गृहपृष्ठ भरतपुरमा स्तम्भसँगै पर्यटकको स्वागत गरिँदै

भरतपुरमा स्तम्भसँगै पर्यटकको स्वागत गरिँदै

भरतपुर महानगरपालिकाले भ्रमण वर्ष सन् २०२० लाई विशेष कार्यक्रमका साथ स्वागत गर्ने भएको छ । संघीय सरकारले छानेका एक सय पर्यटकीय गन्तव्यमध्येको एक पटिहानी र प्रदेश सरकारले छानेको एक जिल्ला एक पर्यटकीय गन्तव्यमध्येको मेघौली महानगरपालिकामा पर्दछ ।

महानगरपालिकाका पर्यटन विज्ञ विश्वराज सुवेदीका अनुसार नगर प्रमुखको संयोजकत्वमा ११ सदस्यीय स्टेरिङ कमिटी र ९१ सदस्यीय मूल समिति निर्माण गरी काम अघि बढाइएको छ । सुवेदीकै संयोजकत्वमा क्यालेन्डर र ब्रुसर निर्माण उपसमिति गठन गरिएको छ ।

पर्यटन व्यवसायी दिनेश चुकेको संयोजकत्वमा स्तम्भ निर्माण उपसमिति र अमृत जोशीको संयोजकत्वमा र्‍याली व्यवस्थापन उपसमिति गठन गरिएको छ । चुकेका अनुसार जिल्ला भित्रने पर्यटकका लागि नयाँपन दिने गरी नारायणी पुलको पूर्वपट्टि नारायणी नदी किनारमा स्तम्भ निर्माण गरिँदै छ । पन्ध्र फिट अग्लो स्तम्भमा १० फिट अग्लो बाघले मुखबाट पानी नारायणी नदीतर्फ फाल्दै गरेको दृश्य नारायणी पुलबाट समेत देख्न सकिने गरी स्तम्भ निर्माण गर्न लागिएको हो ।

उनका अनुसार १ करोड रुपैयाँ हाराहारी खर्च गरी निर्माण गर्न लागिएको स्तम्भ तीन कट्ठा जमिनमा फैलनेछ । बाघले फाल्ने पानी त्यहीँ निर्माण गर्ने पोखरीमा खस्नेछ । वरिपरि बगैँचा निर्माण गरी मानिस बस्नका लागि बेन्च राखिँदै छ । उक्त महानगरपालिकाले यसअघि नै पोखरा महानगरपालिकासँग पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न सम्झौता गरिसकेको छ ।

पर्यटन मेलादेखि स्वदेश र विदेशमा प्रचारप्रसार, सिकाइको आदानप्रदानसँगै भरतपुरको नाम दिएर पोखरामा र पोखराको नाम दिएर भरतपुरमा सडकको नामकरणसमेत गरिँदै छ । पर्यटनविज्ञ सुवेदीका अनुसार यसैगरी लुम्बिनी सांस्कृतिक नगरपालिकासँग निजी क्षेत्रसहित बसेर पर्यटन प्रवर्द्धनका लागि सम्झौता गरिँदै छ ।

महानगरपालिकाले भ्रमण वर्षलाई लक्षित गरी अन्तरक्रिया, पर्यटकीय गन्तव्यको भ्रमण, वत्तृत्वकला, नारायणी नदी किनारमा गरिने खेल, योग शिविर, होटल रेस्टुरेन्टमा छुट घोषणा, भ्रमण प्याकेज, चौमासिक पत्रिका प्रकाशनलगायत ३० कार्यक्रम घोषणा गर्दै छ । महानगरपालिकाले मुख्य सात पर्यटकीय गन्तव्य मेघौली, पटीहानी, देवघाट धाम, ज्ञानेश्वर ब्लक, चौकीडाँडा, नारायणी किनार र बिसहजारी ताललाई विशेष प्राथमिकतामा राखेर भ्रमण प्याकेज घोषणा गर्दै छ ।

महानगरभित्रका २७ स्थललाई पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्न लागिएको सुवेदीले जानकारी दिए । महानगरभित्र ६५ पर्यटकीय होटल छन् । चितवन राष्ट्रिय निकुञ्ज प्रवेशसँगै राप्ती र नारायणी नदीमा जलक्रिडाका लागि रमाउन पर्यटक यहाँ आउने गर्छन् । दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा, बाघलगायत जनावरले यहाँ आउने स्वदेशी र विदेशी पर्यटकलाई लोभ्याउने गरेको छ । (रासस)

प्रकाशित समय १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु