गृहपृष्ठ कोरोना युद्धमा जित हारको अंकगणित
कोरोना युद्धमा जित हारको अंकगणित
सन् २०१९ को अन्त्य र सन् २०२० को सुरुवातसँगै देखापरेको कोरोनाभाइरस अर्थात कोभिड १९ ले अहिले विनाशकारी महामारीको रुप लिएको छ । आजसम्मको वा हालको पुस्ताले भोगेको यो अहिलेसम्मकै विनाशकारी महामारी हो । अप्रिल ६ सम्मको तथ्यांकअनुसार करिब ७० हजारले ज्यान गुमाइसकेको, १२ लाख ७४ हजार संक्रमित रहेको र २०८ देशमा फैलिसकेका कारण यसको प्रभाव कति रहन्छ भन्ने कुरा हालसम्म संशयमै छ । यसको प्रभाव मानवीय विनाश त छँदै छ, आर्थिक, राजनीतिक, सामाजिक र शासन पद्धतिको अनुशरणमा समेत पर्न सक्ने देखिन्छ । कोभिड १९ को जन्मभूमि वा उत्पत्ति स्थल चीनको बुहान भनिए पनि विश्व स्वास्थ्य संगठनले यसको आधिकारिकताको सम्बन्धमा भने स्पष्ट पार्न सकेको छैन ।
कोभिड १९ को प्रभाव कहाँ कहाँ पर्न सक्छ ?
आर्थिक प्रभाव
कोरोनाको स्थिति भयावह बन्दै जाँदा खाद्यान्न अभाव हुन सक्ने भयले विश्व बजारमा अत्यधिक मागको अवस्था सिर्जना भएको छ र सप्लाइ सक्सको अवस्थाको सिर्जना भएको छ । नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा समेत र हालसम्म कोभिड १९ संक्रमित ९ जनामात्र फेलापरेको मुलुकमा समेत सामान अभाव र दैनिक उपभोग्य सामग्रीको बजारमा अभाव र कालाबजारी भएको स्पष्ट रुपमा देख्न सकिन्छ । हुने खानेभन्दा पनि हुँदा खाने वर्गमा बिहान बेलुका हातमुख जोर्ने समस्याले गाँजेको छ । युरोपलगायतका राष्ट्रमा पनि कोभिड १९ को ठूलो र दीर्घकालीन असर पर्ने निश्चित छ । सुपर मार्केट, डिपार्टमेन्ट स्टोर्स र मलहरुमा मानिसको भीड र मूल्यवृद्विको अवस्था पनि उस्तै छ ।
हङकङलगायका राष्ट्रहरु सन् २०१९ देखि नै आर्थिक संकटको अवस्थामा रहेको र हाल अस्ट्रेलियालगायतका राष्ट्रमा पनि कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतदेखि ०.५ प्रतिशतसम्म गिरावट आउन सक्ने प्रक्षेपण गरिएको छ । तर, चीनको विश्व अर्थतन्त्रमा उत्पादनमूलक उद्योगमार्फत वर्चस्व कायम रहेका कारण हालको केही समय संकुचनको अवस्था विद्यमान रहे पनि विश्व उपभोग र र दिनानुदिन वस्तु प्रयोगमा मानवीय स्वभावका कारण कमी नआउने भएकाले उसको वस्तु मागमा अझ बढी बढोत्तरी आउने देखिएको छ । चीनको आर्थिक वृद्वि आगामी दिनमा पनि ६ प्रतिशतको हाराहारीमा हुने अर्थशास्त्रीहरुले प्रक्षेपण गरेका छन् । यसको अर्थ पूर्णरुपमा प्रभाव पर्दैन भन्न खोजिएको होइन किनकि आपूर्ति प्रक्रियामा नै असर पर्ने भएका कारण त्यसको प्रभाव भने निश्चिय नै पर्ने छ ।
चीनले विश्वको कुल ऊर्जा खपतको ठूला हिस्सा पेट्रोलियम पदार्थको प्रयोग गरिराखेको छ । तर, आपूर्ति प्रक्रियामा वा मागमा आउन सक्ने कमीको कारण आफ्ना उत्पादनमा सीधा असर पर्ने भएकाले आफ्ना उत्पादनमा परिमार्जन गर्न सक्ने वा कटौतीसमेत गर्न सक्नेछ, फलस्वरुप पेट्रोलियम पदार्थको प्रयोगमा कमी आउनेछ । त्यसको सीधा असर ओपेकमा आबद्ध राष्ट्रमा पर्न जानेछ र विश्वको आर्थिक क्रियाकलापमा असर पर्नेछ । त्यसैगरी विश्वमा चिनियाँ पर्यटनको संख्या सबैभन्दा धेरै रहेका कारण कोभिड १९ को असर स्वरुप उनीहरुको घुम्ने र खर्च गर्ने पद्धतिमा पनि परिर्वतन आउने निश्चय नै छ ।
अमेरिकी ठूला उद्योगधन्दा र मौद्रिक उपकरणमा समेत चिनियाँको अत्यधिक लगानी भएका कारण र अमेरिकी उद्योगधन्दाले सोचेअनुरुपको प्रतिफल दिन नसक्नुका कारणले त्यसको चेन असर भने निश्चय नै चिनियाँ अर्थतन्त्रमा पर्नेछ ।
राजनीतिक प्रभाव
हाल चीनको कोभिड १९ विरुद्धको एक प्रकारको लडाइँमा एकात्मक शासन पद्धति सही सावित भएको छ । त्यहाँ पनि विभिन्न तहका सरकार र भिन्न भिन्न पार्टी पद्धति भएको भए निर्णय प्रक्रिया आदिमा विवाद, लामो कानुनी प्रक्रिया, तहगत अनुमति प्रक्रिया भएको भए कानुनी अल्झन र प्रक्रियामुखी पद्धति हुन सक्थ्यो । जसका कारण लकडाउनलगायतका निर्णय गर्दा अनावश्यक समय र परिश्रम खर्चनु पर्ने अवस्था आउन सक्थ्यो । तर, पूर्णतया एकल शासन पद्धति र सम्पन्न मेडिकल सुविधाका कारण वुहानमा तीन महिनासम्म लकडाउन गर्न सरकार सफल भयो र कोभिड १९ विरुद्धको पहिलो चरणको युद्ध जित्न सफल भयो । त्यसैगरी अत्यधिक प्रजातन्त्रको प्रत्याभूत गरिएको राष्ट्रमा र अति मौलिक हक र अधिकारको प्रत्याभूत गरिएको राष्ट्रमा लकडाउन गर्नसमेत नीतिगत व्यवधान रहेको, मानवअधिकारलगायतका प्रश्न उठ्रन सक्ने भएका कारण कोभिड १९ विरुद्धको लडाइँ अझै कठिन पर्ने देखिएको छ । अर्कोतर्फ हक अधिकारको संरक्षण गर्दागर्दै विकसित राष्ट्रमा यसको प्रभाव अधिक देखिएको छ ।
महामारीलगायतका समय एकल निर्णय प्रक्रिया नै सर्वसिद्ध सावित हुने निर्णय चीनको हालको कदमले पनि देखाएको छ । यसको प्रभाव स्वरुप अन्य राष्ट्रमा पनि एकल शासन पद्धति वा नियन्त्रित सरकार पद्धतिको अवलम्बन गर्न उन्मुख नहोलान् भन्न सकिँदैन ।
शैक्षिक प्रभाव
हाल कोभिड १९ संकमणका कारण डेढ अर्ब मानिस शिक्षाको अवसरबाट वञ्चित भएका छन् । सम्पूर्ण शैक्षिक संघसंस्था, तालिम केन्द्रहरु, विद्यालय, विश्वविद्यालय बन्द छन् । नियमित परीक्षा प्रभावित भएको छ । शैक्षिक अनियमिताका कारण विद्यार्थीहरु एक कदम पछि पर्नेछन् । त्यसमाथि नकारात्मक र लामो बन्दको आर्थिक प्रभाव कस्तो पर्ला ती मौद्रिक मापनभन्दा बाहिरका कुरा हुन् । यसको मापन मुद्रामा हुन सक्दैन र दीर्घकालीन असर रहन्छ ।
सांस्कृतिक प्रभाव
मानव सभ्यताको सुरुवातसँगै मानवलाई एक अर्कामा एकीकृत गर्ने र भाइचाराको सम्बन्ध बनाइराख्न सहयोग र अपनत्व कायम गर्नमा धर्म, संस्कृति, पर्व, चाड, तिथि, रीतिरिवाज, परम्परा आदिले अहं भूमिका खेलेको हुन्छ । हालको अवस्थामा पारिवारिक माहोलबाहेक आफन्त, नातागोता, साथीभाइ, अग्रज, मान्यजन आदिसँग भेटघाट हुने साथै सुखदुःख अपनत्व बाँड्ने अवसरको अन्त्य भएको छ । महामारीको समयमा यो हुनै पनि पर्छ । तर यसप्रकारले कालान्तरको नतिजा भने एक्लोपन रुचाउने, भावना सेयर नगर्ने आदि र डरका कारण मानसिक रोगीसमेत बढ्न सक्ने अवस्था रहन्छ । त्यसका लागि यो महामारीको मुक्तिपश्चात विभिन्न सिर्जनात्मक क्रियाकलाप, मेलमिलाप कार्यक्रम, रचनात्मक क्रियाकलाप आदिको आयोजना गर्नुपर्ने आवश्यकता रहन सक्छ ।
श्रम बजारमा असर
श्रम बजारमा उत्पादनमूलक जनसंख्याको सक्रियता रहेको हुन्छ । लामो समय श्रम शक्तिको सदुपयोग नगरी रहनु वा बिना काम बस्नु भनेको राष्ट्रको निमित्त ठूलो घाटाको विषय हो । कोभिड १९ का कारण ठूलो संख्यामा बेरोजगारी बढ्ने, ठूला उद्योग, कल कारखानाको कर्मचारी अत्यधिक कटौती हुने र श्रम बजारमा ठूलो संख्यामा उत्पादकत्व घट्ने निश्चित छ । जसका कारण देशको कुल गार्हस्थ्य उत्पादनमा गिरावट त निश्चित नै आउनेछ, विश्वको आर्थिक वृद्धिमा समेत नकारात्मक असर पर्ने कुरा विश्व बैँक र अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रस्तुत गरिसकेका छन् ।
पुँजी बजारमा प्रभाव
कुनै पनि संघसंस्थाको वर्तमान अवस्थाको जानकारी र राष्ट्रको पुँजी परिचालनको अवस्था पुँजी बजारबाट प्रतिविम्बित हुन्छ । पुँजी बजारलाई देशको अर्थिक ऐनासमेत भन्ने गरिन्छ । आर्थिक संकुचनका कारण सम्पूर्ण बैँक, वित्तीय संस्था, जलविद्युत, उत्पादनमूलक उद्योग आदिमा घाटाको अवस्था सिर्जना हुनेछ । यसको दीर्घकालीन असर पुँजी बजारमा पर्नेछ । रुस र साउदी अरबको तेल युद्ध, संयुक्त राष्ट्र संघको सेनाको खाडीमा सम्मानजनक उपस्थिति पनि स्रोत परिचालन र शक्ति नियन्त्रणको नियुक्ति नै हो भन्न सकिने अवस्था हाल विद्यमान छ । त्यसैले पुँजीबजारमा पनि कोभिड १९ को प्रभाव रहने निश्चित नै छ ।
अन्त्यमा, चीनमा जसरी कोभिड १९ विरुद्ध जनता र राज्यको सहकार्यमा नियन्त्रणको कदम अगाडि बढेको छ, त्यसैगरी विश्व समुदाय नै यो भाइरसको महामारीबाट बच्न ऐक्यबद्धता जनाउँदै एकआपसमा एकीकृत हुनुपर्ने आजको आवश्यकता हो । यस दुःखद् घडीमा विकसित राष्ट्र समेत नसोचेको असर र प्रभावबाट गुज्रिरहेको अवस्थामा सबैले आ–आफ्नो क्षेत्रबाट सावधानी अपनाई अगाडि बढ्नुपर्ने अवस्था आएको छ । यो रोगको हालसम्म कुनै पनि औषधोपचार पत्ता नलागेको अवस्थामा सजगता नै यसको एक मात्र अचुक औषधोपचार हो । विपदको घडीबाट उन्मुक्तिपश्चात्, विभिन्न ध्रुवमा विभाजित विश्व नै एक धु्रवमा एकीकृत भई विश्व आर्थिक मञ्चमा उभिनुपर्ने अवस्था र वातावरण सिर्जना गर्नुपर्ने भावी आवश्यकता हुनेछ ।
प्रकाशित समय १२:०४ बजे

















