गृहपृष्ठ कोरोना, लकडाउन र स्व-अनुशासन

कोरोना, लकडाउन र स्व-अनुशासन

हुलमुलमा जीउ जोगाउनु,

अनिकालमा बीउ जोगाउनु ।

महामारीमा ज्यान जोगाउनु ,

आफू जोगिनु र अरुको प्राण जोगाउनु ।।

यही नै हो हाम्रो मूल्य, मान्यता र आदर्श ।

नोवल कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्न चैत ११ देखि लागू हुने गरी एक साताका लागि सरकारले लकडाउन गरेपछि अनेक चर्चा र टिप्पणी भइरहेका छन् । लकडाउनका विषयमा नकारात्मक कुरा पनि उत्तिकै आएका छन् । तर, विश्वव्यापी महामारीबाट बच्न र बचाउन सरकारले गरेका निर्णयलाई यतिखेर मौनतापूर्वक स्वीकार गर्नुपर्छ । लकडाउनले सामाजिक दूरी बढाउनेखालका नकारात्मक टिप्पणीलाई बेवास्त गर्नुपर्छ । किनकि, सात दिने लकडाउनले सामाजिक दूरी बढाउने कुरा हुँदैन, केवल भौतिक दूरीमात्र बढाउँछ । लकडाउनमा सामाजिक रुपले छुट्टिनु पर्दैन र हुँदैन पनि । सामाजिक दूरी कम गर्न थालियो भने व्यक्ति, परिवार र समाजमा दूरी बढ्छ । सामाजिक सद्भावमा खलल पुग्नसक्छ । दिग्दारी र तनाव बढ्छ सक्छ । यसले अर्को समस्या निम्त्याउँछ भन्नेतर्फ सोचौं र सामाजिक सद्भावलाई मजबुत बनाउने काम गरौं ।

सरकारले मंगलबार बिहान ६ बजेदेखि देशभर गरेको लकडाउनको प्रभाव सशक्त हुन सकेको छैन । यसको पालना गर्ने नागरिक स्वयंले हो । मानिसको भीडभाड कायमै छ । किन बेवास्ता गरिँदै छ लकडाउनको । लकडाउनको घोषणालाई बेवास्ता गर्दा भोलि गम्भीर परिणाम नआउला भन्न सकिन्न । यो महामारीप्रति हामी सबैले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

कोरोनाको विकराल अवस्थालाई मध्यनजर गर्दै गरिएको लकडाउन कर्फ्यु होइन । मानिसको बुझाइमा फरक पर्न गएको र नबुझेर कतिपय मानिसले आफूअनुकूल व्याख्या गरी सामाजिक सञ्जालमा अनेकन् टीकाटिप्पणी गरिरहेका छन् । लकडाउनमा असामान्य अवस्थामा बाहेक आवतजावत गर्नु उपयुक्त हुँदैन । समयानुकूल टोलमा औषधी पसल, उपभोग्य वस्तुका पसल, चिया पसल, तरकारी तथा खाद्यसामग्रीका पसल खोलिन्छन् र खोलिनुपर्छ । छरछिमेकमा मानिसहरु आसपास भेटघाटका निमित्त निस्कन पनि सक्छन् । दैनिक उपभोग्य सामानको अभावका कारण मानिसको जनजीवन प्रभावित हुनसक्छ र तनाव उत्पन्न हुने सम्भावना पनि रहन्छ । यो अवस्था कर्फ्यु जस्तो मात्र भएको हुँदा असामान्य परिस्थितिभित्रको सामान्य रुप हो भनेर बुझ्न जरुरी छ । लकडाउनको अर्थ भेला नहुनु भन्ने हो अर्थात् मास मुभमेन्ट्स कन्ट्रोल हो । सेल्फ कन्ट्रोल हो । विशेष आवश्यक अवस्थामा सीमित इलाकाभित्र हामी जान सक्छौं तर अनावश्यक हिँड्डुल र भेटघाटमा भने बन्देज नै हो । लकडाउनको शाब्दिक अर्थ (एसिया आइसोलेसन) हो भनेर बुझ्यौं भने जनजीवन सहज रहला र सरकारले गरेको घोषणाले पनि सार्थकता पाउला ।

विद्यमान कोरोनाले निम्यात्याएको विषम परिस्थिति र लकडाउनको अवस्थाप्रति हामी संवेदनशील हुन जरुरी छ । यो अवस्था आत्मानुभूतिको हो । आत्मानुशासनको हो ।

हाम्रो प्रवृत्ति सकारात्मक र राम्रा कामको पनि विरोध र आलोचना गर्ने खालको बन्दै गयो भने स्थिति जटिल र भयावह हुनसक्छ । त्यसैले नकारात्मक टीकाटिप्पणीबाट टाढा बसौं । कोरोनासँग सम्बन्धित विषयमा सजग र संवेदनशील बनौं । अनावश्यक भिडियो आदि पठाएर मानिसमा मनोवैज्ञानिक असर पार्न र पर्नबाट बचाऔं ।

विश्वजगत कोरोनाले आक्रान्त हुँदासमेत लाग्छ, हामीलाई केही भएकै छैन । सरकारले गरेका घोषित कुरालाई पनि हामी बेवास्ता गरिरहेका छौं । दोषारोपण गर्नमै खर्चिरहेका छौं समय ।

यो बेला घर नै हो अस्पताल, भान्सा नै हो औषधालय । घरमै रहौं, घरमै बसेर गरौं गर्न सकिने काम । सातदिने लकआउटले कर्फ्युको जस्तो रुप लियो भने घरभित्रै रहँदा हुनसक्ने मानसिक तनावबाट उन्मुक्त हुन पार्क, पुस्तकालय, देवालय, शिवालय आदि स्थानमा सीमित मानिस सुरक्षित भएर सुरक्षित गराउने उपायको अवलम्बन गरी सकारात्मक सोच र चिन्तनका लागि जुट्न सकिन्छ कि भन्ने लाग्छ ।

सरकारले सम्भावित संक्रमणलाई ध्यानमा राखेर लकआउटको घोषणा गरेको छ । कतिपय सीमा नाकामा अलपत्र परिरहेका दाजुभाइ दिदीबहिनीहरुको उद्धार पनि हाम्रा लागि चुनौती बनेर रहेका छन् । तिनको उचित व्यवस्थापनमा पनि सरकारले ध्यान दिन जरुरी छ । सडक बालबालिकाको अवस्था दयनीय छ, तिनबाट हुने संक्रमणको जोखिम र उचित व्यवस्थापन समयमै गर्न सकिएन भने अवस्था चिन्ताजनक र गम्भीर हुनसक्छ । यतातर्फ पनि सरकारको ध्यानाकृष्ट होस् । सबै तहबाट सहयोग र सद्भाव कायम रहोस् ।

अत्यावश्यक सेवाका कार्यालयहरू प्रभावकारी रुपमा सञ्चालन होउन् । त्यस क्षेत्रमा संलग्न कर्मचारीको सामाजिक सुरक्षा तथा अन्य सुविधाप्रति सरकारले प्रभावकारी नीति अवलम्बन गरोस् । कृतिम अभाव सिर्जना गर्नेमाथि तत्काल कारबाही होस् ।

चिकित्सकहरु दिनरात खटिरहेका छन्, चिकित्सकहरुको सम्मान गरौं । आत्मबल उच्च राख्न प्रेरित गरौं । ‘सेवा हि परमो धर्म’ भन्ने मान्यतालाई आत्मसात् गरौं । अनावश्यक, भ्रामक तथा सामाजिक मनोविज्ञानमा असर पर्ने सूचना र समाचार संप्रेषण नगरौं नगराऔं ।

हुरी आउनुपूर्व नै प्युरी टिपौं । अनावश्यक रुपमा दैनिक उपभोग्य वस्तुको भण्डारण नगरौं । कृत्रिम अभाव सिर्जना नगरौं । कालाबजारी गर्नेलाई कृबाही गरौं । प्रभावकारी अनुगमन गरौं । सामूहिक भावनाको विकास गरौं । सरकारी निकायका व्यक्तिहरु जिम्मेवार बनौं । गैरजिम्मेवार अभिव्यक्ति नदिऊँ ।

विदेशमा रहेका नेपालीलाई सजग र संयमित हुने सन्देश प्रवाह गरौं । सुस्वास्थ्यको कामना गरौं । बालबालिका र मातृत्व संरक्षणको निमित्त संवेदनशील बनौं ।

सरकारले गरेका निर्णय समयसापेक्ष, उपयोगी र सकारात्मक छन् । उक्त निर्णयको कार्यान्वयनमा सम्बद्ध पक्षलाई लागि पर्न अनुरोध गरौं । नीति, नियम र निर्णयको कार्यान्वयन गरौं, पालना गरौं ।

चैत ११ गतेका दिनसम्म आइपुग्दा कोरोना भाइरसका कारण मृत्यु वरण गर्नेको संख्या यस्तो छ :

चीन‑ संक्रमित : ८१,४९८ मृत्यु : ३,२७४ निको : ७२,८१९

इटाली‑ संक्रमित : ६३,९२७ मृत्यु : ६,०७७ निको : ७,४३२

अमेरिका‑ संक्रमित : ४३,९०१ मृत्यु : ५५७ निको : ०

स्पेन‑ संक्रमित : ३५,१३६ मृत्यु : २,३११ निको : ३,३५५

जर्मनी‑ संक्रमित : २९,०५६ मृत्यु : १२३ निको : ४५३

इरान‑ संक्रमित : २३,०४९ मृत्यु : १,८१२ निको : ८,३७६

फ्रान्स‑ संक्रमित : २०,१२३ मृत्यु : ८६२ निको : २,२०७

दक्षिण कोरिया‑ संक्रमित : ८,९६१ मृत्यु : १११ निको : ३,१६६

बेलायत‑ संक्रमित : ६,७२६ मृत्यु : ३३६ निको : १४०

भारत‑ संक्रमित : ४९९ मृत्यु : १० निको : ३४

नेपाल‑ संक्रमित : २ मृत्यु : ० निको : १

(स्रोत: जोन्स हप्किन्स विश्वविद्यालय)

हलुका र मनोविनोदपूर्ण कुरा गरेर भ्रम सिर्जना नगरौं । मानवीय धर्म निर्वाह गरौं । यो समय अनावश्यक प्रतिक्रिया दिएर ठूलो हुने होइन, संयम र सानो सेवाले ठूलो पुण्य कमाउने बेला हो । सही र सत्य तथ्य सूचना र समाचार सम्प्रेषण गर्न दिनरात खटिने पत्रकार र सूचना अधिकारीलाई सहयोग गरौं । हचुवाको भरमा आफैं सूचना दिने अधिकारी नबनौं । सूचनाको पुष्टि गरौं, स्रोत उल्लेख गरौं ।

घरभित्रको वातावरण सौहार्द्र, सहज, प्रिय र मितव्ययी बनाउने प्रयत्न सबैबाट जारी राखौं । योग, ध्यान, जप, प्राणायाम र अध्ययनमा समय व्यतीत गरौं । यो समय एकान्तबासको हो, आफूले आफैंलाई चिन्ने प्रयत्न गरौं । बाँचे संसार देखिन्छ, बचौं र बचाऊँ ।

हामी सहिष्णुताका पुजारी, सनातन धर्मका अनुयायी र वैदिक परम्पराको अनुशरण गरेर जीवनयापन गरेका नेपालीहरुले नै देखाउनु छ विश्वलाई कोरोना भाइरससँग लड्ने कला र चिनाउनु छ मानवीय विनाशको अन्त्य ।

यो तपोभूमि हो । आराध्य देव पशुपतिनाथको कृपापूर्ण वरदान हामीलाई छ । पशुपतिनाथले सबैको कल्याण गरुन् । जय होस् । शुभ होस् ।

प्रकाशित समय १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु