीय पाएको बताए । ‘यो ठाउँको बारेमा धेरै पहिलेदेखि सुनेको थिएँ । आउने मौका मिलेको थिएन । दसैँपछिको खाली समयमा मौका जु¥यो । साह्रै राम्रो ठाउँ रहेछ,’ उनले भने । श्रीअन्तुमा आइपुग्दा तनाव र थकानहरु मेटिएको महसुस भएको राजवंशी बताउँछन् । भन्छन्, ‘धर्तीको स्वर्गझैँ लाग्यो । सायद अर्को पटक पनि आउँछु होला ।’

दृश्यावलोकनका लागि बनाइएको टावरबाट मात्र होइन, वरपरबाट समेत सूर्याेदय र सूर्यास्त अत्यन्त आकर्षक देखिन्छ । श्रीअन्तुको विकासका लागि केही योजनाहरू बनेर काम सुरु भए पनि त्यति मात्र पर्याप्त नहुने स्थानीयहरु बताउँछन् । बाह्रै महिना पर्यटक आइरहने हुँदा सडकलाई पनि त्यहीअनुसार भरपर्दो र स्तरीय बनाइनुपर्ने उनीहरुको माग छ ।

आँखाले भ्याएसम्म पर-पर हेर्दा ‘हरियो गलैंचा ओछ्याए’झैँ देखिने चियाबारी र डाँडाभरि उभिएका धूपीसल्लाका ‘कोणधारी’ रुखहरुको दृश्यले श्रीअन्तु पुग्ने जोकोहीको मन आनन्दित तुल्याउँछ । अलैंचीका बगानहरु, मौसम अनुसारका फलफूल तथा नगदे बालीहरु श्रीअन्तुको आकर्षण हुन् । सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारबाट १४ किलोमिटर पूर्वमा रहेको श्रीअन्तुमा सडक, सञ्चार र खाना बस्नका लागि उल्लेख्य होमस्टे सञ्चालनमा छन् । तर सडक भने ठाउँठाउँमा कच्ची नै छ ।

बर्सेनि पर्यटकहरुको आगमन बढिरहेको अन्तु पर्यटक विकास समितिका अध्यक्ष धनकुमार आलेले बताए । उनले भने, ‘सफा मौसम हुने भएकाले यो मुख्य सिजन हो । पर्यटकहरुको आउने क्रम बढेको छ ।’ पर्यटकका सुविधाका लागि खाने बस्ने लगायतका अन्य आकर्षणहरु पनि थप्ने काम भइरहेको आले बताउँछन् ।

विभिन्न किसिमका पूर्वाधारहरु निर्माण गरी अन्य केही कार्यक्रमहरु सञ्चालन गर्नसके पर्यटकहरुलाई थप केही दिन श्रीअन्तुमै बसाउनका सकिने सरोकारवालाहरुको भनाइ छ ।

प्रकाशित समय ११:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु