गृहपृष्ठ १०४ मेगावाट बिजुली र १४६८ किमी सडक थपियो

१०४ मेगावाट बिजुली र १४६८ किमी सडक थपियो

९० प्रतिशत जनसंख्यामा विद्युत् पुग्यो

Economic Survey_NewsKarobar

चालू आर्थिक वर्षमा मुलुकभित्र १०४ मेगावाट विद्युत् र १४६८ किमी सडक थपिएको छ । थपिएको सडकमध्ये ५५९ किलोमिटरमात्रै कालोपत्रे छ ।

अर्थमन्त्रालयद्वारा मंगलबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०७७ अनुसार चालू आर्थिक वर्षको पहिलो ८ महिनाभित्र १४६८ किलोमिटर सडक थपिएको छ । यो गत आर्थिक वर्षको तुलनामा निकै कम हो, गत आर्थिक वर्षभरिमा २ हजार ७९१ किलोमिटर सडक थपिएको थियो ।

यसमध्ये पनि चालू वर्षमा बनेको नयाँ सडक २५२ किलोमिटरमात्रै हो भने गत वर्ष ४४० किलोमिटर नयाँ सडक विस्तार भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा ९७१ किलोमिटर थपिएको थियो ।

विश्व्यापी रूपमा कोरोना भाइरस महामारी सुरु हुनुभन्दा अगाडि नै मुलुकको विकास प्रक्रिया सुस्त भएकाले यस वर्ष सडक थपिने अनुपात कम भएको हो ।

गत आर्थिक वर्षमा ९९८ किलोमिटर सडक कालोपत्रे भएकोमा यस वर्ष यो अनुपात ५५९ किलोमिटरमा मात्रै रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । चैतपछि कोरोना भाइरस महामारीको विस्तार रोक्न घरबन्दी अबलम्बन गरिएकाले अब सडक विस्तार हुने सम्भावना कम छ ।

आर्थिक सर्वेक्षणअनुसार मुलुकमा राष्ट्रिय सडक सञ्जालको कुल सडक ३३ हजार ३४७ किलोमिटर छ भने स्थानीय स्तरमा निर्माण भएको सडक सञ्जाल ६१ हजार ३३५ किलोमिटर पुगेको छ ।

स्थानीय स्तरमा निर्माण भएको सडकमध्ये ३ हजार ९५० किलोमिटरमात्रै कालोपत्र छ भने १३ हजार ५३८ किलोमिटर ग्राभेल र ४३ हजार ९०७ किलोमिटर धुले/कच्ची सडक छ । यीमध्ये आधामात्रै सवारी साधन सञ्चालन योग्य छन् ।

९० प्रतिशत जनसंख्यामा विद्युत् पुग्यो

सरकारले ९० प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको दाबी गरेको छ । आर्थिक सर्वेक्षणले गत वर्षको तुलनामा करिब २ प्रतिशत नेपालीको मात्र विद्युत् पहुँच बढेको देखाएको हो ।

सर्वेक्षणअनुसार सबैभन्दा धेरै बागमतीमा ९५.८३ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा केबल २७.७४ प्रतिशत जनसंख्यामा मात्रै विद्युत् पहुँच छ ।

प्रदेश नं १मा ८६.३ प्रतिशतमा, प्रदेश नं २ मा ८७.२५ प्रतिशतमा, गण्डकीमा ८७.४८ प्रतिशत, प्रदेश नं ५ मा ८९.०७ प्रतिशतमा र सुदूरपश्चिमा ६७.३३ प्रतिशतमा विद्युत् पहुँच पुगेको सर्वेक्षणमा उल्लेख छ ।

चालू आर्थिक वर्ष २०७६/७७ को फागुन मसान्तसम्म मात्रै राष्ट्रिय प्रशारण लाइनमा १०४ मेगावाट विद्युत् थपिएको छ । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा १ हजार २५१ मेगावाट विद्युत् उत्पादन हुने गरेको यस वर्षको फागुन मसान्तसम्ममा १ हजार ३५५ मेगावाट विद्युत् उत्पादन हुन थालेको हो ।

आन्तरिक रुपमा उत्पादित विद्युत्मध्ये जलविद्युतबाट १ हजार २३३ मेगावाट, थर्मल प्लान्टबाट ५४ मेगावाट तथा वैकल्पिक ऊर्जाबाट ६८ मेगावाट उत्पादन भइरहेको छ ।

सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका आयोजनाबाट ६३५ मेगावाट र निजी क्षेत्रबाट ६५१ मेगावाट विद्युत उत्पादन भइरहेको हो ।

प्रकाशित समय १८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु