गृहपृष्ठ मुद्रा कोषले भन्यो– नेपालको वृद्धिदर १ प्रतिशतमात्रै

मुद्रा कोषले भन्यो– नेपालको वृद्धिदर १ प्रतिशतमात्रै

IMF Projection Cuts_NewsKarobar

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना भाइरसजन्य महामारी (कोभिड–१९) र त्यसको कारणले उत्पन्न आर्थिक संकटका कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १ प्रतिशतमात्रै रहने नयाँ प्रक्षेपण जारी गरेको छ ।

यो यसअघि मुद्रा कोष स्वयंले वर्ल्ड इकोनोमिक आउटलुक (अप्रिल २०२०)मा गरेको प्रक्षेपण र केन्द्रीय तथ्यांक विभागले गरेको प्रारम्भिक अनुमानभन्दा १.५ प्रतिशत कम हो ।

मुद्रा कोषले नेपालका लागि करिब २६ अर्ब रुपैयाँको संकटमोचक ऋण सहायता (द्रूत ऋण सुविधा–आरसीएफ) स्वीकृतिसँगै जारी गरेको नेपालको समष्टीगत आर्थिक परिसूचकमा वृद्धिदरमा कटौती गरिएको हो ।

नयाँ अनुमान विश्व बैंक नेपाल कार्यालयले गरेको प्रक्षेपणभन्दा पनि कम हो । विश्व बैंकले कम्तिमा १.५ प्रतिशत वृद्धिदर रहने बताएकाो थियो ।

मुद्रा कोषद्वारा जारी वर्ल्ड इकोनोमिक आउटलुकमा यस वर्ष नेपालको आर्थिक वृद्धिदर २.५ प्रतिशत रहने उल्लेख थियो ।

त्यसअघि मुद्रा कोषकै आर्टिकल फोर प्रतिवेदनले यस वर्ष नेपालको वृद्धिदर ६ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको थियो भने सरकारले ८.५ प्रतिशतकै वृद्धिदर हासिल हुने दाबी गर्दै आएको थियो ।

तथ्यांक विभागले पनि कोरोना भाइरस महामारीका कारण आर्थिक गतिविधि वैशाख १५ गतेसम्म खुम्चिने अनुमानका आधारमा प्रारम्भिक प्रक्षेपण गरेको हो ।

लकडाउन पाँच हप्ताभन्दा अधिक लम्बिएसँगै त्यसले आर्थिक गतिविधि संकुचित भइसकेको छ ।
सरकारले कोरोना भाइरस महामारी फैलनुभन्दा अगाडि पनि आर्थिक गतिविधिमा क्रियाशीलता सिर्जना गर्न नसकेका कारण अर्थशास्त्रीहरूले आर्थिक वृद्धिदर ५ देखि ६ प्रतिशत खुम्चने बताउँदै आएका थिए ।

मुद्रा कोषले चालू आर्थिक वर्ष (२०१९/२०)मा मात्र नभइ आगामी वर्ष २०२०/२१ मा पनि नेपालको वृद्धिदर ३.५ प्रतिशतमा खुम्चने नयाँ प्रक्षेपण जारी गरेको छ । यो अप्रिलमा गरिएको प्रक्षेपणभन्दा १.५ प्रतिशत नै कम हो ।

अप्रिलको प्रक्षेपणमा आगामी वर्ष नेपालको वृद्धिदर ५ प्रतिशत रहने उल्लेख थियो भने आर्टिकल फोर प्रतिवेदन ५.७ प्रतिशत हुने उल्लेख थियो ।

मुद्रा कोषले यस वर्ष नेपालको मूल्य वृद्धिदर ७.५ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहीबारमात्रै संसदको लेखा समितिमा मुद्रास्फीति दर नियन्त्रणभन्दा बाहिर जाने बताइसकेका छन् ।

यो पनि पढ्नु होस्ः

आईएमएफले नेपाललाई संकट टार्न झन्डै रु.२६ अर्ब ऋण दिने
अतिरिक्त सहयोग माग्दै अर्थमन्त्रीले आईएमएफलाई लेखे चिठ्ठी

नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतबीचमा : विश्व बैंक

नेपालको आर्थिक वृद्धिदर झन्डै २ प्रतिशतले घट्ने

 

प्रकाशित समय १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु