गृहपृष्ठ मलेसियामा ३१ हजारलाई रोजगारीको अवसर

मलेसियामा ३१ हजारलाई रोजगारीको अवसर

वैदेशिक रोजगारीको आकर्षक गन्तव्य मलेसियाका लागि एकैपटक ३१ हजार कामदारको माग स्वीकृत भएको छ । नेपाल सरकार र मलेसियाबीच सन् २०१८ मा भएको समझदारीअनुसार ३१ हजार २०१ कामदारको माग स्वीकृत भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

जसअनुसार औद्योगिक क्षेत्रका लागि १७ हजार ११६ कामदारको माग आएको छ । यस्तै सेवा क्षेत्रमा सुरक्षा गार्डसहित १० हजार १८३, कृषिक्षेत्रमा १ हजार ४७५, प्लान्टेसनमा १ हजार ३९७ र निर्माणतर्फ १ हजार ३० जनाको माग आएको छ ।

नेपाल सरकार र मेलेसिया सरकारबीच सन् २०१८ मा कामदारको नियुक्ति, रोजगारी तथा घरफिर्तीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । दूतावासका अनुसार समझदारी कार्यान्वयनमा आएपछि वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४ तथा वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ अनुसार कामदारको माग स्वीकृत भएको हो ।

कामदार ठगी बढेपछि व्यवस्थित गर्न भन्दै तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले मलेसियाको रोजगारी रोकेका थिए । अक्टुबर र नोभेम्बरमा दूतावासमा पेस भएका मागपत्र प्रमाणीकरण गरी वैदेशिक रोजगार विभागमा सिफारिस गरिएको दूतावासले जनाएको छ ।

मलेसियास्थित नेपाली दूतावासले व्यवसायी तथा नेपाली कामदारको हितलाई ध्यानमा राखी दूतावासले मलेसियाको गृह मन्त्रालयबाट जारी भएको विदेशी श्रमिक नियुक्त गर्ने कोटाको १५ दिनसम्मको वैधानिकता भएको मागपत्र स्वीकार गर्ने गरेको छ ।

प्रकाशित समय १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु