गृहपृष्ठ डर र चिन्तासँगै गहुँ काट्न धमाधम

डर र चिन्तासँगै गहुँ काट्न धमाधम

फाइल तस्बिर

कोरोना भाइरस (कोभिड- १९)को नियन्त्रण तथा रोकथामका लागि सरकारले देशभर लकडाउन घोषणा गरेको तीन साता पुरा हुन लाग्दैछ । लकडाउनले विपन्न र ज्यालामजदुरी गर्नेहरु सबैभन्दा बढी मारमा परेका छन् । यसका साथै खेतीपाती गर्ने कृषकहरु पनि लकडाउनले समस्यामा छन् ।

खेती लगाउने र पाकेको अन्नबाली थन्क्याउने काम उपयुक्त समयमै नगरे काम गर्नुको अर्थ हुन्न । सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा यतिखेर गहुँबाली काट्ने बेला हो । लकडाउनकै बीचमा पनि यहाँका किसानहरु भने गहुँ थन्क्याउन व्यस्त छन् ।

एकातिर कोरोनाको त्रास छ भने अर्कोतिर पाकेको गहुँ नभित्र्याए खेतमै झर्ने डर । खेतमा गहुँ पाकिसके पनि लकडाउन र कोरोनाको त्रासका कारण गहुँ भित्र्याउन समस्या भइरहेको कृषकहरु गुनासो छ । बेलैमा गहुँ काट्न नपाए भोकमरी लाग्नसक्नेप्रति उनीहरुको चिन्तित छन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका- ९ की कलशु चौधरीले त्रासै-त्रासमा गहुँ काटिरहेको बताइन् । ‘एक-दुई दिनमात्र ढिलो भयो भने सबै झर्छ । अनि के खानु । डराएर मात्र भएन,’ उनले भनिन् ।

लकडाउन नभएको भए यो समय अधिकांश किसान खेतमा हुन्थे । बिहानदेखि साँझसम्म गहुँ थन्क्याउन चटारो हुन्थ्यो । तर यो वर्ष भने सुनसान मात्र छैन, लकडाउनका कारण कृषकहरु विभिन्न समस्या झेल्न बाध्य छन् ।

गहुँ काटेर आँगनसम्म ल्याए पनि थ्रेसर नपाउँदा कृषकहरु चिन्तित छन् । थ्रेसर नपाएर समस्या भएको कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कृषक शिवराज चौधरीले बताए । ‘कतै थ्रेसर छैन । कतै डिजेल छैन । अब के गर्ने, गर्ने,’ उनले निराशा व्यक्त गरे ।

कैलाली र कञ्चनपुुरको दक्षिण-पूर्वी क्षेत्रको मुख्य बाली गहुँ हो । यहाँका अधिकांश स्थानीयको आम्दानीको मुख्य स्रोत नै गहुँ खेती हो । यसैबाट उनी वर्षभरिको खाद्यान्न पनि जोहो गर्छन् । गहुँ खेती काट्न कम्बाइन मेसिन र थ्रेसर सञ्चालनका लागि बजारमा डिजेल अभाव छ । समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्ने स्थानीय कृषक चरी डगौराले माग गरे ।

केही वर्षयता प्रायःजसोले थ्रेसरबाटै गहुँ काट्ने गरेका छन् । थ्रेसरबाट गहुँ काट्दा धेरै भीडभाडसमेत नहुने भए पनि डिजेल नपाउँदा ‘अब के गर्ने ?’ भन्ने पीर लागेको किसानहरु बताउँछन् । वर्षा भइहाले पाकेको गहुँ बाली बिग्रने चिन्तासमेत बढेको उनीहरुको भनाइ छ ।

प्रकाशित समय १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु