गृहपृष्ठ १० वर्षे गुरुयोजना चाँडै सार्वजानिक हुन्छ : मुख्यमन्त्री राई
१० वर्षे गुरुयोजना चाँडै सार्वजानिक हुन्छ : मुख्यमन्त्री राई
सुनसरीको दुहबी नगरपालिकाले बहुवार्षिक योजनाअन्तर्गत रुपैयाँ १ अर्ब २३ करोड ६४ लाख रुपैयाँका विभिन्न चार योजना सार्वजनिक गरेको छ ।
ती योजनाहरुमा दुहबी नपा-७ मा ९३ करोड ३१ लाख रुपैयाँको लागतमा निर्माण गरिने गोल्डेल वाटर पार्क, वडा नं ११ तनमुनामा ७ करोड रुपैयाँको नगरप्रमुख आवास योजना, वडा नं ४ मा २० करोड ९६ लाख रुपैयाँको रंगशाला र सोही वडामा १२ करोड ३७ लाख रुपैयाँको हाटबजार रहेका छन् ।
‘दुहबी नगरपालिकाको विकासको आधार कृषि, उद्योग, प्रविधि, खेलकुद र व्यापार’ नाराकासहित पर्यटन क्षेत्र विकास सन्दर्भमा बिहीबार साँझ यहाँ आयोजित कार्यक्रममा ती योजना सार्वजनिक गरिएको हो । ती योजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार भएका छन् ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पर्यटन पूर्वाधार निर्माणले यस क्षेत्रमा छिमेकी देशका पर्यटकको आवागमन वृद्धिबाट समृद्ध कायम हुने बताए ।
उनले भने, ‘प्रदेश सरकारले आगाडि बढाएका योजनाबद्ध विकास कार्यमा संघीय, स्थानीय र निजी क्षेत्रसँग समन्वय गरी जनतामा रोजगारी उपलब्ध गराउनाका साथै आधुनिक कृषि प्रणालीबाट आत्मनिर्भर हुनेछ ।’
मुख्यमन्त्री राईले स्वच्छ, सुखी र समुन्नत प्रदेशको निर्माणका लागि सहरी विकास, पर्यटन क्षेत्रका लागि १० वर्षे गुरुयोजना चाँडै सार्वजनिक गरिने बताए ।
उक्त अवसरमा योजना सार्वजनिक गर्दै नगरपालिकामा प्रमुख वेद गच्छदारले योजनाको निर्माणबाट जनताको आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गरे । (रासस)
प्रकाशित समय १२:५७ बजे
















