गृहपृष्ठ वैदेशिक लगानीमा चीनले भारतलाई उछिन्यो

वैदेशिक लगानीमा चीनले भारतलाई उछिन्यो

FDI in Nepal_NewsKarobar

नेपालमा हुने वैदेशिक लगानीमा चीनले भारतलाई उछिनेको छ । विश्वकै प्रमुख अर्थतन्त्र बन्ने दौडमा रहेको नेपालको उत्तरी छिमेकी मुलुक चीनले नेपालमा व्यापक रूपमा लगानी बढाउन थालेसँगै चीन प्रमुख लगानीकर्ता देशका रूपमा अगाडि आएको हो ।

उद्योग विभागले हालै प्रकासित गरेको गत आर्थिक वर्ष २०७५/७६ सम्म भएको लगानी विश्लेषणका आधारमा चीनले भारतलाई उछिनेको हो । नेपाल सरकारले ‘एक चीन’ नीतिप्रति प्रतिबद्धता जनाएसँगै ताइबानलाई समेत चीनकै एक हिस्सा मानेर त्यहाँबाट प्रवाह भएको लगानीसमेत जोडिएको छ ।

यसमा लगानी बोर्डमार्फत् परिचालन भएको १० अर्ब रुपैयाँभन्दा बढीको लगानी जोडिएको छैन । विभिन्न सिमेन्ट कारखानासहित पूर्वाधारमा भएको लगानीसमेत जोड्दा यो राशी अझ बढ्ने देखिएको छ । होङ्सी–शिभम सिमेन्ट उद्योगमा कुल ३६ अर्ब रुपैयाँको लगानी छ भने धादिङमा १४ अर्ब रुपैयाँको लगानीमा हुवासिन सिमेन्ट स्थापनाको प्रक्रिया अगाडि बढेको छ ।

उद्योग विभागका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्मका चीनबाट कुल १ खर्ब २३ अर्ब ३६ करोड रुपैयाँ लगानीमा कुल १ हजार ५५६ उद्योग खुलेका छन्, जसमा ७३ हजार ३९४ जनाले रोजगारी पाएका छन् ।

करिब एक दशकयता नेपालमा चीनको लगानी क्रमिक रूपमा बढ्न थालेको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङको हालैको नेपाल भ्रमणपछि चिनियाँ लगानी अझ तीव्र गतिमा बढ्ने नेपाली उद्यमीहरूले अपेक्षा गरेका छन् ।

दोस्रो स्थानमा रहेको भारतबाट सोही अवधिमा ९४ अर्ब ११ करोड रुपैयाँ लगानीमा ७८१ उद्योग खुलेका छन् भने तिनमा ७२ हजार ६७३ जनाले रोजगारी पाएका छन् ।

नेपालमा भारतीय लगानी बढाउनका लागि २०६८ सालमा द्विपक्षीय लगानी प्रबर्धन तथा सुरक्षा सम्झौता (बिप्पा)मा हस्ताक्षर भए पनि त्यसयता नै भारतीय लगानी घट्दै गएको र चिनियाँ लगानी बढ्दै गएको उद्योग विभागको तथ्यांकबाट देखिएको छ ।

यस्तै, तेस्रो स्थानमा रहेको बेलायतबाट १३ अर्ब ५४ करोड रुपैयाँ लगानीमा १९६ उद्योग खुलेका र तिनमा १३ हजार २१२ जनाले रोजगारी पाएको उद्योग विभागले जनाएको छ ।

चौथो स्थानमा रहेको दक्षिण कोरियाबाट १२ अर्ब ३२ करोड रुपैयाँ लगानीमा ३५४ उद्योग खुलेको र पाँचौं स्थानमा रहेको अमेरिकाबाट ९ अर्ब ६ करोड लगानीमा ४१३ उद्योग खुलेको विभागले उल्लेख गरेको छ ।

लगानीका आधारमा ‘टप टेन’माा परेका अन्य देशहरूमा सिंगापुरबाट ४ अर्ब ५१ करोड रुपैयाँ लगानीमा ५१ उद्योग, मरिससबाट ३ अर्ब ४३ करोड रुपैयाँ लगानीमा ११ उद्योग, जापानबाट ३ अर्ब ७ करोड लगानीमा २७२ उद्योग, संयुक्त अरब इमिरेट्सबाट २ अर्ब ९८ करोड रुपैयाँ लगानीमा २० उद्योग र स्विजरल्यान्डबाट २ अर्ब ९२ करोड लगानीमा ६० उद्योग–व्यवसाय खुलेका छन् ।

हालसम्म देशमा वैदेशिक लगानीमा ३०१ ठूला, ४५८ मझौला र ४ हजार ६३ वटा साना गरी कुल ४ हजार ८२२ उद्योगले स्वीकृति लिएको विभागले जनाएको छ ।

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु