गृहपृष्ठ पुनर्निर्माणमा दातृ प्रतिबद्धता सवा ४ खर्ब, आयो सवा १ खर्ब
पुनर्निर्माणमा दातृ प्रतिबद्धता सवा ४ खर्ब, आयो सवा १ खर्ब
२०७२ वैशाखको भूकम्पले नेपालमा व्यापक जनधनको क्षति गर्यो । करिब ९ हजार जनाको मृत्यु भयो, ८ लाखजति घरहरू भत्किए । सम्पदा क्षेत्रमा उस्तै ठूलो तहसनहस भयो ।
संकटको घडीमा असारमा सरकारले अन्तर्राष्ट्रिय दातृ सम्मेलन आयोजना गर्यो ।, दातृ मुलुकका प्रतिनिधिहरूले लिलामीका बोलकबोलजस्तो गरी बढाबढ गरेर नेपाललाई करिब सवा ४ खर्ब रुपैयाँ (४ अर्ब १० करोड अमेरिकी डलर) सहयोग दिने घोषणा पनि गरे । तर, गत आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्म खुद दातृ सहयोगको निकासा सवा खर्ब रुपैयाँबराबरमात्रै छ ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक सहायता प्रवाहसम्बन्धी प्रतिवेदनअनुसार पुनर्निर्माणका लागि खुद वैदेशिक सहायता निकासा १ अर्ब १५ करोड ४९ लाख अमेरिकी डलरमात्रै छ ।
यद्यपि, अर्थमन्त्रालयले भने ती दातृ निकायहरूले कुल बचनबद्धता व्यक्त गरेको सहयोगको करिब ८९ प्रतिशत अर्थात् ३ अर्ब ६४ करोड ६० लाख अमेरिकी डलर सरकारसँग औपचारिक सम्झौतामार्फत दिने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ ।
सहयोगका लागि बचन दिएको तुलनामा प्रतिबद्धता जनाएको र वास्तविक उपलब्ध गराएको सहायता अनुपातमा हेर्दा भारत सबैभन्दा झुठो निस्किएको छ ।
केही समयअघि अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा भारतले आफ्नै वस्तु प्रयोग गर्नुपर्ने, आफूले भनेकै ठेकेदारमार्फत निर्माण कार्य गराउनु पर्नेलगायतका सर्त राखेको बताएका थिए ।
अर्थमन्त्रालयको प्रतिवेदनअनुसार भारतले पुनर्निर्माणका लागि १ अर्ब ४० करोड अमेरिकी डलरबराबरको सहयोग गर्ने सुरुमा बचनवद्धता जनाएको र त्यसमध्ये १ अर्ब ७ करोड ८८ लाख डलर दिने प्रतिबद्धता जनाएको थियो ।
भारतले २५ अर्ब भारुबराबरको अनुदान र ७५ अर्ब भारु बराबर ऋण दिने प्रतिबद्धता जनाएको हो । यसमध्ये भारतीय एक्जिम बैंकबाट दिइने भनिएको ऋणमा सर्त थोपरेको हो ।
विकास सहायता प्रतिवेदनअनुसार गत आवको अन्त्यसम्म भारतले केबल ६८ लाख २३ हजार डलरबराबरमात्र पुनर्निर्माणका लागि सहयोग दिएको छ । यो प्रतिबद्धता रकमको ०.६ प्रतिशतमात्र हो ।
यस्तै चीनले पनि हालसम्म कुल प्रतिबद्धताको केबल ३ प्रतिशतबराबरको मात्र पुनर्निर्माण सहायता निकासा गरेको छ । चीनले कुल ७६ करोड ६९ लाख डलर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकोमा २ करोड ३ लाख डलरमात्रै निकासा गरेको छ ।
दाताहरुले दिने भनिएको सहयोगमध्ये अधिकांस सर्तैसर्तमा जेलिएको कारण प्रतिबद्धता रकमका तुलनामा वास्तविक निकासा कम देखिएको हो । ‘प्रतिबद्धता व्यक्त गरेको दातृ सहयोग आइहाल्छ’ भन्ने विश्वासमा पुनर्निमार्ण प्राधिकरणले धमाधम पुनर्निर्माण अघि बढाइरहेको छ, जुन पछि शोधभर्ना गरिनु पर्ने हुन्छ ।
यो पनि पढ्नु होस्ः
पुनर्निर्माणका लागि वित्तीय स्रोत व्यवस्थापनको संकट
भूकम्प पीडितको साढे ५ अर्ब आईएनजीओमार्फत् परिचालन
प्रकाशित समय १६:१७ बजे

















