गृहपृष्ठ संकटका बेला विद्युत महसुल बढाउन विश्व बैंकको सर्त
संकटका बेला विद्युत महसुल बढाउन विश्व बैंकको सर्त
नोबल कोरोना भाइरस महामारी (कोभिड–१९) को संकटसँग जुझ्न विश्व बैंकले दिने भनेको अतिरिक्त १२ अर्ब रुपैयाँको ऋण खान नेपालले विद्युतको महसुल बढाउनु पर्ने भएको छ ।
कोभिड–१९ महामारीको चपेटामा परेको नेपाललाई ऋण दिन आमनेपालीमाथि भार पर्नेगरि विश्व बैंकले विद्युत महसुल बढाउनु पर्ने सर्त राखेको हो । बैंकले हालैमात्र नेपाललाई ऊर्जा क्षेत्रको विकास नीति ऋण (डीपीसी)–टू अन्तर्गत नेपाललाई करिब १२ अर्ब (१० करोड अमेरिकी डलर)को ऋण स्वीकृत गरेको थियो ।
ऋण स्वीकृति गर्दा तयार पारिएको आन्तरिक दस्तावेज अनुसार यो ऋण लिन भने नेपालले हालको विद्यमान दरभन्दा ३२ प्रतिशतले विद्युत महसुल बढाउनु पर्नेछ । विद्युत महसुल विद्युत् आपूर्ति लागतको आधारमा करिब ३२ प्रतिशत कम भएको भन्दै बैंकले महसुल दर बढाउन भनेको हो ।
विद्युत महसुल समायोजनका विषयमा आन्तरिक रूपमा विवाद भइरहेकाबेला विश्व बैंकको नयाँ सर्त अगाडि आएको हो । विद्युत प्राधिकरण स्रोतका अनुसार अर्थमन्त्रालयले यो ऋण लिनका लागि महसुल वृद्धिमा सैद्धान्तिक सहमति जनाइसकेको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार हाल कर्मचारीको तलब–भत्ता, सञ्चालन खर्च, प्राधिकरणले लिएको ऋणको ब्याजसहितको विद्युत् आपूर्तिको लागत १० रुपैयाँ २५ पैसा छ भने प्राविधिक नोक्सानीसहित औसत महसुल १० रुपैयाँ २६ पैसा छ । यो संशोधित लागत हिसाब हो । प्राधिकरणले प्रतियुनिट ११ रुपैयाँ ३८ पैसा पुर्याउन प्रस्तावित गरेको छ ।
विद्युत् प्राधिकरणको सञ्चालक समितिले गत माघ ८ गते विद्युत महसुल निर्धारण आयोगमा महसुल दर पुनरावलोकनका लागि प्रस्ताव पठाएको थियो । प्राधिकरणले औद्योगिक र सर्वसाधारण उपभोक्ता (ग्राहस्थ वर्ग) दुवैका लागि महसुल बढाउन प्रस्तावित गरेको छ ।
विश्व बैंकको बोर्डले गत बुधबारमात्रै नेपालका ऊर्जा क्षेत्रका लागि यो ऋण स्वीकृत गरेको थियो भने छिट्टै सरकारसँग ऋण दिने सहमतिपत्रमा हस्ताक्षर हुँदैछ । सरकारले पहिलो चरणको ऊर्जा क्षेत्रको डीपीसी ऋण लिइसकेको छ ।
‘विद्युत् प्राधिकरणको वित्तीय क्षमता सुधार’का लागि भनेर ऋण दिइँदा नै प्राधिकरणको नाफा ४० अर्ब रुपैयाँ पुर्याउने विश्व बैंकको ऋणपत्रमा उल्लेख छ ।
बैंकले प्राधिकरणको नाफामा सुधारका लागि हाल ऊर्जा उत्पादकहरूसँग हुँदै आएको विद्युत खरिद सम्झौता (पीपीए)लाई ‘पोस्टपेड ट्यारिफ’ र वार्ताका आधारमा प्रतिस्पर्धात्मक बोलपत्रका आधारमा हस्ताक्षर गर्न पनि भनेको हो ।
यसैगरी, बैंकले प्राधिकरणको प्रशासनिक पुनःसंरचनाअन्तर्गत अब प्राधिकरणका सबै नियुक्तिमा ४५ प्रतिशत महिला र सामाजिक रुपमा पछाडि पारिएका समूहलाई भर्ति गर्न भनेको छ, जसमध्ये ३३ प्रतिशत महिलाको नियुक्ति अनिवार्य रहनु पर्नेछ ।
प्रकाशित समय ११:१९ बजे

















