गृहपृष्ठ विश्व अर्थतन्त्रमा कोरोना कहर, के होला नेपालमा ?
विश्व अर्थतन्त्रमा कोरोना कहर, के होला नेपालमा ?
विश्वव्यापी आर्थिक संस्थाहरू अर्गनाइजेन फर इकोनोमिक कोअपरेसन एन्ड डेभपलेमन्ट (ओइसीडी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र एसियाली विकास बैंकले विश्वव्यापी स्वास्थ्य संकटका रूपमा देखापरेको नोबल कोरोनाभाइरस (कोभिड-१९) का कारण विश्व अर्थतन्त्र सन् २००८-९ को विश्वव्यापी वित्तीय संकटपछि हालसम्मकै सर्वाधिक अनिश्चित स्थितिमा पुगेको जनाएको छन् ।
गत जनवरीमा चीनको वुहान सहरबाट फैलिएको कोभिड-१९ शुक्रबार अपराह्नसम्म विश्वका ८८ देशमा विस्तार भइसकेको छ । यसको प्रभाव यति तीव्र दरमा फैलिएको छ कि यसअघि देखापरेका समान प्रकृतिका स्वास्थ्य संकटभन्दा कोभिड-१९ को विस्तार फरक प्रकृतिको मानिएको छ । यसअघि सन् २००३ मा देखापरेको सार्स २३ देशमा, सन् २००९ बाट फैलिएको स्वाइन फ्लु (एच१एन१) ४६ देशमा र सन् २०१४ मा फैलिएको इबोलाले अफ्रिकी देशहरूमा (जसका कारण ११ हजारको मृत्यु भएको थियो) फैलिएको थियो ।
एडिबीले सार्वजनिक गरेको ‘विकासशील एसियामा कोभिड-१९ को विस्तारबाट पार्ने आर्थिक प्रभाव’सम्बन्धी अध्ययन पत्रअनुसार इबोलाका कारण मृत्युदर ५० प्रतिशत, मर्सका कारण मृत्युदर ३४.३० प्रतिशत, सार्सका कारण मृत्युदर १० प्रतिशत, मौसमी फ्लुका कारण हुने मृत्युदर ०.०५ प्रतिशत रहँदा कोभिड-१९ का कारण मृत्युदर ३.४ प्रतिशतको बीचमा छ ।
कोरोना भाइरसका कारण मृत्यु हुनेहरूको कुल संख्या ३ हजार ३८२ जना (कुल संक्रमितको ३.४८ प्रतिशत)मात्र भए पनि यसको प्रभावका कारण विश्वव्यापी अर्थतन्त्रका मुख्य गतिविधिमा पारिरहेको असरले यसको प्रभाव विश्व वित्तीय मन्दीभन्दा ठूलो हुने ओइसीडीका अर्थशास्त्रीहरूले आंकलन गरेका छन् भने एडिबीका अर्थशास्त्रीहरूले यसको असरले विश्वव्यापी कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को कम्तीमा ०.१ प्रतिशतदेखि ०.४ प्रतिशतसम्म क्षति पुग्ने प्रारम्भिक आंकलन गरेका छन् । रकमगत आधारमा यो ७७ अर्ब अमेरिकी डलरलेखि ३ खर्ब ४७ अर्ब अमेरिकी डलरसम्म हुन आउँछ ।
एडिबीले हाल गरिएको यात्रा प्रतिबन्धलाई तीन महिनापछि खुला गरिएमा विश्वव्यापी आर्थिक नोक्सानी १ खर्ब ५६ अर्ब डलर वा विश्वव्यापी जिडिपीको ०.२ प्रतिशत पुग्ने मध्यम अवस्थाको प्रक्षेपण गरेको छ । चीन एक्लैले १ खर्ब ३ अर्ब डलरको नोक्सानी व्यहोर्नेछ, जुन उसको जीडीपीको ०.८ प्रतिशत हो । बाँकी विकासशील एसियाले २२ अर्ब डलर अर्थात् कुल क्षेत्रीय जीडीपीको ०.२ प्रतिशत क्षति व्यहोर्नेछन् ।
चीन एक्लैले विश्वव्यापी जिडिपीको १७ प्रतिशत, विश्व व्यापारको १४ प्रतिशत, विश्व पर्यटनको १० प्रतिशत र कुल विश्वव्यापी मागको ४० प्रतिशत हिस्सा ओगट्ने भएकाले त्यसले खासगरी विकासशील देशहरूको समूह (जी-२०) को माग, आपूर्ति र उपभोगमा गम्भीर असर पार्ने ठहर ओइसिडीको छ । अहिले खासगरी कोरोनाको सबैभन्दा बढी प्रभाव विकासित देशमा देखिएको छ ।
कोरोनाबाट सर्वाधिक संक्रमण फैलिएका देशहरूको सूची हेर्ने हो भने चीनपछि दक्षिण कोरिया, इटाली, इरान, जर्मनी, फ्रान्स, जापान, स्पेन, अमेरिका, स्विट्जरल्यान्ड, सिंगापुर, हङकङलगायतका देश छन् । स्वाभाविक रूपमा यीलगायतका देशसँग चीनको बढी व्यापार-सम्बन्ध भएकाले व्यापारिक यात्रा, पर्यटनलगातका कारण ठूलै आवतजावत भएको हुँदा कोरोनाको संक्रमण बढी फैलिएको हुनसक्छ ।
कुन-कुन क्षेत्रमा प्रभाव पर्नेछ ?
कोभिड-१९ का कारण अहिले नै विश्वव्यापी यात्रा (ट्राभल)मा लगाइएको प्रतिबन्धले विश्व पर्यटन र ट्राभल क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् । ओइसिडी र एडिबी दुवैको अध्ययन पत्रअनुसार सार्वजनिक भेला, भेटघाट र यात्रामा लगाइएको प्रतिबन्धले आपूर्ति शृंखला अवरोध भएको, चीनको उत्पादनमूलक क्षेत्र ठप्प हुँदा विश्वव्यापी उत्पादन सूचकमा गिरावट आएको, वस्तुको मागमा कमी आएको तथा गिर्दो उपभोक्ता विश्वासले विश्वव्यापी अर्थतन्त्रलाई गम्भीर संकटको बाटोमा उन्मुख गराएको छ । इलेक्ट्रोनिक्स र अटोमोबाइल क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन् भने यात्रा प्रतिबन्धका कारण पर्यटनलगायतको सेवा उद्योगले थप प्रतिकूल अवस्था सामना गरिरहेको छ ।
अमेरिका-चीन व्यापार युद्धका कारण यसअघि सन् २०१९ मा नै घट्दो गतिमा रहेको विश्व अर्थतन्त्रले सन् २०२० को पहिलो त्रैमासिक अवधिमा अझ ठूलो नकारात्मक परिदृष्यको सामना गर्दैछ । कोरोना भाइरस प्रभावले विश्व अर्थतन्त्रको वृद्धिदर आधा प्रतिशतदेखि १.५ प्रतिशतसम्मले घट्ने परिदृष्यहरू विश्वका प्रमुख आर्थिक संस्थाहरूले सार्वजनिक गरेका छन् । ओइसिडीका अनुसार समग्र विश्वको आर्थिक वृद्धिदर मध्यम परिदृष्यमा ०.५ प्रतिशतले घटेर २.५ प्रतिशतमा रहनेछ । यसमध्ये विकासशील मुलुकहरूको समूह जी-२० को वृद्धिदर ०.५ प्रतिशतले घटेर २.७ प्रतिशतमा रहनेछ ।
कोरोना भाइरसको सर्वाधिक संक्रमण फैलिएर उत्पादन, उपभोग र आपूर्ति तीनै चक्रमा गम्भीर असर पारेको चीनको वृद्धिदर ०.८ प्रतिशतले घटेर ४.९ प्रतिशतमा झर्ने र नेपालको अर्को छिमेकी भारतको वृद्धिदरमा पनि ०.१ प्रतिशतले कमी आइ ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ ।
के होला नेपालमा ?
नेपालमा कोभिड-१९ को असरले अर्थतन्त्रमा पार्नसक्ने असरबारे भर्खरै अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले छुट्टाछुट्टै अध्ययन सुरु गराएका छन् । प्रमुख पूर्वाधार आयोजनाहरू निर्माणमा भइरहेको अवरोध तथा अब हुनसक्ने विकास खर्चमा संकुचन, उपभोक्ता विश्वासमा आएको कमी, पर्यटनमा देखापरेको महासंकट, रेमिट्यान्समा आउनसक्ने कमीलगायतका कारणले नेपालको वृद्धिदर ५ प्रतिशतमा सीमित हुनसक्ने स्वतन्त्र अर्थशास्त्रीहरूले बताएका छन् । यो यसअघि गरिएको प्रक्षेपणभन्दा करिब १.५ प्रतिशतको कमी हो ।
सरकारले पनि यो वर्ष ७ प्रतिशतसम्मको वृद्धिदर हासिल हुनसक्ने अनुमान गरेकोमा त्यसमा समेत गिरावट आउने सम्भावना बढेको हो । विश्व बैंक, आईएमएफ र एडिबीले यो विश्वव्यापी स्वास्थ्य संकटसँग लड्नका लागि प्रभावित देशहरूका लागि तत्कालै उपलब्ध हुनसक्ने गरी छुट्टाछुट्टै सहयोग प्याकेजको घोषणा गरेका छन् । आशा गरौं, सरकारले बेलैमा कोरोना भाइरसविरुद्ध प्रभावकारी उपायहरू अबलम्बन गरी यसले देशभित्र पार्नसक्ने स्वास्थ्य संकट र त्यसले समग्र अर्थतन्त्रमा पार्नसक्ने अर्को संकटका प्रभाव न्यूनीकरण गर्न बेलैमा कदम चाल्नेछ ।
प्रकाशित समय १४:५१ बजे

















