गृहपृष्ठ पोखरामा आकाशे पुल निर्माण हुने
पोखरामा आकाशे पुल निर्माण हुने
पोखराकोे सिर्जनाचोकमा आगामी वैशाख महिनामा सकिने गरी आकासे पुल निर्माण हुने भएको छ । पोखरा महानगरपालिका र स्व. रवीन्द्र अधिकारीको सांसद विकास कोर्षबाट विनियोजित गरिएको रकमबाट आगामी वैशाख महिनामा सकिने गरी सिर्जनाचोकमा आकासे पुल निर्माण हुने भएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए ।
उनका अनुसार उक्त परियोजना २ करोड ३० लाख ११ हजारको लागतमा निर्माण हुन लागेको हो । स्वः रवीन्द्र अधिकारीको सांसद विकास कोर्षबाट विनियोजित गरिएको ५० लाख रुपैयाँ समेत उक्त परियोजनामा लगानी भएको हो ।
के.एम.÷जे.बि.एन.एस.पोखरा जे÷भि, पोखरा १७ ले उक्त परिजोजनाको जिम्मा लिएको हो भने गत जेठ २७ गते महानगरले १५ महिनामा सकिने गरी सम्झौता गरेको थियो । उक्त कम्पनीले स्टिल स्टक्चरको संरचनामा चारै दिशामा जान मिल्ने गरी आकासे पुल निर्माण गरिने भएको मेयर जिसीले जनाए । पोखरामा स्मार्ट सिटिको अभियान अन्र्तगत उक्त संरचना पनि एक भएको मेयर जिसीको भनाई छ ।
पोखरामा ट्राफिक जामलाई मध्यनजर गदै पोखरा महानगरपालिकाले सिर्जनाचोकमा पोखराकै पहिलो आकाशेपुल निर्माण सुरु गर्न लागेको हो । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड जाने, सभागृहचोक तथा पृथ्वीचोक, राष्ट्रबैंक तथा सिद्धार्थचोक जाने बाटोमा पोखराको पहिलो आकासे पुल निर्माण कार्य सुरु भएको पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले बताए ।
इन्जिनियर बाबुराम भण्डारीले गत जेठ ५ गते नै उक्त परियोजनाको सम्झौता भैसकेकोले आन्तरिक धेरै काम सकिएसँगै अब आकासे पुल निर्माणको काम फिल्डमै सुरु भएको जनाए । सवैको साथ र सहयोग भएको खण्डमा आगामी वैशाख भित्र उक्त पुल निर्माण हुने उनले दाबी गरे ।
यसैबीच, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार एक समारोहका बीच उक्त आकासे पुलको शिलान्यास गर्दै पर्यटकीय नगरी पोखरामा शान्त र सुरक्षाको लागि यस्ता आकासे पुलहरु पोखराका अन्य मुख्य चोकहरुमा समेत आवश्यक भएको बताए ।
गुणस्तरमा ध्यान दिदै निर्धारित मितिमा सकिने गरी उक्त परियोजना अघि बढाउन आग्रह गर्दै मुख्यमन्त्री गुरुङले आगामी ३ वर्षभित्र पोखरालाई जोड्ने मुख्य सडकहरु चार लेनको बनाउनु पर्नेमा जोड दिए । उनले भने, ‘एक वर्ष नीति तथा कार्यक्रम बनाउर्दैमा समय वित्यो, यो वर्ष हामीले धेरै योजनाको डिपिआर तयार पार्दै छौं, अबको तीन वर्षमा पोखरासहितका पोखरालाई जोड्ने मुख्य सडकलाई चार लेनको बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित भएको छ, यसमा स्थानीय प्रदेश र संघीय सरकारले सहयोग केही ठाउँमा गरी सकेको अवस्था छ भने केहीमा सहयोग गर्नुपर्ने भएको छ ।’
मुख्यमन्त्री गुरुङले पोखरामा पार्किङको मुख्य समस्या रहेको उल्लेख गर्दै पोखरामा पार्किङ स्थलहरुको आवश्यकता भएको जनाए ।
विदेशी राष्ट्र प्रमुख तथा उच्च ओहोदामा रहेका व्यक्तिको पोखरा भ्रमणले पोखराको करोडौं रुपैयाँ खर्चिएर गर्न नसकिने प्रचार प्रसार हुने गरेकोले बताउँदै मुख्यमन्त्री गुरुङले यहाँको संरचना बनाउँदा अन्तर्राष्ट्रिय शहरको जस्तै बनाउनुपर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरालाई स्मार्ट सिटि बनाउने योजना अनुसार आकासे पुल निर्माण भएको उल्लेख गरे । उनले भने, ‘पोखरा महानगरले स्मार्ट सिटी बनाउने अभियानलाई केहीले खिसिट्युरी गर्ने गरेका छन्, स्मार्ट सिटि रातारात हुन सक्दैन यस्तै कामले गरेर बनाउने हो ।’
प्रदेश सांसद विन्दुकुमार थापाले पोखरामा आकाशेपुल निर्माण पहिलो प्रयास भएकाले सबैको साथ र सहयोग आवश्यक भएको बताए । पोखरा महानगरले पूर्वाधार विकासमा विशेष जोड दिएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।
मेयर जिसीको अध्यक्षतामा उक्त पुलको शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो । निर्माण कम्पनीका अशोक थापाले केही महिना कस्तो संरचनामा आकासे पुल निर्माण गर्ने भन्ने विषयमा टुंगो लगाउन नसक्दा सम्झौता जेठमा गरे पनि काम भने अघि बढ्न नसकेको बताए ।
उनका अनुसार सबै क्षेत्रबाट सडक डिभिजन, विद्युत, स्थानीय बासिबाट सहयोग भएको खण्डमा आगामी वैशाखभित्र सकिने गरी उक्त पुल निर्माण हुन्छ, अन्यथा धेरै कठिन पर्छ । पहिला आर्सिसि (कंक्रिट) को संरचनामा उक्त आकासे पुल निर्माण गर्ने तयारी गरिएको थियो ।
प्रकाशित समय ०९:३२ बजे
















