गृहपृष्ठ छोरी बिमाको रकम ३ लाख पुर्‍याउने प्रदेश २ सरकारको निर्णय

छोरी बिमाको रकम ३ लाख पुर्‍याउने प्रदेश २ सरकारको निर्णय

प्रदेश २ सरकारले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियानअन्तर्गतको छोरी शिक्षा बिमाको रकम १ लाखबाट बढाएर ३ लाख गर्ने निर्णय गरेको छ । प्रदेश २ का आठवटै जिल्लामा २०७५ माघ १ पछि जन्मेर बिमित भएका १५ हजार छोरीले २० वर्षपछि ३ लाख रुपैयाँ पाउने प्रदेश २ को मन्त्रिपरिषद बैठकले निर्णय गरेको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा माघ १७ गते पत्रकार सम्मेलन आयोजना गरी उनले प्रदेश २ मा छोरीहरु निकै हिंसामा पर्दै आएको र विवाहका क्रममा अभिभावकलाई दाइजोको तनाव हुँदै आएकाले बालविवाह अन्त्यका साथै लैंगिक हिंसा न्यूनीकरणका लागि २०७५ माघ १ गतेपछि जन्मिएका छोरीहरुले २० वर्षपछि ३ लाख पाउने गरी मन्त्रिपरिषदबाट निर्णय भएको बताए । उनले प्रदेश २ का १४ हजार छोरीलाई साइकल प्रदान गरेको जानकारी गराउँदै अब चाँडै थप २० हजार छोरीलाई साइकल प्रदान गर्ने, विद्यालयमा स्यानेटरी प्याडको व्यवस्था गर्ने तथा दलित, अल्पसंख्यक र मुस्लिम परिवारका छात्रालाई प्रतिमहिना ५ सयका दरले छात्रवृत्ति उपलब्ध गराउने योजना रहेको जानकारी गराए ।

मुख्यमन्त्री राउतले प्रदेश २ का नागरिकको स्वास्थ्य अवस्था निकै नाजुक रहेको भन्दै जनकपुरस्थित प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण गरिने निर्णय भएको पनि जानकारी गराए । मन्त्रिपरिषद बैठकबाट मधेस आन्दोलनका सहिद परिवार तथा घाइतेको दीर्घकालीन व्यवस्थापनका लागि मधेसी सहिद प्रतिष्ठान गठन गर्ने निर्णयसमेत गरिएको छ ।

प्रकाशित समय १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु