गृहपृष्ठ बिमा भएको ‘ल्याप्स केस’लाई ५ प्रतिशतभन्दा कममा झार्न निर्देशन
बिमा भएको ‘ल्याप्स केस’लाई ५ प्रतिशतभन्दा कममा झार्न निर्देशन
नेपाल बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले बिमा भएको ल्याप्स केसलाई न्यूनतम ५ प्रतिशतभन्दा कममा झार्न बिमा कम्पनी र अभिकर्ताहरुलाई निर्देशन दिएका छन् । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड गण्डकी प्रदेश कार्यालयको शुक्रबार पोखरामा उद्घाटन गर्दै अध्यक्ष चापागाईंले बिमाको संख्या बढेसँगै बिमा ल्याप्स केससमेत बढ्दै गएको बताए ।
नेपाल आउने पर्यटकभन्दा नेपालबाट बाहिर जाने पर्यटकबाट ठूलो रकम विदेशिएसँगै आफूहरुले देशको आर्थिक अवस्थालाई थप सुधार गर्ने उद्देश्यले हाल विदेश जान निरुत्साहित गरेको उनको भनाइ थियो । विभिन्न बिमा कम्पनी र लायन्स क्लबहरुबाट धेरैजना विदेश जाने गरेकाले उनीहरुलाई स्वदेशमै घुमघाम गर्ने वातावरण सिर्जना गर्न आग्रह गरेको उनले बताए । बिमामा सुशासन कायम गर्न बिमा गर्दा बिमाको अभिलेखीकरणसमेत हुने ट्याकिङ सिस्टम छिट्टै लागू गरिने अध्यक्ष चापागाईंले जानकारी दिए ।
‘जीवन तथा निर्जीवन दुवै बिमाको अभिलेखीकरण राख्ने एउटा सफ्टवेयरको विकास गर्न लागेका छौँ,’ उनले भने । नेपाली बिमा बजार फस्टाउँदै गएकाले सबै बिमा कम्पनी नाफामा गएको उनले दावी गरे ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अनुशासनमा बसेर बिमा गर्न र गराउन आग्रह गरे । आयस्रोत हेरेर मात्र बिमा गराउन अभिकर्तालाई उनले सुझाव दिए ।
एलआइसीका सीईओ लक्ष्मीप्रसाद दासले पहिलो चरणमा गण्डकीसहित ४ प्रदेशमा प्रादेशिक कार्यालय गठन हुँदै गरेको बताए । एलआइसीमा हालसम्म करिब ८ लाख पोलिसी रहेको उनले जानकारी गराए ।
यसैबीच अध्यक्ष चापागाईंले सिद्धार्थ इन्स्योरेन्स गण्डकी प्रदेश कार्यालयको शुक्रबार पोखरामा उद्घाटन गरेका छन् ।
प्रकाशित समय १९:०९ बजे

















