गृहपृष्ठ कास्की २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा

कास्की २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा

election_commission_newskarobar

कास्की क्षेत्र नम्बर २ अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि शनिबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनको अन्तिम तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए ।

बिहीबार र शुक्रबार मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण गरेसँगै शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भई बेलुका ५ बजेसम्म सञ्चालन हुने उनले बताए । कास्की उपनिर्वाचनका लागि ३२ मतदान स्थल छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृत, कर्मचारी र सहयोगी गरी जम्मा ४१० जना कर्मचारी निर्वाचनमा खटिएको निर्वाचन अधिकृत सुवेदीले बताए ।

मतदान सकिएलगत्तै सम्पूर्ण मतपेटिका मुख्य निर्वाचन कार्यालयमा आएसँगै सर्वपक्षीय र सर्वदलीय बैठक बसेर शनिबारदेखि नै मतगणना गर्ने तयारी आयोगको छ । आइतबार बेलुकासम्म मतगणना सकिने गरी मतगणनाको नतिजा सार्वजनिक गर्ने पक्षमा आफूहरु लागेको निर्वाचन अधिकृत सुवेदीले बताए । निर्वाचन पोखरा महानगरभित्रका ११ वटा वडा पर्ने भएकाले मतदान सकिएको करिब डेढ घण्टामा मतपेटिका ल्याइसक्ने अनुमान गरिएको छ ।

पोखराबाट अन्य जिल्लामा लामो दूरीका गाडीसमेत सञ्चालन हुने हुँदा विभिन्न ठाउँमा गाडी रोकेर तीन–तीन घण्टामा स्कर्टिङ गरी यातायात सेवा सञ्चालन गरिने भएको छ । लामो दूरीमा चढ्ने र आवश्यकताको आधारमा मात्र स्कर्टिङको व्यवस्था गरिने कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

कास्की २ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार चुनावी मैदानमा छन् । कात्तिक २१ गते २५ जनाको उम्मेदवारी परेकोमा स्वतन्त्र उम्मेदवारी दिएका एकले उम्मेदवारी फिर्ता लिएका हुन् भने तीन दलका उम्मेदवारको नाम समानुपातिक बन्दसूचीमै रहेकाले हटाइएको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित समय १८:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु