गृहपृष्ठ प्राइम कमर्सियल बैंकद्वारा एकीकृत कारोबार सुरु
प्राइम कमर्सियल बैंकद्वारा एकीकृत कारोबार सुरु
प्राइम कमर्सियल बैंक लिमिटेडले कैलास बैंक लिमिटेडलाई प्राप्ति गरी बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेको छ । प्राइम बैंकको केन्द्रीय कार्यालयमा कार्यक्रमको आयोजना गरी प्रमुख कार्यकारी अधिकृत र सञ्चालकहरुको उपस्थितिमा दुई बैंक मर्ज भएको हो ।
प्राइमका सञ्चालक समितिका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले कैलास बैंकलाई प्राप्तिपछि एकीकृत कारोबार सुरु भएको बताए । अब बैंकको चुक्ता पुँजी १३ अर्ब ९८ करोड र निक्षेप करिब १ सय ३० अर्ब पुगेको छ । यसैगरी बैंकको कर्जा लगानी १ सय १४ अर्ब पुगेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
करिब २ सय शाखा सञ्जालसहित कर्मर्सियल बैंकको पहुँच अब देशैभर पुगेको अध्यक्ष श्रेष्ठले बताए । ‘प्राप्तिपश्चात् बहुसंख्यक वित्तीय परिसूचकहरुमा हामी निजी क्षेत्रका उत्कृष्ट बैंकमध्येमा उभिन सफल भएका छौं,’ अध्यक्ष श्रेष्ठले भने । दक्ष जनशक्ति, बनिबनाउ पोर्टफोलियो, शाखा सञ्जाल तथा कोषको व्यवस्थापन प्राइमले अपेक्षा गरेको प्रस्तावित उपलब्धि हासिल हुनेमा उनले विश्वास व्यक्त गरे ।
बैंकले स्थापाना कालदेखि नै निक्षेपकर्ताहरुलाई उच्च ब्याज दिँदै आइरहेको छ र सेयरधनीहरुलाई पनि तुलनात्मक रुपमा उच्च लाभांश प्रदान गर्दै आइरहेको उनले दावी गरे । बैंकले कमाएको मुनाफाबाट सेयरधनीहरुलाई स्टक डिभिडेण्ड दिएकाले राष्ट्र बैंकले तोकेको पुँजीकोष पुर्याउन सहज हुने बताउँदै अध्यक्ष श्रेष्ठले मुनाफा वितरणबाट सर्वसाधरण सेयरधनीहरुले पनि दोस्रो बजारको मूल्यअनुसार बोनस सेयरबाट उच्च प्रतिफल प्राप्त गरेको जानकारी दिए ।
कैलास बैंकको आगमनबाट प्रतिफलमा लाभ हुने भएकाले यसको सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ । कैलासका मर्जर कमिटीका संयोजक सुनिलनारायण श्रेष्ठले कैलास विकास बैंक प्राइममा आउनु ठूलो परिवारमा आएको महसुस भएको बताए । कैलासमा रहेर गर्न नसकेको काम प्राइममा गर्न सकिने उनको भनाइ छ ।
उनले प्राइम बैंक नेपालका ठूला बैंकमध्ये एक रहेको बताए । तर बैंक ठूलो मात्र नभएर राम्रो बैंक बन्नुपर्ने उनले धारणा व्यक्त गरे । निक्षेपकर्तालाई बैंकले उचित ब्याज दिनु, सेयरधनीलाई उचित लाभांश दिनु नै राम्रो बैंक हुने भएकाले प्राइम बैंकले यी सेवा दिनेमा उनले विश्वास व्यक्त गरे ।
प्रकाशित समय १४:०२ बजे

















