गृहपृष्ठ चिनियाँ प्याज पनि छोइ नसक्नु, मासिक एक हजार क्विन्टल आयात
चिनियाँ प्याज पनि छोइ नसक्नु, मासिक एक हजार क्विन्टल आयात
भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपाली बजारमा प्याजको हाहाकार रोकिएको छैन । नेपालमा उत्पादन भएको प्याजले महिना दिन पनि नधान्दा आयातीत प्याजलाई नै व्यापारीहरूले प्राथमिकता दिँदै आएका थिए ।
यसपटक भारतमा पनि उत्पादनमा कमी आएपछि भारतले प्याज निर्यातमा रोक लगाएको थियो । भारतले रोक लगाए पनि व्यापारीले लुकीछिपी ल्याएको प्याज एक्कासी महँगो हुँदै गएको हो ।
लुकीछिपी ल्याउने प्याजका पनि कडाइ गरेपछि केही दिनयता भारतको प्याज नेपालमा पुरै बन्द भएको कालिमाटी तरकारी तथा फलफूल बजार समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए । नेपाली बजारमा दसैंको मुखैमा भारतले अनिश्चितकालका लागि सुकेको प्याज निर्यात बन्द गरेपछि नेपाली बजारमा चिनियाँ प्याज भित्रिन थालेको छ ।
दैनिकजसो ८०-९० टन चीनबाट प्याज आयात भए पनि नेपाली बजारमा त्यसले पनि धान्न सकेको छैन । चिनियाँ प्याजको गन्ध आउने गरेको गुनासो गरे पनि उपभोक्ताले किन्न पनि छोडेका पनि छैनन् ।
बानेश्वरमा ठेलामा तरकारी बेच्ने व्यापारी कमला थापाले भनिन्, ‘ग्राहकहरुले प्याज किन्ने बेलामा यो गन्ध आउने प्याज भन्दै आउँछन् तर त्यही मान्छेले बढी किनेर लिन्छ । मेरो पसलमा प्याज १ घण्टा पनि टिक्दैन, सबै एकैछिनमा बिक्री हुन्छ ।’ उपभोक्ताले चिनियाँ प्याजको स्वाद नभएको भने पनि बाध्यताबस किन्ने गरेको कमलाले बताइन् ।
कालिमाटी तरकारी तथा फलफूल बजार समितिका कार्यकारी निर्देशक पौडेलका अनुसार नेपालमा आन्तरिक रूपमा उत्पादन हुने गरेको तरकारीले माग धान्न सकेको छैन । भारतबाट आयातीत तरकारीमा भर पर्दा बेलाबेलामा विभिन्न कारणले अवरोध हुँदा यता हाहाकार मच्चिएको हो । उनले भने, ‘प्याजमा भारतले रोक लगाएपछि चीनबाट आइरहेकोे छ । चीनबाट आएको प्याजमा स्वाद नभएको भन्दै ग्राहकले किन्न छोडेपछि त्यो पनि बन्द हुन सक्छ ।’
अबको १ महिनामा भारतमा प्याज उत्पादन भएपछि भारतले नेपालले निर्यात गर्न सक्ने पौडेलको बुझाइ छ । उनले भने, ‘भारतका प्याज उत्पादन हुन अझै एक महिना लाग्न सक्छ, त्यसपछि मात्र बन्द गरेको प्याज फुकुवा हुन सक्छ ।’
नेपालीले चिनियाँ प्याजमा स्वाद नभएपछि विदेशको प्याज ल्याएपछि माग धान्न सक्ने उनको बुझाइ छ । उनले भने, ‘विदेशबाट प्याज ल्याउँदा निकै महँगो पर्छ । नेपालीले किन्नै नसक्ने अवस्था आउन सक्छ ।’
बंगलादेश, म्यानमारजस्ता धेरै देशले पनि आफ्नो देशमा अर्को देशबाट आयात गर्ने गरेका छन् तर, त्यसरी ल्याउन नेपाललाई निकै कठिन पर्ने उनले बताए । ‘अहिले नेपालमा स्वाद नभएको भनिएको प्याज पनि प्रतिकिलो २ सयभन्दा माथि छ । घट्ने पनि कुनै संकेत छैन,’ कार्यकारी निर्देशक पौडेल भन्छन्, ‘भारतले प्याजमा गरेको बन्द फुकुवा नगरुन्जेल नेपाली बजारमा मूल्य घट्दैन ।’
रोकिएन प्याजको मूल्यवृद्धि
उपभोक्ताले चर्को मूल्यको प्याज, स्वाद नभएको प्याज भने पनि प्रयोगमा भने रोकिएको छैन । भन्सार विभाग तथ्यांकअनुसार प्याजको माग धान्न नेपालले ४ महिनामा ४ हजार क्विन्टलभन्दा बढी प्याज आयात गरेको छ ।
४ महिनाको अवधिमा ४ करोड १९ लाख किलो प्याज आयात भएको छ । चालु आवको कात्तिक मसान्तसम्ममा आयात भएको प्याज १ अर्ब ५९ करोड रुपैयाँको आयात भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसी भने अब चीनको प्याज आएपछि नेपाली बजारमा प्याजको मूल्य सस्तो हुने बताउँछन् । ‘भारतले बन्द गरेपछि नेपाली बजारमा चिनियाँ प्याज आइसकेको छ । अब उपभोक्ताको माग अनुसार पर्याप्त आयात हुन्छ । त्यसपछि सस्तो हुँदै जान्छ,’ न्युज कारोबारसँग उनले भने ।
नेपालमा उत्पादन भए पनि त्यसले मागअनुसार धान्न नसकेको हुँदा आयात गर्नुपरेको उनको बुझाइ छ । नेपालमा प्याज उत्पादन कसरी कम भयो भन्ने प्रश्नमा उनले भने, ‘यो वर्ष उत्पादनमा कमी भएको होइन तर, उत्पादन भएको प्याज नपुगेको मात्र हो ।’ उनका अनुसार अब कृषकको दायरा फराकिलो गरे मात्र उत्पादन भएको वस्तुले माग धान्छ ।
प्रकाशित समय १६:५१ बजे

















