गृहपृष्ठ अन्नपूर्ण बेसक्याम्पबाट डेढ सयको उद्धार

अन्नपूर्ण बेसक्याम्पबाट डेढ सयको उद्धार

शुक्रबार दिउँसो देउराली र हिङ कु केभको बीचमा झरेको हिमपहिरोमा परेर ९ जना पर्यटकहरु सम्पर्कविहीन भएका छन् । चार जना नेपाली गाइड, पाँच जना कोरियन पर्यटक बेपत्ता भएका हुन् । उनीहरुको खोजी भइरहेको छ ।

पोखराबाट गएको सिम्रिक एयरको हेलिकप्टरले अन्नपूर्ण आधारशिविर (एबीसी)को पदमार्गमा सम्पर्कविहीन भएका पर्यटक र पथप्रर्दशकहरुको शनिबार दिनभर खोजी गरेको थियो । केही पर्यटकको स्थानीय पर्यटन व्यवसायीले उद्धार गरेका थिए । लगातार हिमपातका कारण सञ्चारसम्पर्क नभएकाले पर्यटकको अवस्थाबारे जानकारी पाउन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए ।

हिमपहिरोको कारण थुनिएका डेढ सय पदयात्री र पथप्रदर्शकको शनिबार उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । ‘उहाँहरुको आधिकारिक पहिचान भने हुन सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले भने, ‘पहिरोका कारण बेपत्ता हुनुभएको हो या मोबाइलमा चार्ज सकिएको पनि हुनसक्छ ।’ आइतबार पनि खोजी कार्य जारी रहने प्रशासनले जनाएको छ ।

उद्धार गरिएकामध्ये ७० जनालाई शनिबार नै पोखरा ल्याइसकेको उनले जानकारी दिए । डीएसपी कार्कीका अनुसार बाँकी १ सयलाई छोम्रोङमा राखिएको छ । कोरियाली दुतावासले पनि हराएका आफ्ना नागरिकहरुलाई खोज्न बिहानैदेखि हेलिकप्टर परिचालन गरेको थियो । जिल्ला प्रशासन कार्यालयले पनि हराएका सात कोरियाली पर्यटकको खोजी गरिरहेको छ ।

६ वर्षअघि बेसक्याम्पमा हिमआँधी आएर २ सयको हाराहारीमा मृत्यु भएको टानका अध्यक्ष हरि भुजेलले बताए । पथप्रर्दशकविना पदयात्रामा निस्कँदा हिउँमै हराउने सम्भावना बढी रहने भुजेल बताउँछन् ।

प्रकाशित समय ०९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु