गृहपृष्ठ नयाँ आयामको पत्रकारिताको प्रण
नयाँ आयामको पत्रकारिताको प्रण
नेपालमा डिजिटल पत्रकारितामा केही फरक अभ्यासको अनुशरण गर्ने उद्देश्यका साथ आरम्भ गरिएको यस न्युज कारोबार डिजिटल पत्रकारिताले आफ्नो दोस्रो वर्ष पूरा गरेको छ । नेपालमा समग्र पत्रकारिता नै संक्रमणकालीन अवधिमा अगाडि बढिरहेको अहिलेको परिवेशमा अनलाइन पत्रकारितालाई अगाडि बढाउनका लागि झनै चुनौतीपूर्ण छ । यद्यपि, हामीलाई के लाग्छ भने अहिलेको समय भनेको डिजिटल पत्रकारिताकै युग हो । हरेक नागरिककोे सूचना तथा सञ्चार प्रविधिमा पहुँच बढेको र सूचनाको पहुँचमा समेत वृद्धि भएको अहिलेको परिवेशमा डिजिटल पत्रकारितामा सम्भावना र अवसरहरू दुवै छन् ।
अझै पनि सही अर्थमा नागरिकका अभिरुचिका सूचना र समाचारहरू नेपाली पत्रकारिता जगतले उठाउनै सकेको छैन । जनजीविकासँग जोडिएका थुप्रै गहन विषय वस्तुहरूलाई छाडेर राजनीतिका पछाडि आमसञ्चार माध्यमहरू लागि नै रहेका छन् । यो अवस्थालाई सानो प्रयासले भए पनि बदलिन सकिन्छ भन्ने न्यूज कारोबारको विश्वास रहेको छ । विश्वसनीय समाचार पस्कनु पर्ने गहन दायित्व त छँदैछ, त्यसबाहेक राज्यका नीतिनिर्माण तहमा आमनागरिकसँग जोडिएका विषय वस्तुको ध्यानाकर्षण गराउँदै परिवर्तनका पहल गर्नुपर्ने अर्को ठूलो दायित्व पनि छ ।
न्युज कारोबार डिजिटल पत्रिकाको यस तेस्रो वार्षिकोत्सवका अवसरमा डिजिटल पत्रिकाको मूल अवधारणा र धारलाई केही परिवर्तन गर्ने निर्णय लिइएको हाम्रा श्रद्धेय पाठकवर्ग, विज्ञापनदाता र शुभचिन्तकहरूलाई जानकारी गराउँदछौं । अब यस डिजिटल पत्रिकाले देशमा उद्यमशीलता विकास, नागरिकहरूको जीवनस्तर सुधार र उद्योग–व्यवसायमैत्री वातावरण सिर्जनालगायतका विषयमा आफूलाई केन्द्रीत गर्नेछ ।
यसै अवसरमा नेपाल समाचार केन्द्र प्रालि निकट भविष्यमा नै आर्थिक–व्यावसायिक क्षेत्रलाई समेट्ने गरी एउटा छुट्टै आर्थिक पत्रिका पनि प्रकाशन गर्ने पनि घोषणा गर्दछ । हाम्रो आगामी यात्रामा पनि सम्पूर्ण सहृदयी पाठक, विज्ञापनदाता, शुभचिन्तकहरूबाट अझ बढी साथ–सहयोग रहिरहने विश्वास व्यक्त गर्दछौं । तेस्रो वार्षिकोत्वसका अवसरमा हामी नयाँ आयामको पत्रकारितालाई अगाडि बढाउने प्रण गर्दछौं ।
प्रकाशित समय १२:२० बजे

















