गृहपृष्ठ महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित

महिला क्रिकेटमा नेपाल श्रीलंकासँग ४१ रनले पराजित

mahila cricket

० स्वर्णका लागि बंगलादेश र श्रीलंका
० कास्यका लागि नेपाल र मालदिभ्स भिड्ने

नेपाललाई ४१ रनले पराजित गर्दै श्रीलंका १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार पोखरा रंगशालामा भएको महत्पूर्ण खेलमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाएर ११८ रनको योगफल तयार पारेको थियो । जवाफमा नेपालले २० ओभर खेल्दा ९ विकेटको क्षतिमा ७७ रन मात्रै बनाउन सक्यो ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा सोनु निसानसलाले ४ ओभरको स्पेलमा १६ रन खर्चिएर महत्वपूर्ण ३ विकेट लिइन् । त्यस्तै सत्या संदिपनी २ तथा मल्सा रनतुंगा १ विकेट लिइन् । नेपालको ब्याटिङमा कप्तान रुबिना क्षेत्री बेलवासीले १९, कविता कुँवरले १३, करुणा भण्डारीले १२ तथा अप्सरा बेगमले ११ रन जोडे ।

श्रीलंकाको जितमा लिहिनी अप्सराको ३७ तथा आज अनलीको ३५ रन महत्वपूर्ण रह्यो । अप्सराले ५ चौका प्रहार गरेकी थिइन् । त्यस्तै सत्या संदिपनीले २२ तथा हर्षिता माधवीले १६ रन जोडे । नेपालको बलिङमा सरस्वती कुमारी र सोनु खड्काले समान २–२ विकेट लिए । कीर्तिमानी बलर अञ्जली चन्दले १ विकेट लिइन् ।

प्लेयर अफ द म्याच भएकी श्रीलंकाकी सोनु निसान्सरालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्रि समेत रहेकी साग समन्वय समिति गण्डकी प्रदेशका संयोजक नरदेवी पुनले ट्रफि प्रदान गरिन् ।

जितपछि श्रीलंकाकी कप्तान हर्षिता समराविराले आफ्ना खेलाडीहरु पुरै लयमा आइसकेको बताइन् । नेपाली टिमका कप्तान रुबिना क्षेत्रीले नेपालको बलिङ र फिल्डिङ राम्रै भए पनि ब्याटिङ राम्रो हुन नसकेको स्वीकारिन् । तर, टेस्ट मान्यता राष्ट्रसँगको यो प्रतिस्पर्धा राम्रै भएको उनको भनाइ छ ।

यससँगै लिगको शीर्षस्थानमा रहेको बंगलादेशसँग श्रीलंकाले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने निश्चित गरेको छ । बंगलादेशले राउन्ड रोबिन लिगमा तीनका तीनै खेलमा जित हासिल गर्दै ६ अंक जोडेको थियो भने श्रीलंका २ खेलमा जित हासिल गर्दै ४ अंक जोडेर दोस्रो स्थानमा रह्यो । एक जितसहित २ अंक जोडेको नेपाल तेस्रो स्थानमा रहँदै पुच्छरमा रहेको मालदिभ्ससँग कास्य पदकका लागि प्रतिस्पर्धा गर्ने भएको हो । नेपाल र मालदिभ्सबीचको खेल शनिबार हुनेछ । स्वर्ण पदकका लागि आइतबार बंगलादेश र श्रीलंका प्रतिस्पर्धामा उत्रने छन् ।

प्रकाशित समय १६:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु