गृहपृष्ठ कृत्रिम गर्भाधानप्रति आकर्षित हुँदै पशुपालक
कृत्रिम गर्भाधानप्रति आकर्षित हुँदै पशुपालक
नश्ल सुधार गरिएका गाईभैँसीले दूध बढी दिने भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पशुपालक किसान कृत्रिम गर्भाधानप्रति आकर्षित भएका छन् ।
चालु आवको तीन महिनाको अवधिमै १८४ गाईभैँसीमा कृत्रिम गर्भाधान गरिएको छ । नगरपालिकाको पशु विकास शाखाका अधिकृत नारायणदत्त भट्टका अनुसार साउन, भदौ र असोज महिनामा गरी गाई ११४ र ७० वटा भैंसीमा कृत्रिम गर्भाधान गरिएको छ । गत आवमा भने गाई १ हजार ५० र भैँसी ५ सयमा कृत्रिम गर्भाधान गरिएको थियो ।
कृत्रिम गर्भाधान गरिएका गाईमा ६० देखि ७० प्रतिशत र भैँसीमा ४० देखि ४५ प्रतिशतसम्म गर्भ रहने गरेको अध्ययनले देखाएको अधिकृत भट्टको भनाइ रहेको छ । ‘कृत्रिम गर्भाधान गराउने कार्य तीव्र रूपमा हुन थालेपछि दूधको उत्पादनमा समेत वार्षिक रूपमा ६.५ प्रतिशतका दरले वृद्धि हुँदै गएको छ,’ भेटेरिनरी अधिकृत रामप्रसाद भट्टले भने ।
गाईमा कृत्रिम गर्भाधान गराउँदा जर्सी, होलेस्टिन र भैँसीमा मुर्राको सिमेन राख्ने गरिएको छ । स्थानीय जातका गाईभैँसीको नश्ल सुधार गरी दुग्ध उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्य पशु विकास शाखाको रहेको छ । उन्नत नश्लका गाईभैँसी उत्पादन हुन थालेपछि व्यावसायिक रूपमा गाईभैँसीका फर्म खोल्नेहरुको संख्या प्रतिवर्ष बढ्दो रूपमा रहेको छ । (रासस)
प्रकाशित समय १३:०६ बजे
















