गृहपृष्ठ भारतमा आक्रामक बजार विस्तार गर्दै वाइवाइ

भारतमा आक्रामक बजार विस्तार गर्दै वाइवाइ

चालू वर्षमै सवा ८ अर्ब भारुको कारोबार

Wai Wai India_NewsKarobar

नेपालबाट बहुराष्ट्रिय ब्रान्डका रूपमा अग्रसर हुँदै गएको चौधरी ग्रुपले भारतमा वाइवाइको बजार विस्तारलाई आक्रामक तुल्याएको छ । सुरुमा सिक्किममा परीक्षणको रुपमा सानो प्लान्टबाट भारतीय बजारमा प्रवेश गरेको वाइवाइ त्यहाँ अहिले दोस्रो ठूलो चाउचाउ ब्रान्डका रूपमा स्थापित भइसकेको छ ।

वाइवाइले कुल भारतीय चाउचाउ बजारको २० प्रतिशत हिस्सा ओगटेको द इकोनोमिक टाइम्सले लेखेको छ ।

सिंगापुरमा सीजी कर्प ग्लोबल खडा गरेर त्यसमार्फत भारतसहितका देशमा विनोद चौधरीले लगानी गर्दै आएका छन् । भारतमा रहेका सीजी फुड्स इन्डिया (सीजीएफआई) लाई सिजी कर्प ग्लोबलको सहायक कम्पनी भनिने गरिएको छ ।

भारतमा हाल वाइवाइका सिक्किम, गुहाटी र सिल्चरमा मुख्य उत्पादन कारखानाहरू छन् भने उत्तराखण्डको रुद्रपुर, आन्ध्रप्रदेशको चित्तौर र बिहारको पूर्णियासहितका स्थानमा ७ उत्पादन कारखाना विस्तारित छन् । कम्पनीले हालैमात्र राजस्थानमा नयाँ कारखाना स्थापना गरेको छ ।

बिजनेस स्ट्यान्डर्ड पत्रिकाका अनुसार चालू वर्षमा भारतभरिमा कुल ८ अर्ब २० करोड भारुकाो कारोबार गरेकोमा सन् २०२२ सम्ममा १५ अर्ब भारुको कारोबार गर्ने लक्ष्य राखेको छ । यसमध्ये दक्षिण भारतीय बजारबाट मात्रै १० अर्ब भारुको कारोबार गर्ने लक्ष्य राखिएको छ ।

सीजी फुड्सको दक्षिण तथा पूर्वी भारतका बिक्री प्रमुख परवेज आर भन्डारेवालाका अनुसार उत्तरपूर्वी भारतमा वाइवाइको ६० प्रतिशत बजार हिस्सा छ भने दक्षिण तथा पश्चिमी बजारमा न्यून उपस्थिति छ ।

दक्षिण भारतले कुल तयारी चाउचाउ बजारको २० प्रतिशत हिस्सा ओगट्ने गरे पनि हाल वाइवाइको बजारको उपस्थिति कमजोर भएपछि त्यस क्षेत्रमा आक्रामक बजार विस्तार गर्ने तयारी थालिएको उनले बताए ।

उनका अनुसार कर्णाटकमा वाइवाइको बजार हिस्सा १५ प्रतिशतमात्र छ । यसलाइ बढाएर लैजाने उद्देश्यसहित बजार विस्तार थालिएको हो ।

स्मरणीय छ, फोर्ब्समा नेपालको एकमात्र डलर अर्बपतिका रूपमा सूचिकृत विनोद चौधरीले आफ्नो विश्वव्यापी लगानी करिब अढाइ दशकअघि सिक्किमको रम्पोमा वाइवाइको कारखाना विस्तारबाट आरम्भ गरेका थिए ।

हाल युरोपको सर्वियासहितका मुलकमा वाइवाइको उत्पादन कारखाना विस्तार भइसकेको छ ।

प्रकाशित समय १४:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु