गृहपृष्ठ एनआइसी एसिया बैंकले ब्याजमा थप १० प्रतिशत छुट दिने

एनआइसी एसिया बैंकले ब्याजमा थप १० प्रतिशत छुट दिने

nic-asia-bank-newskarobar

एनआइसी एसिया बैंकले आफ्ना ऋणीहरूलाई थप १० प्रतिशत ब्याज छुट दिने भएको छ । यस्तो सहुलियत लकडाउनका कारण प्रभावित ऋणीले मात्रै पाउने छन् । आगामी असार मसान्तमा बुझाउने किस्तामा चैतमा बुझाएकोभन्दा २ प्रतिशत कम ब्याजदर गणना गर्न राष्ट्र बैंकले गत वैशाख १६ मा निर्देशन दिएको थियो ।

यस्तो छुट खाद्यान्न प्रशोधन तथा विक्रीवितरण, ग्यास, सोप एण्ड केमिकल्स तथा औषधि विक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय, दूरसञ्चार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत परियोजनाले भने पाउने छैनन् ।

साथै वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज/किस्ता सो समयमा चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट दिने र हर्जाना तथा पेनल ब्याजको शतप्रतिशत छुट दिनेगरी योजना ल्याएको नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए । यो योजना भने सबैका लागि लागू हुने बैंकले जनाएको छ ।

‘उत्तरदायी बैंकिङको अभ्यास गर्दै आइरहेको यस बैंकले अहिलेको विषम परिस्थितिमा समेत समग्र अर्थतन्त्रको सवलीकरणमा टेवा पुर्‍याउने मनसायले नियमनकारी निकायबाट जारी निर्देशनलाई अक्षरशः पालना गर्दै थप सहुलियत प्रदानलाई प्रथामिकताको रुपमा लिएको छ’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि राष्ट्र बैंकको गत चैत १६ गतेको निर्देशन पालना गर्दै चैत मसान्तसम्ममा भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता सो समयमा भुक्तानी गरेका ऋणीलाई साधारण व्याजको १० प्रतिशत छुट दिएको बैंकले जनाएको छ।

वैशाख महिनाको हकमा ऋणीहरुको चैत मसान्तसम्म कायम ब्याज दरमा २ प्रतिशत ब्याज छुट प्रदान गरेपश्चात हुन आउने साधारण ब्याजमा १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका लगायत सम्पूर्ण कर्जामा लागू हुनेछ । तर आधार दरमा कर्जा उपभोग गरिरहेका ऋणीहरुको हकमा लागू हुने छैन । सहुलियतका कारण ऋणीहरुको ब्याजदर चैत मसान्तको आधार दरभन्दा कम नहुनेगरी छुट प्रदान गरिने व्यवस्था गरिएको बैंकले जनाएको छ।

बैंकले २०७७ वैशाख महिनासम्ममा नवीकरण गर्नुपर्ने कर्जाहरूको हकमा कर्जा नवीकरण नभएको आधारमा कुनै पनि थप ब्याज, जरिवाना तथा शुल्क नलाग्ने व्यवस्थासमेत गरिएको जनाएको छ ।बैंकका अनुसार यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहकको खातामा जम्मा गरिनेछ ।

बैंकले सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान भइरहेको जनाएको छ ।

‘कोरोनासँगको लडाइँ, बैंकिङ गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तरबैंक रकम स्थानान्तरण, बिजुली, खानेपानी महसुल, हवाई टिकट, इन्टरनेट सेवा, बिमा तथा टेलिफोन शुल्कलगायत विद्युतीय माध्यमबाट ग्राहकले घरबाटै निःशुल्क रुपमा तिर्नसक्ने बैंकले व्यवस्था  गरेको छ ।

नेपालभरका कुनै बैंक तथा वित्तीय संस्थाहरूको कार्डवाहकले एनआईसी एसियाका ४६१ एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने र यस एनआइसी एसियाका कार्डवाहकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरूको एटीएम प्रयोग गर्दा कुनै शुल्क नलाग्ने समेत बैंकले जनाएको छ ।

हाल देशभर बैंकका ३१९ शाखा कार्यालय, ४६१ एटीएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ इकाई सञ्चालनमा छन् ।

प्रकाशित समय १३:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु