गृहपृष्ठ पोखरा उपचुनाव : विद्या कि खेमराज ?

पोखरा उपचुनाव : विद्या कि खेमराज ?

bidhya-khemraj-pokhara

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पोखराको माहोल निकै तातेको छ । नेकपाका चर्चित युवा नेता स्वर्गीय रविन्द्र अधिकारीको क्षेत्र आफ्नो पक्षमा पार्न दल तथा तिनका नेता र उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

मंसिर १४ मा उपचुनाव हुनेमध्ये संघीय प्रतिनिधिसभामा प्रतिनिधित्व हुने एउटा मात्र क्षेत्र भएकाले ठूला दल नेपाल कम्युनिस्ट पार्टी नेकपा र नेपाली कांग्रेसका लागि कास्की २ विशेष प्राथमिकतामा परेको छ । साम, दाम, दण्ड, भेद राजनीतिको चारै अस्त्र प्रयोग गरेर यी दुई दल नतिजा आफ्नो पक्षमा पार्न जोडबल गरिरहेका छन् ।

कास्कीमा नेकपाले स्व. अधिकारीकी धर्मपत्नी विद्या भट्टराई अधिकारीलाई अघि सारेको छ भने कास्कीका पाका नेता खेमराज पौडेललाई प्रतिस्पर्धामा उतारेको छ । त्यस्तै राप्रपाबाट रोमबहादुर भण्डारी, साझा पार्टीबाट रजनी के.सी, मंगोल अर्गनाइजेसन पार्टीबाट रियाज गुरुङ, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, नेपाली कांग्रेस बिपीबाट चन्द्रबहादुर रानाभाटले उम्मेदवारी दिएका छन् ।

उपचुनावका लागि २५ जनाले मनोनयन दर्ता गराएकोमा ३ जनाको उम्मेदवारी खारेज भइसकेको छ । त्यसमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन् । चुनाव प्रचारप्रसार समिति गठन गरेर घरदैलो अभियानमा होमिएकामध्ये सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका उम्मेदवार नै यहाँका मुख्य दाबेदारका रुपमा देखिएका छन् ।

नेकपाले पोखरा महानगरका ११ वटै वडामा प्रचारप्रसार अभियान जारी राखेको छ । नेकपाले मतदातासँग अन्तक्र्रिया, भेटघाट तथा घरदैलोलाई तीव्रता दिएको हो ।

नेकपा कास्की २ की उम्मेदवार भट्टराई स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्वकर्ताको दलको हिसाबले पनि आफ्नो जित सुनिश्चित रहेको बताउँछिन् । घरदैलो क्रममा उनले जटिबुटी उत्पादन र व्यावसायिक पशुपालन, मौजा, काहुँ, भलाम, अर्मलाकोट, निर्मलपोखरी जस्ता डाँडामा केबलकार सञ्चालन अर्मलादेखि मौजासम्मको बाटो तीन वर्षभित्र कालोपत्रे गर्ने, अर्मलाकोटलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने आश्वासन मतदातालाई दिइरहेकी छन् । विकासका लागि गुरुयोजना बनाएर काम गर्ने उनको प्रतिबद्धता छ ।

मंसिर ११ गते नेकपाले प्रदर्शनी केन्द्रमा आमसभा आयोजना गरेको छ । सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै कांग्रेसले पनि पूरा शक्ति कास्कीमा केन्द्रित गरेर चुनाव प्रचार गरिरहेको छ । कांग्रेसले क्षेत्र नम्बर २ का सबै मतादातसँग भेटघाट गरिसकेको जनाएको छ । तीन चरणमा चुनाव प्रचार अभियान चलाएको कांग्रेसले पहिलो, दोस्रो र तेस्रो चरणमा मतदाता भेटघाट पूरा गरेको हो । एकपटक सबै मतदातासँग भेट गरी गुनासो सुन्ने र पार्टीको धारणा स्पष्ट राख्ने काम भएको पार्टी सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार अब चुनावी सभामार्फत पार्टीको प्रतिबद्धता सार्वजनिक गरिनेछ ।

कांग्रेस नेताहरुले चुनावी एजेन्डाभन्दा पनि सत्तारुढ नेकपाको विरोधमा समय खर्चिने गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रवादी बन्ने होडमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सीमा अतिक्रमणसम्बन्धी गम्भीर आरोप नै लगाए । मतदातासामु शनिबार उनले भने, ‘केपी ओलीकै सल्लाहमा भारतले नयाँ नक्सा जारी गरेको हो ।’

सोमबार कांग्रेस नेतृ विन्दा रानाले सरकार पूर्णरुपमा असफल भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा रहने नैतिक हैसियत गुमाएको तर्क गरिन् । कांग्रेस उम्मेदवार पौडेल भने अलि शान्त तवरले भोट मागिरहेका छन् । उनले खानेपानी, यातायात, सडकलगायतका क्षेत्रमा देखिने गरी काम गर्ने बाचा मतदातासमक्ष गरिरहेका छन् ।

वैकल्पिक दलका रुपमा आफूलाई उभ्याएको साझा पार्टीको चुनाव प्रचार शैली अलि फरक छ । ठूला दलले जस्तो भड्किलो शैली अपनाउन नसकेको साझाले उम्मेदवारलाई मकै र समोसा खुवाउँदै प्रचारमा उतारेको छ । सामाजिक सञ्जालमा बढी छाएको साझाले यही चुनावबाट प्रतिनिधिसभामा उपस्थिति जनाउने लक्ष्य लिएको छ ।

कांग्रेस छाडेर साझामा आएकी रजनी केसी पुराना दलले केही गर्न नसकेकाले तराजुमा भोट हाल्न आग्रह गरिरहेकी छन् । चुनाव प्रचारका क्रममा उनी भन्छिन्, ‘पुराना दल भ्रष्टाचारको अखडा बनेका छन् र यिनीहरुबाट विकास र समृद्धि सम्भव छैन, अबको विकल्प साझा हो, भोट तराजुमा हाल्नुहोस्, हामी हाम्रै पालामा समृद्धि चाहन्छौं ।’

चुनावको नतिजा के आउँछ भन्न सकिन्न । यसअघिका तीन वटा चुनावमा लगातार जितेको नेकपा फेरि जित हात पार्दै आफ्नो विरासत जोगाउने ध्याउन्नमा छ भने कांग्रेस त्यसलाई उल्ट्याएर सरकारलाई सबक सिकाउने योजनामा छ ।

कास्की २ मा २०७४ साल मंसिर १० गते भएको चुनावमा नेकपा उम्मेदवार अधिकारी २७ हजार २०७ मतसहित विजयी भएका थिए भने निकटतम प्रतिद्वन्द्वी देवराज चालिसेले १८ हजार ६६१ मत ल्याएका थिए । कास्की २ मा ७१ हजार ८७१ मतदाता छन् ।

प्रकाशित समय १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु