गृहपृष्ठ कोरोना संक्रमणविरुद्ध तयारी : प्रदेश १ मा विभिन्न समिति गठन
कोरोना संक्रमणविरुद्ध तयारी : प्रदेश १ मा विभिन्न समिति गठन
प्रदेश १ मा कोरोनाभाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न समितिहरु गठन भएका छन् ।
शनिबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समिति गठन गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीको संयोजकत्वमा क्वारेन्टाइन, परिवहन व्यवस्था तथा सुरक्षा व्यवस्थापन समिति गठन भएको छ ।
त्यसैगरी आइसोलेसन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापनका लागि सामाजिक विकासमन्त्री जीवन घिमिरेको संयोजकत्वमा समिति गठन भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश प्रसाद कुसियैतको संयोजकत्वमा दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समिति गठन भएको छ । गठन भएका समितिहरुमा सम्बन्धित निकायका प्रतिनिधि सदस्य रहेका छन् ।
कोरोना विरुद्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, तथा कर्मचारीहरुलाई अतिरिक्त सुविधा प्रदान गर्ने निर्णय भएकाे छ । बैठकले प्रदेशसभा सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा कोरोना विरुद्धको अभियानको संयोजन र अनुगमनको काम गर्न निर्देशन दिएको छ ।
यसैबीच मुख्यमन्त्री राईको अध्यक्षमा आजै बसेको प्रदेश १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको बैठकले प्रदेशका सुरक्षा समितिहरुलाई १ करोड ६८ लाख रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कोष सञ्चालक समितिको बैठकले नेपाली सेनालाई क्वरेन्टाइनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी, प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालयहरुलाई क्वारेन्टाइनसम्म र कोरोना अस्पतालसम्म पुर्याउने जिम्मेवारी तोकेको छ ।
त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अस्पताल र क्वारेन्टाइन क्षेत्रको सुरक्षा गर्ने, संक्रमितहरुको सुरक्षा र लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने जिम्मेवारी बैठकबाट तोकिएको छ ।
प्रकाशित समय १९:०८ बजे
















