गृहपृष्ठ प्रदेश १ को करिब ३ लाख हेक्टरमा सिँचाइ सुविधा, चालू आवमै थपियो ४४ हजार हेक्टर
प्रदेश १ को करिब ३ लाख हेक्टरमा सिँचाइ सुविधा, चालू आवमै थपियो ४४ हजार हेक्टर
प्रदेश १ सरकारले २ लाख ८० हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको जनाएको छ । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै प्रदेशको कुल खेतीयोग्य क्षेत्रफल ६ लाख २० हजार ६०८ हेक्टरमध्ये ४५.२ प्रतिशतमा सिँचाइ सुविधा पुगेको बताएका हुन् ।
मन्त्री आङ्बोका अनुसार खेतीयोग्य जमिनको ८२.९ प्रतिशतमा मात्रै खेती गरिएको छ । सिँचाइ सुविधा उपलब्ध जमिनको हिस्सा चालू आवमा ७.२ प्रतिशतले बढेको हो । प्रदेश सरकारले चालू वर्षको बजेटमा ३८ प्रतिशतमा सिँचाइ सुविधा पुगेको जनाएको थियो ।
चालू आवमा प्रदेशका १४ जिल्लामा ८ हजार ४९२ उद्योग र ३ हजार ४६५ वाणिज्य संस्थाहरुमार्फत ४० हजारभन्दा बढी रोजगारी सिर्जना भएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रदेशमा हाल वाणिज्य बैंकको शाखा संख्या ७०३, विकास बैंकको १७३, वित्त कम्पनीको ४३ र लघुवित्तको शाखा संख्या ६८७ गरी १ हजार ६०६ शाखा छन् । त्यस्तै ४९१ एटिएम छन् । यसबाट प्रदेशको वित्तीय पहुँचमा सुधार आएको मन्त्री आङ्बोले बताए ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट हालसम्म १० हजार ६७४ नयाँ लघु उद्यम संस्था विकास भएका भएको बजेट वक्तव्यमा उल्लेख छ । उद्यमशीलता विकासमार्फत गरिबीको रेखामुनि रहेका महिला, दलित, जनजाति, मधेसी, युवा र अन्य सीमान्तकृत वर्ग र समुदायमा उद्यम व्यवसाय सिर्जना गर्नुका साथै उद्यमहरुको स्तरोन्नति गरी स्वरोजगारी तथा रोजगारी सिर्जनामा सहयोग पुगेको जनाइएको छ ।
प्रदेशका विपन्न तथा पिछडिएका जनताका लागि कार्यान्वयन भएको जनता आवास कार्यक्रमअन्तर्गत ४ हजार ६४५ घरहरुको निर्माण प्रारम्भ भएको र तीमध्ये १७१ वटा घरहरुको निर्माण कार्य सम्पन्न भइसकेको मन्त्री आङ्बोले जानकारी दिए ।
प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ४० अर्ब ८९ करोडको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेश सभामा प्रस्तुत बजेट अनुसार पुँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख, चालूतर्फ १८ अर्ब ९३ करोड ४९ लाख, अन्तरसरकारी वित्त हस्तान्तरतर्फ २ अर्ब ८६ करोड ८२ लाख ४५ हजार र वित्तीय व्यवस्थापनतर्फ चार करोड रुपैयाँ विनियोजन गरिएको छ ।
आगामी आवको बजेट चालू आर्थिकको तुलनामा एक अर्ब ३० करोड पाँच लाख रुपैयाँले कम हो ।
प्रकाशित समय ०८:५७ बजे

















