गृहपृष्ठ पृथ्वीनारायण शाहकै कारण नेपाली सम्मानित : पूर्वमन्त्री बस्नेत

पृथ्वीनारायण शाहकै कारण नेपाली सम्मानित : पूर्वमन्त्री बस्नेत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तका नेता एवं पूर्वमन्त्री हरिबहादुर बस्नेतले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहकै कारण नेपालीहरु सम्मानित भएर बाँच्न पाएको बताएका छन् । पृथ्वीनारायण शाहको २९८औं जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बस्नेतले भने, ‘जबसम्म नेपाल रहन्छ, तबसम्म उहाँको सम्मानमा आँच आउन दिनु हुँदैन ।’

कार्यक्रममा राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर जबराले सरकारले पृथ्वी जयन्तीलाई बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाए । राष्ट्र निर्माताको सम्मानमा राष्ट्रिय एकता दिवसमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने उनको माग छ । उनले भ्रष्टाचारको विरोधी आफ्नो पार्टीले पृथ्वीनारायण शाहलाई सधैं महान पुरुषको रुपमा सम्मान दिइरहने र उनकै विचारअनुरुप अघि बढ्ने प्रतिबद्धता जनाए ।

अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाहले आन्तरिक अर्थतन्त्रलाई कसरी बलियो बनाउने भन्ने कामको सुरुवात भएको बताए । ‘नेपालीको पहिचान दिने व्यक्तिलाई सम्मान दिनु राष्ट्रको दायित्व हो,’ उनले भने । यसैबीच, पुस २७ गते पृथ्वीजयन्तीका अवसरमा राप्रपा संयुक्तले रक्तदान कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।

प्रकाशित समय १८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु