गृहपृष्ठ मानव विकास सूचकांकमा नेपाल दुई स्थान उक्लियो

मानव विकास सूचकांकमा नेपाल दुई स्थान उक्लियो

Human Development_NewsKarobar

मानव विकास सूचकांकमा नेपाल दुई स्थान माथि उक्लिएको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)द्वारा सोमबार विश्वभरि सार्वजनिक गरिएको मानव विकास प्रतिवेदन–२०१९ मा नेपाल १४७ औं स्थानमा चढेको हो । नेपालसँगै केन्या पनि यही तहमा छ ।

यसअघि सन् २०१८ मा नेपाल १४९ औं स्थानमा थियो । प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा सुधार आइ ०.५७९ पुगेको छ । प्रतिवेदनले नेपाललाई मध्यमस्तरको मानव विकास भएका देशमा राखेको छ ।

सन् १९९० का तुलनामा नेपालले मानव विकास सूचकांकमा उल्लेख्य फड्को मारेको यूएनडीपीले उल्लेख गरेको छ । सन् १९९० मा नेपालको मानव विकास सूचकांक ०.३८० थियो, जुन सन् १०१७ मा आइपुग्दा वृद्धि भइ ०.५७४ पुगेको थियो भने यस वर्ष सूचकांकमा झिनो वृद्धि भइ ०.५७९ पुगेको हो ।

नेपालको सूचकांकमा केही सुधार भए पनि दक्षिण एसियाको औसत ०.६३४ भन्दा नेपाल निकै तल छ । दक्षिण एसियामा जनसंख्या र आकारमा लगभग बराबर नै रहेका मुलुकहरू अफगानिस्तान र श्रीलंकासँग तुलना गर्दा अफगानिस्तान १७० औं स्थानमा र श्रीलंका ७१ औं स्थानमा परेको प्रतिवेदनमा उल्लेख छ ।

अन्य दक्षिण एसियाली देशसँगको तुलनामा बंगलादेशले नेपालको भन्दा उत्तम मानव विकास गरिरहेको र पाकिस्तान भने खस्कँदो अवस्थामा रहेको प्रतिवेदनले देखाएको छ ।

असमानता उच्च

नेपालमा रहेको असमानतालाई समायोजन गर्दा नेपालको सूचकांक २५ दशमलव ८ प्रतिशतले झरेर ०.४३० मा पुग्ने यूएनडीपीले जनाएको छ । प्रतिवेदनअनुसार नेपालको मानव असमानता मापक सूचक (ह्युमन इनेक्वालिटी कोफिसियन्ट) २४.९ प्रतिशत छ ।

यस्तै, लैंगिक समानता सूचकांकमा पनि निकै फराकिलो अन्तर देखिएको छ । नेपालमा महिलाको मानव विकास सूचकांक ०.५४९ हुँदा पुरुषको सूचकांक ०.६१२ रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित समय १५:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु