गृहपृष्ठ ठेकेदारको लापरबाहीले बेनी अस्पतालको भवन अलपत्र

ठेकेदारको लापरबाहीले बेनी अस्पतालको भवन अलपत्र

सांकेतिक तस्बिर

तोकिएअनुसारको काम गरेको भए बेनी अस्पतालको भवन बनिसक्थ्यो । निर्माण व्यवसायी र सम्बद्ध कार्यालयको लापरबाहीका कारण भवन बनिसक्नुपर्ने समयमा आधा पनि प्रगति हुन नसकेको हो ।

गत असारदेखि कार्यक्षेत्र छोडेका मजदुर र निर्माण व्यवसायी अझै काममा फर्किएका छैनन् । तीनतले ५० श्ययाको अस्पताल भवन अन्डरग्राउन्ड ढलान गरेपछि अलपत्र छाडिएको हो ।

भवन निर्माणमा भएको ढिलासुस्तीका कारण सेवा प्रवाहमा असर परेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘पचास श्यया क्षमता भए पनि १५ श्ययाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौँ’ अध्यक्ष कटुवालले भने, ‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’

नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो । बहिरंग कक्षको सेवा अस्थायी, आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । १५ श्यया क्षमताको अस्पताल २०७२ मा पचास श्ययामा स्तरोन्नति भएको थियो ।

तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मंसिर २१ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

संघीयता कार्यान्वयनपछि शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीलाई गत वर्ष आयोजना हस्तान्तरण भएको थियो । रु २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको भवन महादेव खिम्ती–गल्वा–रफिना जेभीले रु ५ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का लिएको थियो ।

२०७६ मंसिर २० गते भवन निर्माण सक्ने लक्ष्य थियो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा चार तले तीन वटा भवन बनाउन लागिएको हो । एक वटा ब्लक भवनको दोस्रो तला ढलान भएको छ । दुई वटाको दोस्रो तला ढलानका लागि सेटिङ गरेर छोडिएको छ ।

भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन बनाउन लागिएको हो । भुईतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमर्जेन्सी, ल्याब, रेडियोलोजी, दोस्रोतलामा शल्यक्रिया कक्ष, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।

पटक–पटक ताकेता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन अलपत्र परेको अध्यक्ष कटुवालले बताए ।

ठेकेदार कम्पनीका प्रतिनिधि रवीन जोशीले पुरानो भवन भत्काउन, रुख कटान र ढुवानीका लागि सडक बनाउन समयमै अनुमति पाउन भएको ढिलाइले सम्झौता गरेको एक वर्षपछि मात्र काम शुरु गर्न पाएको बताए । ‘साइट किलियर नहुँदा एक वर्ष ढिला भयो, पछि हाम्रै आन्तरिक कारणले ढिलाइ भएको हो’, जोशीले भने, ‘आन्तरिक समस्या समाधान भइसक्यो । अब एक हप्ताभित्रै मजदूर र निर्माण सामग्री लिएर भवन निर्माणको काम अघि बढाउन आउँदैछु ।’

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख झपट थापाले बेनी अस्पतालको भवन निर्माणलाई गति दिन निर्माण व्यवसायीलाई निर्देशन दिएको बताए । एक वर्षभन्दा बढी समय म्याद थप गर्न नमिल्ने नीतिगत व्यवस्था छ ।

तत्कालै सन्तोषजनक रुपमा काम अघि नबढाए ठेक्काको म्याद थप नगर्ने चेतावनी दिएको उनले बताए । ‘ठेकेदारलाई बोलाएर मौखिकरुपमा काम नगरे ठेक्का तोड्ने चेतावनी दिएका छौँ’, थापाले भने, ‘अब उसले काम अघि बढाउनुको विकल्प छैन ।’ (रासस)

प्रकाशित समय ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु