गृहपृष्ठ सुदूरपश्चिमका ८ जिल्लामा कोरोना, २८ जनालाई संक्रमण पुष्टि

सुदूरपश्चिमका ८ जिल्लामा कोरोना, २८ जनालाई संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये आइतबार बेलुकीसमम ८ जिल्लाका नागरिकमा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप ५ जनामा कोरोना पुष्टि भएसँगै सुदूरपश्चिमका संक्रमितको संख्या २८ पुगेको हो ।

हालसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा १३, बैतडीमा ५, बाजुरा र अछाममा तीन/तीन, दार्चुला, बझाङ, कञ्चनपुर र डडेल्धुरामा एक।एक जनामा कोरोना पुष्टि भएको हो । डोटी जिल्लामा भने हालसम्म संक्रमण देखिएको छैन ।

त्यसमध्ये एक बालिकाको मृत्यु भइसकेको छ, भने ६ जना कोरोनालाई जितेर डिस्चार्ज भइसकेका छन् । ५ जना सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका हुन् भने एक जना बलम्बुको कोभिड- १९ अस्पतालबाट मात्रै १६औँ दिनमा कोरोना जित्दै शनिबार मात्रै डिस्चार्ज भएका थिए । १९ जनाको सुदूरपश्चिमकै विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने बाँकी दुई जनाको भने सुर्खेत र कालिकोटमा उपचाररत छन् ।

आइतबार मात्रै कैलालीका थप तीन जनामा कोरोना पुष्टि भएको हो । धनगढी उपमहानगरपालिका वडा नम्वर ३ का ३७ वर्षीय पुरुष, कैलालीको भजनी नगरपालिका वडा नम्वर ७ का २३ वर्षीय पुरुष र जानकी गाउँपालिका वडा नम्बर ९ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

धनगढीका संक्रमित ६५ जनाको समूहमा क्वारेन्टिनमा

धनगढीमा देखिएका कोरोना संक्रमित भारतबाट आएका हुन् । उनी ६५ जनाको समूहमा धनगढीस्थित त्रिनगर माविको क्वारेन्टिनमा बसेका थिए । धनगढी उपमहानगरपालिका अनुसार उनीहरुमध्ये १२ जनाको शनिबार थ्रोट स्वाबको नमूना संकलन गरिएको थियो । सोही नमूनामा एक जनाको रिपोर्ट पोजेटिभ देखाएको हो ।

क्वारेन्टिन व्यवस्थापन संयोजक उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष नारायण बरालले संक्रमित पुरुष भारतबाट ७ गते धनगढी भित्रिएको बताए । उनका अनुसार पहिलोपटक गरीएको परीक्षणमा त्रुटी देखिएपछि आइतबार दोस्रो पटक परीक्षण गरिएको हो । योसँगै धनगढी उपमहानगरपालिकामा संक्रमितको सङख्या तीन पुगेको छ । यसअघि धनगढी उपमहानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय पुरुष र उनकी ३४ वर्षीय भाउजूमा कोरोना पुष्टि भएको थियो । उनीहरु दुवै जना कोरोनालाई जितेर घर फर्किसकेका छन् ।

मृतक बालिकासहित ५ हजार बढी एकै दिन भित्रिएका थिए

कोरोनाबाट मृत्यु भएकी बाजुराकी दुई वर्षीय बालिकासँगै गौरीफन्टा नाकाबाट ५ हजार बढी आएको पाइएको हो । उनी जेठ १३ गते कैलालीको त्रिनगर नाकाबाट धनगढी हुँदै बाजुरा पुगेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उनीसँगै सो दिन नाकाबाट पाँच हजार दुई सय ४२ जनाको उद्धार गरिएको थियो । ति बालिकामा कोरोना पुष्टि भइसकेको छ । उनकी २३ वर्षीय आमामा समेत संक्रमण रहेको स्वास्थ्य मन्त्रालयले नै पुष्टि गरिसकेको छ ।

जानकी गाउँपालिकाका पनि त्रिनगर नाकाबाटै

जानकी गाउँपालिकाका संक्रमित पनि जेठ ३ गते नै त्रिनगर नाकाबाटै आएको खुलेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले बताएका छन् । यस्तै भजनी नगरपालिकाका पहिलो संक्रमित भने नेपालगञ्जबाट फर्किएको उनले जानकारी दिए ।

डीएसपी बस्नेतका अनुसार २३ वर्षीय संक्रमित युवक ४ गते नेपालगञ्जबाट आएको खुलेको छ । योसँगै जिल्लामा संक्रमितको संख्या कैलालीमा मात्रै १३ पुगेको छ । जानकी गाउँपालिकाका- ७, धनगढी उपमहानगरपालिकाका ३, लम्कीचुहा नगरपालिकाका दुई र भजनी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भइसकेको हो । अहिले ७/७ जनाको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पताल तथा एक जनाको प्राथमिक स्वास्थ्य चौकी भजनीमा उपचार भइरहेको छ । संक्रमितमध्ये चार जना बैतडी र दुई जना अछामका पनि छन् ।

प्रकाशित समय १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु