गृहपृष्ठ अमेरिकन फौजी किराको संक्रमण नियन्त्रणबाहिर, प्रदेश सरकारसँग सहयोग माग
अमेरिकन फौजी किराको संक्रमण नियन्त्रणबाहिर, प्रदेश सरकारसँग सहयोग माग
उदयपुरका किसानले लगाएको मकैबाली अमेरिकन फौजी किराले सखाप पारेको छ । किराको संक्रमण नियन्त्रणबाहिर जान थालेपछि त्रियुगा नगरपालिकाले प्रदेश सरकारसँग सहयोग मागेको छ ।
अहिलेसम्म ३ हजार १ सय हेक्टरमा लगाएको चैते मकैबाली फौजी किराले नष्ट गरेको छ । धान, मकै किराले नष्ट गर्न थालेपछि त्रियुगा नगरपालिकाले अमेरिकन फौजी किरा नियन्त्रणका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
संक्रमण सुरु हुन साथ नियन्त्रणको प्रयास गरे पनि सम्भव नभएको नगर प्रमुख बलदेव चौधरीले बताए । उनले भने, ‘एका पट्टिबाट नियन्त्रण गर्दै गयो, अर्को तर्फबाट संक्रमण हुदै जाने भएकाले नियन्त्रण प्रयास असफल भएपछि प्रदेश सरकार गुहारेका हौँ । संक्रमण हाम्रो नियन्त्रणबाहिर गएको छ । नियन्त्रणका लागि विज्ञ सहितको टोली र औषधि तत्काल पठाइ दिन प्रदेश सरकारसँग माग गरेका छौँ ।’
विज्ञ र औषधिको अभावकै कारण संक्रमण रोक्न कठिनाइ भएको नगर प्रमुख चौधरीको भनाइ छ । ‘हामीलाई कोरोना भाइरसको समस्या त छँदै छ । अमेरिकन फौजी किराले किसानको समस्या बढेको छ । त्यसैले दुवै संक्रमणलाई एकै साथ नियन्त्रणमा लिन गाह्रो भयो,’ उनले भने ।
कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख नरनाथ रेग्मीका अनुसार अमेरिकन फौजी किराले बेलका, चौदण्डीगढी, त्रियुगा, कटारी नगरपालिका, ताप्ली, उदयपुरगढी, रौतामाई गाउँपालिका गरी ३ हजार १ हेक्टरमा लगाएको मकैबारी नष्ट गरेको छ । उनका अनुसार लिम्चुङबुङ गाउँपालिको तथ्याङ भने आएको छैन ।
फौजी कीराले मकैको गुभोभित्र पसेर कलिलो पात खाने गरेको छ । देशभर लकडाउनको चिन्ता भइरहेको बेला किसानलाई भने फौजी किराको चिन्ताले सताइएको छ । भर्खर भुईं छोड्दै गरेको मकै, हरियो देखिँदै गरेको धान खेती र तरकारी खेतीमा फौजी कीराको संक्रमण देखिएपछि यहाँका किसान चिन्तित भएका हुन् । मेहनत गरेर लगाएको खेती धमाधम नष्ट हुँदै जान थालेपछि किसानलाई लकडाउनभन्दा पनि खेतीको चिन्ताले सताएको छ ।
मकै तथा तरकारीजस्ता हिउँदे बाली र डाले घाँसमा फौजी कीराले आक्रमण गरेर क्षति पुर्याउन थालेपछि किसानलाई भोकमारीको चिन्ता थपिएको निमित्त प्रमुख रेग्मीले बताए । मकै, धानबालीको पात र जरा धमाधम किराले खान थालेपछि विरुवा मर्न थालेको उनको भनाइ छ ।
‘मकैको बिरुवा र धान फौजी कीराको आक्रमणले सखाप हुन थालेको छ,’ किसान महासंघका अध्यक्ष सोमबहादुर दनुवारले भने, ‘नियन्त्रण र क्षतिपूर्तिका लागि सरोकारवाला निकायले चासो दिनु पर्छ । हैन भने किसान भोकभोकै बस्नु पर्ने दिन आउन सक्छ ।’
पशुका लागि लगाएको डाले घाँसहरुमा समेत किराले आक्रमण गरेपछि पशुपालन गर्ने कृषक पनि यसको प्रत्यक्ष सिकार बनेका छन् । १ महिना अघिदेखि सुरु भएको फौजी कीराको प्रकोप नियन्त्रणमा आउन नसकेको उनी बताउँछन् । नियन्त्रणका प्रयास भए पनि पूर्ण सफल भइ नसकेको ज्ञान केन्द्र गाईघाटमा निमित्त प्रमुख रेग्मीले बताए । किराको प्रकोप नियन्त्रण गर्न कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर फौजी कीरा हो भन्ने यकिन गरि प्रदेश सरकारबाट ल्याएको किटनासक विषादी वितरण गरिएको बताए ।
‘केही मात्रामा विषादीसमेत उपलब्ध गराएको भए पनि त्यतिले मात्र नपुग्ने भएकाले किसान आफै र स्थानीय तहहरूलाई समेत औषधि खरिद गर्नका लागि अनुरोध गरेका छौँ,’ रेग्मीले भने । कृषि ज्ञान केन्द्र उदयपुरले सबैभन्दा बढी विषादी बेलका नगरपालिकालाई उपलब्ध गराएको निमित्त प्रमुख रेग्मीले जानकारी दिए । उनका अनुसार अमेरिकन फौजी किराका लागि अनुकुल मौसम भएकाले पनि यसले फैलिने मौका पाएको हो । सुक्खा मौसम तथा खरेडीमा चाँडोभन्दा चाँडो अमेरिकन फौजी किरा फैलिने गरेको उनले बताए । ‘पानी परेको भए अमेरिकन फौजी किराले धेरै संक्रमण गर्दैन्थ्यो र फैलिन सक्दैथ्यो । पानी लाग्ने खेतहरुमा पानी लगाएर पनि नियन्त्रण प्रयास गरेका छौं,’ निमित्त रेग्मीले भने ।
अमेरिकन फौजी किराको लार्भा जमिनमुनि बस्ने भएकाले पानीले त्यसलाई मार्ने र फैलिन नदिने गरेको उनको भनाइ छ । यसको लाभा जमिनमुनि बस्ने भएकाले पनि असारमा लगाउने धान बालीमा समेत असर गर्ने दावी गरे । उनले भने, ‘अमेरिकन फौजी किरा मार्न घरेलु रुपमा गाईको गहुँत, खुर्सानीको धुलो र सुर्तिलाई मिलाएर १५/१६ दिनसम्म कुवाउन सके विषादी हुने र त्यसको प्रयोगले पनि नियन्त्रण गर्न सकिने बताए । नत्र इमामेक्टिन बेन्जोयट नामक विषादी प्रयोग गर्नु पर्ने उनको सुझाव छ ।
प्रकाशित समय २०:४५ बजे
















