गृहपृष्ठ विराटनगरमा पहिलो पटक सडक महोत्सव हुने

विराटनगरमा पहिलो पटक सडक महोत्सव हुने

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदै गर्दा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विराटनगरमा पहिलो पटक सडक महोत्सव हुने भएको छ ।

सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको नेपाल भ्रमण वर्षलाई निजी क्षेत्रबाट समेत सहयोग पुर्याउने उद्देश्यले मञ्जिना मुभिज क्रियशनको आयोजनामा प्रदेश १ को राजधानी विराटनगरमा पहिलो पटक सडक महोत्सवको आयोजना हुन लागेको हो ।

विराटनगर महानगरपालिकाको सहयोगमा आगामी माघ १, २ र ३ गते हुने तीनदिने महोत्सव दिउँसो ३ बजेदेखि बेलुका ८ बजेसम्म स्थानीय शनिहाटमा आयोजना हुने विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी क्रियशनका निर्देशक जतिन ताम्राकारले जानकारी दिए ।

सरकारले नेपाल भ्रमण वर्ष सफल बनाउन आफनो तर्फबाट काम गरिरहेको छ र यसलाई सफल बनाउनु हामी सबैको कर्तब्य पनि हो, ताम्राकारले भने, ‘भ्रमण वर्षको समयमा केही सख्यामा भए पनि महोत्सवका माध्यामबाट भारतीय पर्यटक भित्राउन सडक महोत्सव आयोजना गर्न लागिएको हो ।

उनले प्रदेश राजधानी विराटनगरमा हुने महोत्सवमा प्रदेशका अन्य जिल्लाका आन्तरिक पर्यटक पनि आउने अपेक्षा राखिएको बताए । सडक महोत्सवमा स्वदेशी वस्तुहरु, स्थानीय उत्पादनदेखि विभिन्न खानाका स्टलहरु तथा अन्य व्यवसायिक स्टलहरु रहने छन् ।

महोत्सव अवधिभर सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरु राखिने ताम्राकारले जानकारी दिए । सांगीतिक तथा सांकृतिक कार्यक्रममा स्थानीय कलाकर्मीहरुलाई पहिलो प्राथमिकता दिइने छ भने राष्ट्रिय स्तरका कलाकारहरुलाई हरेक दिन उपस्थित गराइने तयारी गरिएको छ ।

सडक महोत्सवलाई ऐतिहासिक बनाउन आयोजना स्थललाई बेहुली झैं सिगारिने उनले बताए । १ सय वटा स्टलहरु राखिने तयारी गरिएको सडक महोत्सवका लागि स्टल बुकिङ समेत खुला गरिएको उनले बताए । महोत्सवमा प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरुको संक्षिप्त जानकारी दिइने तथा पर्यटकीय स्थलहरुको तस्बिर समेत राखिने आयोजकले जनाएको छ ।

भारतीय अवलोकनकर्ताहरुले समेत आगमन हुने अपेक्षा राखेका ताम्राकारले महोत्सवको १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको बताए । महोत्सव अवधिभरमा करिब १ करोड भन्दा बढीको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।

प्रकाशित समय ०७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु