गृहपृष्ठ पीसीआर मेसिन र कर्मचारीको क्षमताप्रति विश्वस्त हुन आग्रह
पीसीआर मेसिन र कर्मचारीको क्षमताप्रति विश्वस्त हुन आग्रह
पीसीआर परीक्षण ल्याब । (फाइल तस्बिर)
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको टोलीले भारतबाट आएर आठबिस नगरपालिका, दैलेखमा रहेको लक्ष्मी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकाहरुको गत ३ गते स्वाब संकलन गरे । क्वारेन्टिनमै पुगेर स्वाब संकलन गरिका ३९ जनामध्ये ३५ वर्षीय एक युवकको रिपोर्ट पोजेटिभ देखियो । बाँकी ३८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।
निर्देशनालयले क्रस चेकको लागि ति युवकको नमूना प्रदेश ५, बाँकेको नेपालगञ्जमा पठायो । त्यहाँ पनि उनको रिपोर्ट पोजेटिभ नै आयो । जब पीसीआर मेसिनमार्फत कर्णालीमै परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आइसकेको थियो । क्रस चेकको लागि बाहिर पठाउँदा कर्णालीमा रहेको पीसीआर मेसिनको विश्वसनीयतामाथि सामाजिक सञ्जाल लगायतमा प्रश्न चिन्ह खडा भयो ।
कर्मचारीको क्षमता र मेसिनको गुणस्तरमाथि शंका गर्दै धेरैले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखे । पोजेटिभ रिपोर्ट आए मात्रै क्रस चेक गर्नुपर्ने हो ? नेगेटिभ रिपोर्टलाई क्रस चेक गरिन्छ कि गरिँदैन ? सबै रिपोर्ट क्रस चेक गर्नुपर्ने हो ? या केही रिपोर्ट गरेमात्रै हुन्छ ? जस्ता प्रश्नहरु सर्वसाधारणमाझ उब्जिएका छन् ।
प्रयोगशालाको प्रोटोकलअनुसार एउटा मेसिनमा परिक्षण गरिएको रिपोर्टलाई क्रस चेक गर्नुपर्ने हुन्छ, तर पोजेटिभको मात्रै हो कि नेगेटिभ रिपोर्टको पनि क्रस चेक भएको छ भन्ने प्रश्न सबैको मनमा उब्जिएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए । ‘पहिलोपटक कोरोना पोजेटिभ रिपोर्ट क्रस चेकको लागि बाहिर पठाइएको खबर आयो,’ उनले भने, ‘तर नेगेटिभ रिपोर्टको समेत क्रस चेक भएको खबर बाहिर नआउँदा सबैमा एकखालको त्रास फैलिएको हो ।’
स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेश प्रयोगशालाका ईञ्चार्ज ओम आचार्यले भने यसअघि नेगेटिभ रिपोर्टको समेत क्रस चेक गरेको जानकारी दिए । हालसम्म पीसीआर मेसिनबाट गरिएको कोरोना परीक्षणबाट आएका २५ वटा नेगेटिभ रिपोर्टको समेत क्रस चेक गरिसकेको र सबैको रिपोर्ट पुनः नेगेटिभ नै आएको उनले बताए । ‘कर्णालीमा रहेको पीसीआर मेसिन र कर्मचारीको गुणस्तरीयतामा कुनै शंका छैन,’ इञ्चार्ज आचार्यले भने, ‘आन्तरिक गुणस्तर र विश्वसनीयताको लागि मात्र केही नेगेटिभ र पोजेटिभ रिपोर्टको क्रस चेक गरिएको हो ।’
अब पोजेटिभ देखिने केही रिपोर्टहरुको क्रस चेक गरेपछि बाहिर नपठाउने उनले बताए । ‘ल्याबको प्रोटोकलले समेत पोजेटिभ र नेगेटिभ दुवै रिपोर्टको क्रस चेक गर्नुपर्ने भन्छ । सबै रिपोर्टलाई भने क्रस चेक गर्नुपर्दैन,’ उनले कारण बताए । क्रस चेकको लागि आन्तरिक कमजोरी केही पनि नभएको र ल्याबको प्रोटोकलअनुसार नै आफूहरुले काम गरेको भन्दै उनले शतप्रतिशत विश्वस्त हुन आम नागरिकलाई आग्रह गरे ।
प्रकाशित समय २०:१५ बजे
















