गृहपृष्ठ प्रतिपक्षी र अख्तियारलाई प्रभावमा पारेर सरकार संस्थागत भ्रष्टाचारमा लिप्त : कमल थापा

प्रतिपक्षी र अख्तियारलाई प्रभावमा पारेर सरकार संस्थागत भ्रष्टाचारमा लिप्त : कमल थापा

'नेकपाको आन्तरिक विवादले एमसीसीबारे भ्रम सिर्जना'

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा भए पनि सत्तारुढ दल नेकपा भित्रको आन्तरिक द्वन्द्वका कारण विवाद भएको बताएका छन् । सुदूरपश्चिमस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि धनगढी आएका अध्यक्ष थापाले नेकपा भित्रको आपसी द्वन्द्वले विदेशी सहयोग नै रोकिने अवस्था आएको बताए ।

विगतदेखि नै नेपालमा चलिआएको एमसीसीलाई सत्तारुढ दलले विनाकारण विवादमा ल्याउन खोजेको थापाको आरोप छ । उनले भने, ‘एमसीसी नेपालकै हितमा छ, त्यसको विरोध गर्नु हुँदैन ।’ सत्तारुढ दल नै आपसी द्वन्द्वमा फसेकाले अब बाह्य देशको हस्तक्षेप बढ्ने सम्भावना रहेको थापाको भनाइ छ ।

‘केही प्रक्रियागत त्रुटि रहे पनि समग्रमा एमसीसी नेपालको हितमा रहेकाले यसलाई पास गर्नुको विकल्प छैन,’ थापाले भने, ‘सत्तारुढ दलकै आपसी द्वन्द्वका कारण एमसीसीबारे जनतामाँझ भ्रम सिर्जना गरेकाले यसलाई सरकारले नै प्रष्ट पार्नुपर्छ ।’

अध्यक्ष थापाले देशबाट राजसंस्था फालेपछि बाह्य शक्ति हावी हुँदै गएको बताएका छन् । ‘देशमा राजा पनि छैन । धर्म पनि नमान्नेलाई कसैको डर हुँदैन,’ उनको आक्रोश पोखे, ‘जनताको पनि डर नमान्ने वर्तमान नेतृत्व भ्रष्टाचारमा लिप्त छ ।’

तत्कालीन माओवादी केन्द्रबाट राज्य कोषमा भएको घोटालाबाट देशमा भ्रष्टाचार बढेको उनको तर्क छ । वर्तमान सत्ताधारी पार्टीले देशमा आमूल परिवर्तन ल्याउने नाराले देशमा लुटतन्त्र संस्थागत हुँदै गएको अध्यक्ष थापाले आरोप लगाए । ‘भ्रष्टाचार गर्न कुनै कानुन बाधक भए दुईतिहाइले कानुन नै परिमार्जन गरिदिन्छन्,’ उनले भने, ‘नेपाली कांग्रेस र नेकपाले पटक-पटक ठगिसकेकाले अब जनताले विकल्प खोजेका छन् ।’

सरकारका प्रवक्ता नै लुटतन्त्रमा देखिएकाले यसको तत्काल सत्यतथ्य छानबिन हुनुपर्ने अध्यक्ष थापाको माग थियो । कम्युनिष्टसँगै कांग्रेस पनि भ्रष्टाचारको भागिदार बनेको अध्यक्ष थापाको भनाइ छ । प्रतिपक्षीसँगै अख्तियारलाई समेत सरकारले आफ्नो प्रभावमा पारेर संस्थागत भ्रष्टाचार गरिरहेको उनले आरोप लगाए ।

अध्यक्ष थापाले आफ्नो कमजोर संगठन र कांग्रेससँगको सहकार्यका कारण प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा हार ब्यहोर्नु परेको बताए । अबको निर्वाचनमा कांग्रेस र नेकपा बराबरको हैसियत बनाउन बलियो संगठन निर्माणमा जुटेको उनले बताए । उनका अनुसार हरेक प्रदेशमा प्रशिक्षण कार्यक्रमसहित संगठन बिस्तारलाई राप्रपाले तीव्रता दिएको छ ।

९ महिनाभित्र पार्टीको महाधिवेशन गर्नका लागि तयारी थालिएकोसमेत थापाले बताए । देशमा जनताले राजसंस्था र हिन्दू राष्ट्र खोजेकाले अब राप्रपाको विकल्प नरहेको उनको भनाइ थियो । दुई ठूला दलका कामबाट जनता खिन्न भइसकेकाले अब राप्रपा बलियो पार्टी भएर आउने अध्यक्ष थापाले बताए ।

प्रकाशित समय १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु