गृहपृष्ठ विश्वभरि पञ्जाको माग बढेपछि उत्पादकलाई भ्याइ-नभ्याई

विश्वभरि पञ्जाको माग बढेपछि उत्पादकलाई भ्याइ-नभ्याई

नेपाली कामदार नभएपछि स्थानीय खोज्दै उत्पादक

Top Glove_NewsKarobar

विश्वका पाँचमध्ये एक पञ्जा निर्माता कम्पनी मलेसियाको टप ग्लोब कर्पोरेसन बीएचडीले युरोप र संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस प्रकोपको विस्तार हुँदै गएसँगै आफ्नो क्षमताभन्दा बढी माग आउन थालेपछि उत्पादनको अभाव हुने अवस्था आएको जनाएको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष लिम वी चाईले  विगत केही  हप्तायता  मुख्यःतया यूरोप र अमेरिकाबाट अर्डर आएको कम्पनीको उत्पादन क्षमताभन्दा लगभग दोब्बर भएको बताए ।  टप ग्लोब कर्पोरेसनले एक दिनमा २० करोड थान प्राकृतिक (नेचुरल)  र सेन्थेटिक रबर ग्लोभ उत्पादन गर्न सक्छ ।

पञ्जाको माग बढ्दै जान थालेपछि यसको आपूर्ति (सिपिङ)को समय बढाएको कम्पनीका अध्यक्ष  चाईले बताएका छन्  ।

हालसम्म विश्वका २०२ देशहरूमा ६ लाखभन्दा बढीमा कोरोनाभाइरसका संक्रमण देखापरिसकेको छ भने अत्यधिक संक्रमण भएका देशहरूको सूचीमा अमेरिकाले चीनलाई उछिनेको छ । यूरोपमा कोरोनाभाइरस संक्रमणका कारण मृत्युदर अधिक छ ।

“केही ग्राहकहरू अतालिएका छन्, सामान्यतया उनीहरूले एक महिनामा १० कन्टेनर माग गर्ने गरेकोमा अहिले अचानक उनीहरूको माग बढेर २० कन्टेनरसम्म पुगेको छ,” लिमले भने ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ‘व्यक्तिगत सुरक्षात्मक सामग्रीहरूका विश्वव्यापी अभाव’ भाइरस रोक्ने प्रयासको लागि सबैभन्दा जोखिमपूर्ण खतरामध्ये एक भएको बताएको छ ।

“निश्चित रूपमा अभाव छ, उनीहरूले सत प्रतिशत बढी अर्डर गरिरहेका छन्, हामी २० प्रतिशतमात्र बढाउन सक्छौं, त्यसैले करिब ५० देखि ८० प्रतिशत कमी छ,” उनले भने ।

लिमले यो असामान्य खरिद क्रम तीन महिनासम्म रहने र  एसियाली बजारबाट मागमा केही कमी आउन थाले पनि माग  नौ महिनासम्म अर्डर  सबल हुने अपेक्षा गरेका छन् ।

बढ्दो मागको सामना गर्नका लागि सो कम्पनीले पञ्जा आपूर्ति (डेलिभरी दिने) समयलाई ३० देखि कम्तिमा १५० दिनसम्म समायोजन गरेको छ ।

लिमले आफ्ना सबै ग्राहकहरूलाई उचित अनुपातमा अतिरिक्त पञ्जा प्राप्त होस् भन्ने कुराको सुनिश्चितता प्रदान गरिरहेको बताए । “हामी उनीहरूको मात्रा अनुसारको व्यवस्थापन गर्छौं, उनीहरूलाई प्रति ग्राहक यति भनेर सीमा तोक्छौं । हामीले व्यवस्थापन गर्नैपर्छ तर समाधान गर्नका लागि हाम्रा लागि यो राम्रो समस्या हो,” उनले भने ।

लिमका अनुसार कम्पनीले हरेक साता नयाँ मेसिनहरू थप गरिरहेको छ भने आफ्नो उत्पादन ३० प्रतिशतसम्म बढाउन सक्छ । यसै महिना टप ग्लोभले आफ्नो कारखानाको क्षमता उपयोग १० प्रतिशतबाट ९५ प्रतिशत बढाएको छ भने अप्रिलसम्म अधिकतम उपयोगको नजिकै पुग्ने अपेक्षा गरेको छ ।

नेपाली कामदारको अभाव

कम्पनीको पूर्ण क्षमतामा सञ्चालनका लागि कम्तिमा १ हजार कामदार चाहिन्छ । टप ग्लोभमा कार्यरत कामदारहरू सामान्यतयाः नेपालबाट जाने गर्छन्, तर यात्रामा लागेको प्रतिबन्धका कारण उसले अहिले मलेसियाबाटै कामदार लिने योजना बनाएको छ ।

“हामीलाई झन्डै २० प्रतिशत थप अतिरिक्त कामदारको आवश्यकता छ । यो अवधि (यात्रा प्रतिबन्ध) मा हामी नेपालबाट कामदारहरू ल्याउन असमर्थ  छौं ।  त्यसैले हामीसँग कुनै विकल्प छैन, हामीले विशेषगरी प्याकिङमा मद्दतका लागि केही स्थानीय कामदारहरू उपयोग गर्नुपर्ने हुन्छ, ” लिमले भने ।

शीर्ष ग्लोभले आफ्नो आपूर्ति श्रृंखला पूर्णरूपमा विविधतायुक्त भएको भन्दै आगामी केही साताभित्रमा निकास व्यवस्थापन भइसक्ने आशा व्यक्त गरेको छ । मलेसियाले अप्रिल १४ तारिखमा सकिने बन्दाबन्दी (लकडाउन) अवधिमा पनि आवश्यक वस्तु क्षेत्रका केही उत्पादकहरूलाई विशेष सर्तमा सञ्चालन जारी राख्न अनुमति दिएको छ ।  (एजेन्सी)

प्रकाशित समय १४:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु