गृहपृष्ठ गेटमा राखेको झोला समाउन खोज्दा विस्फोट

गेटमा राखेको झोला समाउन खोज्दा विस्फोट

घटनाबारे यस्तो भन्छन् प्रत्यक्षदर्शी

धनुषाको क्षिरेश्वरनाथ नपा ५ स्थित राजेश साहको घरमा शुक्रबार राति शक्तिशाली बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ ।

२ जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विस्फोटमा परेर ३ जना गम्भिर घाइते भएका छन् भने ४ जना सामान्य घाइते भएका छन् ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित शुक्रबार मध्यराति १२ः१० बजे भएको बम विस्फोटमा भिखारी साहका ४८ वर्षीय छोरा राजेश साह, ३० वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिरकुमार दाहालको सुनसरीस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

विस्फोटमा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी जवान रिजननाथ महतो, मृतक राजेश साहका १८ वर्षीय छोरा प्रकाश साह, छोरी १७ वर्षीय अंजनी साह गम्भिर घाइते भएका छन् । गम्भिर घाइते चारै जनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

विस्फाेटका घाइतेहरू

विस्फोटमा परी मृतक राजेश साहका वुवा ६० वर्षीय भिखारी साहको टाउकोमा चोट लागेको छ । उनको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार हुँदैछ । ४६ वर्षीय मो. अक्वर मंसुरी र उनको श्रीमती ३५ वर्षीय सविना खातुन समेत घाइते भएको प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

घटना कसरी भयो ?

शुक्रबार राति १२ बजे राजेश साहको घरको गेटमा झोलामा बम जस्तो देखिने शंकास्पद वस्तु झुण्डयाइएको देखिएको मृतक राजेश साहका ६० वर्षीय वुवा भिखारी साहले बताए ।

झोलामा शंकास्पद वस्तु देखेपछि राजेश साह इलाका प्रहरी कार्यालय महेन्द्रनगर पुगेर इन्स्पेक्टर अमिर दाहालको मोबाइलबाट घरमा फोन गरी सबैजनालाई घर बाहिर निस्कन भनेका थिए । घटनास्थलमा राजेश साह इन्स्पेक्टरसहितको प्रहरी भ्यानसंगै आएका थिए ।

इन्स्पेक्टरको नेतृत्वमा शंकास्पद वस्तु बम हो वा होइन भनी हेरियो, तर इन्स्पेक्टरले बम होइन् जस्तो छ, पुरानो कुकर होला भनी सबै जनालाई बोलाएका थिए ।

सबैजना बम रहेको स्थान वरिपरि बसेर इन्स्पेक्टरले फोनमा कुरा गरि रहेकै बेलामा विस्फोट भएको घटनास्थलका प्रत्यक्षदर्शी घाइते भिखारी साहले बताए ।

बम कसले किन राखेको होे भन्ने बारेमा अहिलेसम्म एकीन जानकारी आउन नसकेको र घटनाबारे सुक्ष्म तरिकाले अनुसन्धान तीव्र रुपमा भई रहेकोे धनुषाका डिएसपी रामेश्वर कार्कीले बताए ।

प्रकाशित समय १०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु