गृहपृष्ठ राजनीतिक आस्थाकै कारण संघीय र प्रदेश सरकारले विभेद गरिरहेको छ : अध्यक्ष कामत

राजनीतिक आस्थाकै कारण संघीय र प्रदेश सरकारले विभेद गरिरहेको छ : अध्यक्ष कामत

मोरङको कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामतले फरक राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधि भएकै कारण प्रदेश र संघीय सरकारबाट बजेट लगायतका विषयमा विभेद हुने गरेको बताएका छन् । उनले तीन तहको सरकारबीच समन्वय हुनुपर्ने भए पनि त्यसो हुन नसकेको गुनासो सुनाए । आफू पनि गाउँपालिकाको अध्यक्षका हैसियतले निर्वाचन क्षेत्र विकास कोषको पदेन सदस्य भए पनि उपेक्षा गरिने गरेको बताएका छन् । गाउँपालिका अध्यक्ष कामतसँग न्युज कारोबारका प्रदेश १ संयोजक किशोरसंगम दियालीले गरेको कुराकानी ।


चुनाव भएको यतिका अवधिमा कटहरी गाउँपालिकामा तपाईको नेतृत्वमा के-के काम भएका छन् ?

कटहरी गाउँपालिकामा विकास निर्माणको काम एकदमै तीव्र गतिमा भइरहेको छ । पूर्वाधार विकासको काम द्रुत गतिमा भइरहेको छ । मुख्य कुरा हामीले बजेट कार्यान्वयन गर्न सकेका छौँ । प्रमुख कामहरु भन्नैपर्दा कटहरी गाउँपालिकालाई अन्य पालिकासँग जोड्ने सडक सञ्जाल विस्तार भएको छ । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ । कटहरीका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि जनशक्ति नियुक्त गरेर अंग्रेजी माध्यममा पठनपाठन सुरु भएको छ ।

यसले गर्दा पहिले सरकारी विद्यालयमा विद्यार्थी संख्या शुन्यमा पुग्न लागे पनि अहिले निजी विद्यालयहरु भन्दा सरकारी विद्यालयमा विद्यार्थी आकर्षित भएका छन् । सबै वडाका स्कुलमा विद्यार्थीलाई गाउँपालिकाकै सहयोगमा जुत्ता, मोजा, टाई, बेल्ट अनिवार्य गरेका छौँ । शैक्षिक सामग्रीको खर्चसमेत गाउँपालिकाले नै व्यहोरेको छ । त्यस हिसाबमा हामीले शिक्षामा सुधार ल्याएका छौँ । त्यो कार्यक्रम राम्रो भएर अहिले ३ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाई सुरू भएको छ ।

सडकको पूर्वाधार विकास भएको छ । नयाँबजारदेखि वनसखण्डीसम्म कालोपत्रे बाटो बनाइरहेका छौँ । त्यहाँबाट झोराहाट निस्कने सडकको निर्माण कार्य अघि बढेको छ । १ देखि ७ वटै वडाको सडकलाई रिंङ रोडको कल्पना गरेर काम अघि बढाएका छौँ । अहिलेसम्म हामीले सडकदेखि शिक्षा, स्वास्थ्यलगायत सबै पूर्वाधार विकासमा राम्रै काम गरेजस्तो लाग्छ ।

सबै सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव छ, दरबन्दीअनुसार शिक्षक नै छैनन् । यस्तो अवस्थामा शैक्षिक गुणस्तर कसरी सुधार हुन्छ ?

हाम्रोमा त्यस्तो अवस्था छैन । हामीले कक्षा ५ सम्म अंग्रेजी माध्यममा सुरु गर्ने र नयाँ जनप्रतिनिधि आएपछि निरन्तरता पाउला । शिक्षकको त्यति अभाव छैन । ५ सम्म हाल कार्यरत शिक्षकले नै अंग्रेजी माध्यममा पढाउँछन् । नयाँ शिक्षक पनि १४ जना थप गरेका छौँ ।

अहिले सम्मको कामबाट के कस्ता परिवर्तन भएको छ ?

यतिका काम गरेपछि परिवर्तन त त्यसै पनि हुने नै भयो । कटहरीबाट थलाह जान मात्र मोटरसाइकलमा १ घण्टा बढी लाग्थ्यो । वर्षा र अन्य समयमा पनि आवतजावतमा समस्या हुन्थ्यो । धुलोले हैरान हुन्थ्यो । कालोपत्रे भएपछि १० मिनेट पनि लाग्दैन । यो परिवर्तन हो । सडकको विकास भएपछि समस्या पनि कम हुने रहेछ । सडकमा टेम्पो, सिटी रिक्सा सबै वडामा पुग्न थालेको छ । पहिला यस्तो अवस्था थिएन । मोटरसाइकल, साइकलमै पनि हिँड्न गाह्रो हुन्थ्यो । अहिले त्यो अवस्था छैन ।

चुनावको बेला जनतामाझ गरेका प्रतिवद्धतामध्ये के–के पूरा गर्नुभयो ?

केही पूरा गरेका छौँ, बाँकी पूरा गर्ने काम भइरहेको छ । हामीले यहाँ विकास निर्माणको काम गर्नेछौँ भनेका थियौँ, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको वाचा गरेका थियौँ, विजुलीको कुरामा सबैतिर उज्यालो पार्ने प्रतिवद्धताअनुसार ठाउँ-ठाउँमा सोलार राखेका छौँ । अहिले कटहरी झिलिमिली छ । अझै राम्रो बनाउने काम गर्दैछौँ । फराकिलो सडकमा विरुवा रोप्ने काम गरेका छौँ । समग्रमा हामीले चुनावका बेला जनतामाझ गरेको प्रतिवद्धता पूरा गर्दै गएका छौँ ।

तर, जनता पूर्वाधार विकासप्रति असन्तुष्ट रहेको पाइन्छ नि ?

यस्ता कुरा विरोधीले मात्र गर्ने हुन् । हाम्रो पालिकामा विकास निर्माणको काममा जनता असन्तुष्ट छैनन् । सबैभन्दा राम्रो काम गरेका छौँ भन्न त मिल्दैन तर जनता असन्तुष्ट छैनन्जस्तो लाग्छ । अहिलेसम्म यस गाउँपालिकामा कतै विवाद सुन्नु भएको छ ? अवश्य पनि छैन । हामीले सबैलाई समेटेर गाउँपालिकाको विकासमा अग्रसर भएका छौँ । अरुतिर भन्दा राम्रै गरेका छौँ भन्ने लाग्छ ।

प्रदेश राजधानीसँग जोडिएको यस गाउँपालिकाका जनताले आधारभूत स्वास्थ्य सेवा सहज रुपले पाएका छन् ?

प्रदेश राजधानीसँगै जोडिएर होला स्वास्थ्यमा प्राविधिकबाहेक अन्य कर्मचारीको अभाव कहिल्यै भएन । त्यसैले सहज रुपले जनताले सेवा पाएका छन् । । थलाह भौडाहमा दलित समुदायको बाहुल्यता छ र त्यहाँ पनि सहज सेवा पुर्‍याउन हामी लागि परेका छौँ । दलित बाहुल्यता रहेको त्यस क्षेत्रमा विकास निर्माणदेखि यावत कुरामा मेरो फोकस छ । स्वास्थ्यको विषय खेलकुदसँग पनि जोडिने हुनाले सरकारको १ करोड र स्थानीय तहले १ करोड खेलकुद रंगशालाको अवधारणाअनुरुप बालुघाटमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउँदैछौँ । १२ विगाह क्षेत्रमा रंगशाला र पर्यटक भित्र्याउने खालको संरचना बनाउँदैछौँ ।

कतिपय स्थानीय तहका जनप्रतिनिधिले कानुन अभावमा काम गर्न समस्या भएको गुनासो गर्दै आएका छन्, यहाँ पनि त्यस्तै अवस्था छ ?

अलि-अलि समस्या त जहाँ पनि छ । एक त कानुन बाझिएको छ । संघ र प्रदेशले स्थानीय तहको अधिकार खोसेको छ । ब्यूरोक्रेसिले पनि समस्या पारिदिएको अवस्था छ । उदाहरणका लागि, सुरुको वर्ष बाढीपीडितको पैसा कर्मचारीले अन्योलमा पारेर फ्रिज भयो । कर्मचारीले फ्रिज हुँदैन भनेको थियो तर भयो । त्यहाँनेर कर्मचारीले अन्योल गर्दा केही समस्या परेको थियो । हुन त २०५४ सालमै म जनप्रतिनिधि भइसकेको भए पनि नयाँ संरचनाको अभ्यासका क्रममा म आफैँ अलमलमा परेँ ।

आफ्ना अधिकार र कार्यक्षेत्रबारे जानकार नहुँदा जनप्रतिनिधिहरु मोरङमै पनि पदच्यूतसमेत भएका छन् नि ?

कटहरीमा त्यो अवस्था छैन । सबै्र पढेलेखेका हुनुहुन्छ । साथीहरुले नजानेको कुरा सोधेर र सहकार्य गरेर काम गरिरहनु भएको छ । सबै कुरा त म पनि जान्दिनँ, नजानेको कुरा अध्ययन र सोधपुछ गर्नुपर्छ । सबैभन्दा ठूलो कुरा स्थानीय तह सञ्चालन ऐन नपढ्दा तपाईंले भनेजस्तो अवस्था आएको हो । किताब राखेर मात्र भएन पढ्नु पर्‍यो नि ।

अध्यक्ष पनि र उपाध्यक्ष पनि विकास निर्माण र जनताको गर्नकै लागि आएको होे । कुरा नबुझेपछि विवाद आउँछ । कुरा बुझ्नु र बुझाउनु पर्छ । लामो समयपछि स्थानीय तहको चुनाव नहुँदा अनुभवले खारिने काम नभएर यस्तो भएकोजस्तो मलाई लाग्छ ।

कटहरीमा कर्मचारी अभाव कत्तिको छ ?

मैले अघि पनि भने यहाँ प्राविधिक कर्मचारीबाहेक अरु अभाव छैन । यहाँ २ वर्षदेखि इन्जीनियर नहुँदा समस्या भएको छ । समायोजन भएर आउने कुरा भए पनि अहिलेसम्म सरकारले पठाएको छैन ।

स्थानीय तहहरुले अत्याधिक कर लगाएको जनताले गुनासो गर्दै आएका छन्, यहाँ के छ ?

अरु ठाउँको जस्तो हामीले कर बढाएका छैनौँ । पहिलाजस्तो थियो, लगभग त्यस्तै नै छ । सिफारिस, नागरिकता, व्यक्तिगत घटना दर्ता निशुल्क गरेका छौँ । हाम्रोमा करसम्बन्धी जनताको गुनासो छैन । कतिपय साविक गाविस हुँदा जे थियो, अहिले पनि त्यही छ । केही ठुला उद्योग तथा कल कारखानाहरुलाई चाहिँ केही बढाएका छौँ ।

यो गाँउपालिकालाई नमुना गाउँपालिकाको रुपमा विकास गर्ने योजना के छन् ?

विकास निर्माण कटहरीमा राम्रो छ । तटबन्धलगायत बाढीपीडितका समस्या सम्बोधन गरेका छौँ । जनताले यसको मुल्यांकन गर्नु नै भइरहेको छ । विकासले मात्र भएन जनता र र बालबालिकालाई अगाडि बढाउनु पर्‍यो । नमुना मैले मात्र भनेर हुँदैन तर त्यो पथमा हामी अघि बढेका छौँ । बालुघाटमा राम्रो नमुना पर्यटकीय स्थलका रुपमा विकास गर्न लागि परेका छौँ ।

जनताको के गुनासो पाउनु भएका छ ?

जनताको खासै गुनासो छैन । स्थानीय सरकार भनेको सिंहदरबारजत्तिकै हो भन्ने जुन कुरा छ । यसका कारण गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले सबैथोक गर्नसक्छ भन्ने कतिपयको धारणा छ । तर यथार्थ त्यस्तो होइन । जागिर लगाउन सकेन भन्नेमा चाहिँ हाम्रोमा गुनासो छ । जागिरमा लगाउने हाम्रो अधिकार छँदै छैन । सबै संघ र प्रदेशबाट हुन्छ । जनताले जागिरमा लाउन सक्ने भए पनि गरिदिएन भनेर गुनासो गर्नुहुन्छ । हामीले सहयोगी र चालकसम्म मात्र सकिन्छ । पहिलेदेखि भइरहेकाले र धेरै राख्ने कुरा पनि भएन । जागिरको सवालमा गुनासो छ । अरु सवालमा हामीले जनताको चौतर्फी काम गरेका छौँ ।

गाउँपालिकालाई आत्मनिर्भर बनाउन के गर्दै हुनुहुन्छ ?

अहिले हामीले सिलाईकटाई, बाख्रापालन, बुटिक, कुखुरापालन लगायतका स्वरोजगार र सिपमुलक तालिम गराउँदैछौँ । तर, दुखको कुरा, गाँउपालिकाले लगानी गर्छ, त्यसको फाइदा चाहिँ अपेक्षाअनुसार आइरहेको छैन । हामीले प्रोत्साहन गर्न खोजेका छौँ । तर सदुपयोग भइरहेकोे छैन । आत्मनिर्भर बन्न व्यवसाय र काम गर्नुपर्यो, गाउँपालिकाले सहयोग पनि गरेको छ तर उपलब्धि अलिक नभएको हो कि भन्ने हामीलाई लागेको छ ।

योजना निर्माणका लागि मुख्य आधार मानिएको गाउँपालिका प्रोफाइल तयार गर्नुभएको छ ?
छ । हामीले बनाएका छौँ । शिक्षा, स्वास्थ्य, रोजगारी उद्योग कलकारखाना व्यवस्थित गर्ने लगायतका विषयवस्तु समेटेर प्रोफाइल तयार गरिएको छ ।

एउटै दलबाट निर्वाचित भए पनि कतिपय स्थानीय तहमा प्रमुख र उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्षबीच विवाद उत्पन्न भएको स्थिति छ, यहाँ पनि त्यो अवस्था छ ?

त्यो भइहाल्छ नि । त्यो सामान्य कुरा हो । काम गर्दा कहिलेकाँही हुन्छ । तर यहाँ उग्र रुपले चाहिँ भएको छैन । मिलेरै काम गरेका छौँ । अध्यक्ष पनि र उपाध्यक्ष पनि विकास निर्माण र जनताको गर्नकै लागि आएको होे । कुरा नबुझेपछि विवाद आउँछ । कुरा बुझ्नु र बुझाउनु पर्छ । लामो समयपछि स्थानीय तहको चुनाव नहुँदा अनुभवले खारिने काम नभएर यस्तो भएकोजस्तो मलाई लाग्छ । अधिकारबारेको बुझाईको कमीले विवाद छ । तर हाम्रोमा अलि त्यस्तो छैन ।

बजेट बाँडफाँड लगायतमा कुनै-कुनै बेला बोलाइए पनि हाम्रो कुरै चल्दैन । त्यहाँ पक्ष-विपक्षको कुरा हुन्छ । पहिले नै उहाँहरुले ‘सेट’ गरिसकेर हामीलाई सहीछाप गर्न मात्र बोलाइन्छ ।

कटहरीमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ । विपक्षीलाई कसरी मिलाएर लानु भएको छ ?

हाम्रोमा काम गर्दा पक्ष र प्रतिपक्ष छैन । उहाँहरुले पनि त्यस्तो गर्नु भएको छैन । अन्य दलबाट निर्वाचित जनप्रतिनिधिहरुलाई चित्त नबुझ्ने मैले कामै गरेको छैन । विकासको विषयमा, जहाँ बाटो बनेको छैन, जहाँ स्कुल भत्किएको छ, आवश्यकता भएको ठाउँको विकास न गर्ने हो ? सिलिङ बजेट १/१ करोड बाँडेका छौँ । अन्य बजेट आवश्यकताअनुसार सल्लाह गरेर लगाएका छौँ । त्यसैले यहाँ पक्ष विपक्षको कुरै छैन ।

यो औद्योगिक क्षेत्रसमेत पर्छ, यहाँ थुप्रै उद्योग कलकारखाना छन् । तर, यहाँ नै बेरोजगारी समस्या किन छ ?

बेरोजगार छैनन् । यदि त्यो अवस्था भएको भए चोरी, डकैती, लुटपाट लगायतका अपराधिक क्रियाकलाप हुन्थ्यो । त्यो भएको छैन । जहाँ काम छैन, त्यहाँ त्यस्तो हुने हो । पढेलेखेका युवाहरु अलिकति बेरोजगार चाहिँ छन् । त्यस्ता युवालाई जागिरभन्दा पनि स्वरोजगारतर्फ जान गाउँपालिकाले उत्प्रेरित गर्दै छ ।

यो कृषिको पकेट क्षेत्र हो । त्यसैले कृषि क्षेत्रको विकास र उत्थानका लागि गाउँपालिकाले के गरिरहेको छ ?

कटहरी गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत प्रत्येक वर्ष बजेट आएकै छ । हामीले पनि पकेट क्षेत्रमा पानी तान्ने मेसिन, सिँचाइका लागि पाइप, मोटर, पम्पसेट लगायतका कृषि उपकरणहरु वितरण गरिरहेका छौँ । एक पटक हामीले ३० लाख रुपैयाँको त बीउविजन मात्र वितरण गर्यौं । किसानलाई पनि प्रोत्साहन गरिरहेका छौँ । तर, व्यक्तिमार्फत नभई समूहमार्फत कृषकहरुलाई सहयोग गरिररहेका छौँ ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भइरहँदा तीनै तहका सरकारबीच कतिको समन्वय भइरहेको छ ?

तपाइले एकदमै महत्वपूर्ण प्रश्न उठाउनु भयो । यसमा अलकति मैले भन्नैपर्ने हुन्छ । म एउटा उदाहरण भन्न चाहन्छु, जस्तो स्थानीय तहको प्रमुखका हैसियतले प्रदेश वा संघको सांसदको निर्वाचन क्षेत्र विकास कोषको म पनि एउटा सदस्य हो । मेरो पनि त्यहाँ कुरा राख्ने अधिकार छ, हुन्छ । तर, कतिपय अवस्थामा उहाँहरुले जानकारी नै दिनुहुन्न ।

बजेट बाँडफाँड लगायतमा कुनै-कुनै बेला बोलाइए पनि हाम्रो कुरै चल्दैन । त्यहाँ पक्ष-विपक्षको कुरा हुन्छ । पहिले नै उहाँहरुले ‘सेट’ गरिसकेर हामीलाई सहीछाप गर्न मात्र बोलाइन्छ । हाम्रो कुराको केही सुनुवाई नहुने भएपछि, कुरा राख्न नपाउने भएपछि बहिष्कार नै गर्ने गरेको छु । अब कहाँनेर बजेट अपुग छ, त्यहाँ मैले प्रस्ताव गर्दा मान्नु हुन्न । त्यसैले म अनुपस्थित हुने गर्छु ।

चुनावको बेला दल हुनसक्छ तर जितेर गएपछि सबैको जनप्रतिनिधि हो । त्यसमा मन्त्री र नेता ज्यूहरुकै कमजोरी हो भन्ने मलाई लाग्छ ।

त्यो भए फरक राजनीतिक आस्थाका जनप्रतिनिधि भएकै कारण प्रदेश र केन्द्र सरकारले विभेद गरेको हो भन्न खोज्नु भएको हो ?

हो, किन हैन ? नभए त जनप्रतिनिधिका हिसाबले सोच्ने हो भने त सांसद, मन्त्री पनि जनप्रतिनिधि अनि म पनि जनप्रतिनिधि । त्यहाँ कांग्रेस, एमाले , माओवादी वा नेकपा भन्ने हुँदै नहुनु पर्ने हो ? स्थानीय तहको विकास गर्दा हामीकहाँ दलीय हिसाब किताबको कुरै हुँदैन । आवश्यकता कहाँ छ त्यहीँ काम गर्छौं । गाउँपालिकामा कुनै साथीलाई चित्त बुझेन भने स्थलगत ठाउँमै पुगेर हेरेर निर्णय लिइन्छ । त्यस्तै यस क्षेत्रका सांसद वा माननीय ज्युहरुले क्षेत्रमा पर्ने सबै पालिका हेर्नुपर्छ र आवश्यकताअनुसार गाउँपालिका अध्यक्षसँग सल्लाह गरेर योजना हाल्नु पर्थ्यो नि त । तर अहिलेसम्म त्यस्तो भएकै छैन ।

यस क्षेत्रले प्रदेशको सामाजिक मन्त्री नै पाएको छ । गाउँपालिकालाई कतिको सहयोग गरिरहनु भएको छ ?

मैले अघि भनिहालेँ नि । उहाँहरु त्यस्तै गर्नुहुन्छ । चुनावको बेला दल हुनसक्छ तर जितेर गएपछि सबैको जनप्रतिनिधि हो । त्यसमा मन्त्री र नेता ज्यूहरुकै कमजोरी हो भन्ने मलाई लाग्छ ।

अन्त्यमा, प्रदेश राजधानी एवं विराटनगर महानगरपालिकामै जोडिएको कटहरीमा करोडौँकोलगानीमा एकीकृत फलफुल तथा तरकारी बजार निर्माण सम्पन्न भएर संरचना त्यसै खेर गइरहे पनि किन सञ्चालनमा नआएको ?

यसलाई हामीले त छाडेकै हो । बनिसकेपछि सबै कुरा गाउँपालिकाकै अधिकारभित्र रहनु पर्दथ्यो । तर, यसको सबै अधिकार प्रदेशको हातमा छ । संरचना हाम्रै पालिकामा भएकाले सरोकारको विषय हाम्रो हो तर प्रदेश सरकारको जिम्मामा छ । प्रदेश मौन बसेको छ, त्यसमा हामीले के गर्न सक्छौँ र ?

प्रकाशित समय १२:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु