गृहपृष्ठ कटहरीमा तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट सुरु
कटहरीमा तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट सुरु
मोरङको कटहरी गाउँपालिकामा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । युथ फर सोसाइटी कटहरीको आयोजनामा कटहरी–२ मा शनिबारदेखि सुरु भएको तेस्रो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतिगोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष रामकुमार कामतले रिवन काटेर गरे ।
सो अवसरमा बोल्दै अध्यक्ष कामतले खेलकुदको विकासले मात्र समाज र राष्ट्रको पहिचान झल्कने बताए । उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १ नं. प्रदेश कमिटी सदस्य मृत्युञ्जयकुमार झाले विकृति विसंगति अन्त्यका लागि खेलकुदका माध्यमबाट युवाहरुलाई क्रियाशिल बनाउनुपर्ने बताए । उनले कुलत र विकृतिमा लागेका युवा र युवालाई नकारात्मक क्रियाकलापबाट जोगाउनका खेलकुदमा क्रियाशिल गराउन सके सिंगो समाजको विकास क्रमलाई अगाडी बढाउनसमेत मद्दत पुग्ने बताए ।
नेता झाले बेरोजगार युवाहरु कुलतमा फस्ने सम्भावना बढी हुनाले उनीहरुलाई खेलकुदमा आवद्ध गराएर राष्ट्रिय स्तरका खेलाडी बनाए उनीहरुले विश्वमै सिंगो गाउँपालिका र राष्ट्रको नाम राख्ने बताए ।
उद्घाटन खेलमा कटहरी–३ विजयी
शनिबारबाट सुरु भएको सो प्रतियोगिताको उद्घाटन खेलमा कटहरी ३ विजयी भएको छ । टस जितेर पहिले व्यटिङ गरेको कटहरी–३ ले निर्धारीत २० ओभरको खेलमा कटहरी–६ लाईं १ सय ३६ रनको विजयी लक्ष्य दिएको थियो । १ सय ३७ रनको विजयी लक्ष्य सहित मैदानमा उत्रिएको कटहरी–६ पुरै ओभर खेलेर ५८ रनमै अल आउट भएपछि कटहरी (३) ५१ सनले विजयी भएको हो ।
गाउँपालिकाका ७ वटै वडा, रंगेली नगरपालिका, शिसवनी जहदा, विराटनगर महानगरपालिका लगायतका विभिन्न टिम सहभागी हुने सो गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उप–विजेताले २५ हजार नगद ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित समय ०६:३३ बजे
















