गृहपृष्ठ नेपाल भित्रने रेमिट्यान्स १४ प्रतिशतले घट्छ : विश्व बैंक

नेपाल भित्रने रेमिट्यान्स १४ प्रतिशतले घट्छ : विश्व बैंक

money_Newskarobar

विश्व बैंकले कोरोना भाइरसजन्य महामारी र त्यसको विस्तार रोक्नका लागि लगाइएको घरबन्दीका कारण यस वर्ष नेपालमा भित्रने रेमिट्यान्स १४ प्रतिशतले घट्ने जनाएको छ ।

गत आर्थिक वर्ष २०७५/७६ मा भित्रिएको ८ खर्ब ६९ अर्ब रुपैयाँबराबरको रेमिट्यान्समा १४ प्रतिशतले गिरावट आउँदा यस वर्ष करिब ७ खर्ब ५६ अर्ब रुपैयाँबराबरमात्र रेमिट्यान्स भित्रने देखिएको छ । यो आईएमएफले गरेको प्रक्षेपणबराबर हो।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को आन्तरिक ‘स्टाफ मूल्यांकन’मा भुक्तानी सन्तुलन तथ्यांकका आधारमा यस वर्ष ७ अर्ब ३५ करोड अमेरिकी डलरमात्र रेमिट्यान्स भित्रने जनाएलगत्तै विश्व बैंकको नयाँ अध्ययन सार्वजनिक भएको हो ।

सन् २०१९ मा नेपालमा ८ अर्ब १२ करोड ८० लाख अमेरिकी डलरबराबरको रेमिट्यान्स भित्रिएको बैंकको अनुमान छ । यो सन् २०१८ भन्दा करिब २ प्रतिशत कम रहेको बैंकको प्रतिवेदनमा उल्लेख छ । बैंकले सन् २०२० मा नेपालमा कति रेमिट्यान्स भित्रन्छ भन्ने रकम भने खुलाएको छैन ।

बैंकले पनि आईएमएफको भुक्तानी सन्तुलन तथ्यांकका आधारमा थप आफ्ना कर्मचारी आकलन स्रोतका रूपमा उल्लेख गरेको छ ।

बैंकले विश्वव्यापी रुपमा कोभिड–१८ महामारी र यसलाई रोकथामका लागि अबलम्बन गरिएको यात्रा प्रतिबन्ध र घरबन्दीका कारण विश्वभरिकै रेमिट्यान्स प्रवाह २० प्रतिशतले घट्ने जनाएको छ । यो  इतिहासमै सबैभन्दा उच्च अंकको रेमिट्यान्स प्रवाहमा हुने गरेको गिरावट हो ।

श्रम गन्तव्य मुलुकहरूमा कोभिड-१९ ले उत्पन्न गरेको आर्थिक संकटका कारण आप्रवासी कामदारहरूले रोजगारी र आफ्नो आय आर्जन गुमाउने अवस्था आएकाले रेमिट्यान्समा गिरावट आउने बैंकले जनाएको छ ।

कम र मध्यम आय भएका देशहरू (एलएमआईसीहरू)मा कम आयआर्जन भएका परिवारहरूका लागि महत्वपूर्ण स्रोतका रूपमा रहँदै आएको  रेमिट्यान्समा १९.७ प्रतिशतसम्मले गिरावट आउने बैंकको प्रतिवेदनमा उल्लेख छ ।

रेमिट्यान्सले कम र मध्यम आय भएका देशहरूमा गरिबी निवारणमा उल्लेख भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै बैंकले  रेमिट्यान्सको गिरावटले  पोषण, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा  गरिने  खर्च संकुचन आउँदा विपन्न परिवारका जीविकामा बहु आयामिक प्रभाव पार्ने उल्लेख गरेको छ ।

विश्वव्यापी आर्थिक मन्दी र तेलको मूल्यमा आएको गिरावटका कारण दक्षिण एसियामा रेमिट्यान्सको प्रवाह २२ प्रतिशतले घटेर १ खर्ब ९ अर्ब अमेरिकी डलरमा झर्ने बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कोरोना भाइरसजन्य विश्व मन्दी र यात्रामा लगाइएको प्रतिबन्धका कारण आप्रवासी कामदारहरूको आउनेजाने क्रम रोकिएपछि यसले रेमिट्यान्स प्रवाहमा संकुचन ल्याउने बैंकले जनाएको छ ।

यद्यपि, स्थितिमा सुधार आएसँगै सन् २०२१ मा भने क्षेत्रको रेमिट्यान्स प्रवाह ५.८ प्रतिशतले बढेर १ खर्ब १५ अर्ब डलर पुग्ने प्रतिवेदनमा उल्लेख छ ।

बैंकले आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव अमेरिका, बेलायत र युरोपमा बढी पर्ने भएकाले त्यहाँबाट प्राप्त हुने रेमिट्यान्स तथा विश्वव्यापी मागमा आएको संकुचनका कारण तेलका मूल्यमा भएकोे गिरावटले गल्फ कोअरेसन काउन्सिल (जीसीसी)का सदस्य देशहरू र मलेसियाबाट प्राप्त हुने रेमिट्यान्स प्रभावित हुने जनाएको छ ।

बैंकद्वारा शुक्रबार सार्वजनिक ‘माइग्रेसन एन्ड रेमिट्यान्स ब्रिफ’का अनुसार दक्षिण एसियाली मुलुकहरूमध्ये कोभिड–१९ जनित विश्व महामन्दीका कारण भारतमा सबैभन्दा धेरै २३ प्रतिशतले रेमिट्यान्समा कमी आइ ६४ अर्ब अमेरिकी डलरमा खुम्चने छ भने पाकिस्तानमा पनि २३ प्रतिशतले नै घटी १७ अर्ब डलरमात्र भित्रने छ ।

यस्तै बंगलादेशमा २२ प्रतिशतले गिरावट आइ १४ अर्ब अमेरिकी डलरमा रेमिट्यान्स खुम्चिदा श्रीलंकामा १९ प्रतिशतले गिरावट आउने जनाएको छ ।

प्रकाशित समय १२:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु