गृहपृष्ठ विविध आयामका विश्व आर्थिक संकट र कोरोनापछिको त्रास

विविध आयामका विश्व आर्थिक संकट र कोरोनापछिको त्रास

मानव जातिको इतिहासमा जब मान्छेहरु ढुंगेयुगमा थिए, त्यसबेलादेखि नै उनीहरु समूहमा बस्दै आएको पाइन्छ । भौतिक वस्तुको विकास भएको थिएन, त्यसैले लोभलालच पनि थिएन । समूहमै सिकार गर्ने, सानो‑सानो समूहमा सँगै बसेर आफू र आफ्नाको सुरक्षा गर्दै मानिसहरु जंगलमा जीवन निर्वाह गर्थे । समाजमा बस्ने हुँदा त्यसबेलादेखि नै मानिसले आफूलाई सामाजिक प्राणी भएको आभास गर्थे । समाजमा अलिक जान्नेबुझ्ने पाको मान्छेको मरण हुँदा वा समस्यामा पर्दा सिङ्गो समाज नै प्रभावित हुने गर्थ्यो, सारा समाज नै समस्यामा पर्थ्यो ।

अहिले एक्काइसौं शताब्दीमा पनि प्रविधिको उच्चतम विकाससँगै सारा संसार एउटा ग्लोबल भिलेजमा परिणत भएको छ । संसारका कुनै पनि ठूला मुलुक या राष्ट्र संकटमा पर्दा वा उसको आर्थिक अवस्था बिग्रँदा अन्य मुलुक पनि त्यसबाट अछुतो रहन सक्दैनन् । यस्ता कयौं परिस्थिति मान्छेले विगतदेखि नै झेल्दै आएका छन् र त्यस परिस्थितिबाट उम्केका पनि छन् ।

सन् १९२९ ताका मानव इतिहासकै सबैभन्दा ठूलो आर्थिक मन्दी विश्वले सामना गर्नुपर्‍यो, जसलाई हामी ‘द ग्रेट डिप्रेसन’ भन्ने गर्छौं । सन् १९२० देखि १९२८ सम्म अमेरिकाले उत्पादन क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको थियो । विशेषगरी अटो मोबाइल क्षेत्र, दैनिक उपभोगमा आउने उपकरणहरु जस्तै टेलिफोन, टेलिभिजन, वासिङ मेसिन आदि ।

यी वस्तुको ठूलो उत्पादन भएसँगै रोजगारीका थुप्रै अवसर सिर्जना भए । त्यसबेला ‘आपूर्तिले आफैँ माग सिर्जना गर्छ’ भन्ने अर्थशास्त्रीय मान्यता थियो । तर, ‘मास प्रोडक्सन’को अनुपातमा माग न्यून भएपछि आपूर्ति व्यवस्था असन्तुलित भयो । सन् १९२९ ताका यी उत्पादन भएका वस्तुको मागमा भारी गिरावट आयो । कयौं उद्योग कलकारखाना बन्द भए, लाखौँ मानिस बेरोजगार भए । अमेरिकाको आयात‑निर्यात व्यापार विश्वव्यापी भएको हुँदा संसारका अधिकांश देश यसबाट प्रभावित भए । विश्व अर्थतन्त्र आर्थिक मन्दीको चपेटामा पर्‍यो ।

यस्तै अर्को ठूलो आर्थिक संकट विश्वले सन् २००८ मा खेप्यो, जसलाई हामी ‘द हाउजिङ क्राइसिस’ भन्ने गर्छौं । सन् १९९६ देखि २००१ सम्म अमेरिकी इन्टरनेटमा ठूलो क्रान्ति आयो (डट कम बुम) । त्यससँगै त्यहाँका धेरै प्राविधिक कम्पनीमा मान्छेले ठूलो लगानी गरे । सन् २००२ मा अमेरिकी सेयर मार्केटमा भारी गिरावट आयो । मान्छेले आफ्नो पैसा मार्केटबाट धमाधम निकाले, जुनबेला अमेरिकी बैंकमा कर्जाको ब्याजदर जम्मा १ प्रतिशत हाराहारीमा थियो, जसका कारण बैंकमा पैसा राख्नु उचित थिएन ।

त्यसबेला घरजग्गा कारोबार अप्रत्यारिलो ढंगले मौलाएको देखेर धेरै मान्छेले आफूसँग भएको सम्पूर्ण पैसा र बैंकबाट जम्मा १ प्रतिशत ब्याजदरको फाइदा उठाउँदै धमाधम घर बनाउन र किन्न थाले । तर, आम जनताले के कुराको ख्याल गरेनन् भने त्यो १ प्रतिशत ब्याजदर समायोज्य (adjustable) थियो, जुन समयको कालखण्डसँगै बढेर जाने थियो । अझ नाफाको चक्करमा बैंकले त्यो समयमा थुप्रै व्यक्तिको आयस्रोत नहेरी दिने (sub prime loan) लोन प्रवाह गरेको थियो । सन् २००७ सम्म आइपुग्दा त्यो ब्याजदर ५.६ प्रतिशतसम्म आइपुगेको थियो । पहिले १ प्रतिशत ब्याजदर भनेर लिएको ऋणको ब्याजदर उच्च भएपिछ ऋणीहरू ब्याज र किस्ता दुबै तिर्न नसक्ने अवस्थामा पुगे ।

ऋण तिर्न नसक्नेको घर बैंकले लिलाम गरेर बेच्ने प्रक्रिया अघि बढाउन थाल्यो तर यस्ता ऋणीको संख्या अत्यधिक भएकाले धेरै घर बिकेनन् । अन्ततोगत्वा बैंकमा चरम तरलता बढेर गयो र विश्वभर नै क्यास फ्लोमा अत्यधिक कमीका आई आर्थिक मन्दी छायो ।

माथि उल्लेख गरिएका दुबै आर्थिक संकटलाई एउटै पाटोमा राखेर हेर्ने हो भने आर्थिक संकटले लगाएको घाउको अवस्था हेरेर यसको असर विश्वका धेरै मुलुकमा केही वर्षसम्मै परेको थियो । त्यसैगरी अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणसँगै अब विश्वको अर्थतन्त्र कता जाला ! यसले आर्थिक गतिविधिमा कत्तिको गहिरो घाउ बनाउला ! भन्ने जिज्ञासा आमजनतामा हुनु स्वाभाविक हो । अहिलेको अवस्थामै कोरोनाबाट यति नै क्षति पुग्छ, यति नै अवधिसम्म यसको प्रभाव रहन्छ भन्ने कुरा किटान गरेर भन्न सकिन्न ।

अहिले विश्वका अधिकांश मुलुक कोरोनोको प्रभाव रोक्न सिङ्गो देशलाई नै लकडाउन गरेर बसेका छन् । विश्वव्यापी रुपमै लकडाउन भएसँगै धेरै कलकारखाना ठप्प छन् । आर्थिक गतिविधि पूरै प्रभावित छ । कयौँ मान्छे बेरोजगारीको फन्दामा परेका छन् । धेरै अर्थशास्त्री विश्व अर्थतन्त्रमा कोरोना महामारीको कति असर गर्छ भन्ने लकडाउन खुलेको दुई‑चार महिनामा उद्योगधन्दाले कसरी गति लिन्छन् , राज्यले कसरी आम व्यवसायी, किसान र उद्योगीलाई प्रोत्साहन गर्छ भन्ने कुरामा निर्भर गर्ने बताउँदै आएका छन् । कोरोनाको त्रास जति छिटो सकिएर जीवन आम ढंगबाट चल्न थाल्छ त्यति नै आर्थिक संकटमा कमी आउने उनीहरुको तर्क छ । त्यसैले सम्पूर्ण राष्ट्रहरुले जतिसक्दो विज्ञलाई लगाएर आगामी दिनको तयारी गर्दैनन्, खतरा त्यति नै बढेर जाने निश्चित छ ।

(लेखक दाहाल नेपाल इन्जिनियरिङ कलेजमा अध्ययनरत छन् ।)

प्रकाशित समय १३:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु