गृहपृष्ठ ऋषिले आदर्श राजनीति गर्नुभयो : राज्यमन्त्री रावत
ऋषिले आदर्श राजनीति गर्नुभयो : राज्यमन्त्री रावत
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले तत्कालीन नेकपा (एमाले) का नेता एवं पहिलो संविधानसभा निर्वाचन २०६४ का उम्मेदवार ऋषिप्रसाद शर्माको हत्याले कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको बताएका छन् ।
ऋषि स्मृति प्रतिष्ठानको वार्षिक साधारणसभालाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले ऋषिबाट संघर्ष गर्न सिक्नुपर्ने बताए ।
‘इमान्दार, थुप्रै पटक त्याग, तपस्या गर्दै कम्युनिष्ट पार्टीलाई स्थापित गराएको नेता हुनुहुन्थ्यो, ’ ऋषिका सहकर्मीसमेत रहेका राज्यमन्त्री रावतले भने, ‘उहाँले राजनीतिलाई कहिल्यै कमाउने माध्यम बनाउनुभएन, आर्दशको राजनीति गर्नुभयो ।’
सुर्खेत–१ का उम्मेदवार शर्मालाई विसं २०६४ चैत २६ गते पूर्वीसुर्खेतको मैनतडामा आफ्नै अङ्गरक्षकले गोली हानि हत्या गरेका थिए ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले सहिद शर्माले देखाएको बाटोमा अघि बढ्नुपर्ने विचार व्यक्त गरे । उनले ऋषि सुर्खेतका मात्र नभई तत्कालीन भेरी–राप्ती क्षेत्रकै चर्चित नेता भएको बताए ।
ऋषि पत्नी एवं पहिलो संविधानसभा सदस्य कमला शर्माले आफ्नो जीवनसाथी मात्र नभई एउटा स्थापित नेताको अभाव सधैँ खड्किरहने बताए । उनले भने, ‘ऋषिले देखाएको बाटो अनुशरण गर्न सकेमात्र उनीप्रति सच्चा सम्मान हुनेछ ।’
प्रतिष्ठानका अध्यक्ष डण्डीप्रसाद शर्माले ऋषिका विचारलाई संस्थागत गर्न जरुरी रहेको बताए । प्रतिष्ठानले भेरीगंगा नगरपालिका–१० मदानेचौरमा ऋषि स्मृति बाटिका निर्माण गरिरहेको छ ।
अध्यक्ष शर्माले प्रतिष्ठानअन्तर्गत माक्र्सवाद अध्ययन पुस्तकालय, ऋषि स्मृति स्मारिका प्रकाशन गर्ने योजना सुनाए । प्रतिष्ठानले विसं २०६६ देखि ऋषिको जन्मदिन पारेर उनलाई सम्झँदै आएको छ ।
कर्णाली प्रदेश स्थापना दिवस मनाईदै
कर्णाली प्रदेशसभा सचिवालयले पहिलोपटक विभिन्न कार्यक्रम गरी प्रदेशसभाको स्थापना दिवस मनाउने तयारी गरेको छ । प्रदेशसभाले आजदेखि मङ्गलबारसम्म खेलकूद प्रतियोगिता, अन्तक्र्रिया र शुभकामना आदानप्रदान गरेर स्थापना दिवस मनाउने भएको हो ।
प्रदेशसभा स्थापना भएको तेस्रो वर्षमा प्रवेश गरे पनि औपचारिकरूपमा स्थापना दिवस पहिलोपटक मनाउन लागिएको हो । विसं २०७४ माघ २१ गते कर्णाली प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।
स्थापना दिवसका अवसरमा आज मन्त्री र प्रदेश सांसदबीच ब्याडमिन्टन, कुर्सी दौड, घैंटो फोड्ने खेल आयोजना गरिनेछ । सभामुख राजबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावल नेतृत्वको समूहबीच आज प्रदेशसभा प्रांगणमा ब्याडमिन्टन खेलको उद्घाटन हुनेछ ।
उपसभामुख पुष्पा घर्ती विष्टले खेलमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, सचिवालयका कर्मचारीको सहभागिता रहने बताए ।
त्यस्तै सोमबार दिउँसो सङ्घीयताको प्रभावका विषयमा अन्तर्क्रिया हुनेछ भने माघ २१ गते शुभकामना आदानप्रदानको कार्यक्रम तय गरिएको छ । उपसभामुख विष्टका अनुसार अन्तक्र्रियामा विभिन्न क्षेत्रका गरी ३०० बढी व्यक्तिलाई निमन्त्रणा गरिएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत उच्चपदस्थ पदाधिकारीको उपस्थिति रहनेछ । सोही दिन ३१० पृष्ठको स्मारिका र प्रदेशसभा सदस्यको परिचय खुल्ने पुस्तकको विमोचन गर्ने कार्यक्रम छ । (रासस)
प्रकाशित समय ०८:०६ बजे
















