गृहपृष्ठ ‘इजी ट्याक्सी नेपाल’ले ११ हजार ट्याक्सी चालकको कोरोना बिमा गरिदिने
‘इजी ट्याक्सी नेपाल’ले ११ हजार ट्याक्सी चालकको कोरोना बिमा गरिदिने
इजी ट्याक्सी नेपाल एपले टयाक्सी चालकहरुको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बिमा गरिदिने व्यवस्था ल्याएको छ । पछिल्लो दिनमा देशभर निरन्तर बढिरहेको कोरोना महामारीलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाका करिब ११ हजार ट्याक्सी चालकहरुको कोरोना बिमा गर्ने व्यवस्था गरेको छ ।
योजनाअन्तर्गत ट्याक्सी चालकहरुले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा सञ्चालन गरिएको हुनुपर्नेछ वा आगामी दिनमा इजी ट्याक्सी नेपाल एपमा आवद्ध हुने प्रतिबद्धता गर्नुपर्नेछ । यस इजी ट्याक्सी नेपालको एपमार्फत यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्नेछन भने ट्याक्सी चालकले पनि सजिलै यात्रु पाउनेछन् ।
यस एपभित्र चालक तथा यात्रुलाई सुरक्षित गराउनको लागि म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको छ । जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदैछु भन्ने कुरा जानकारी प्राप्त हुन्छ । र ट्याक्सी चालकले यात्रुलाई कुन स्थानबाट कहाँ पुर्याउने हो सजिलै दर्ता गर्न सक्दछ । यसबाट चालक तथा यात्रु दुवै सुरक्षित हुनुको साथै कुनै मालसामान छुटेको अवस्थामा पनि सजिलै आफू चढेको ट्याक्सीको बारेमा जानकारी प्राप्त गर्न सकिने र मालसामान फिर्ता पाउन सहज हुनेछ ।
यस सिस्टमको माध्यमबाट नेपाल सरकारलाई आवश्यक परेको बेलामा कोरोनाको ट्रेसिङ गर्नुपर्दा सहयोग पुग्नुको साथसाथै आवश्यक विवरणहरु पनि सजिलै संकलन गर्न सकिनेछ । अहिलेको समयमा कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै ट्याक्सी सेवालाई सहजरुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने इजी ट्याक्सी नेपालको उद्देश्य रहेको छ ।
इजी ट्याक्सी नेपालका अध्यक्ष सञ्जित पौडेलले देशभर लागू भएको लकडाउनका कारण लामो समयसम्म ट्याक्सी व्यवसायसमेत बन्द भएको र समस्यामा रहेको हुँदा यसलाई सहज बनाउन बिमा गर्न लागिएको बताए । ‘भर्खर सीमित संख्यामा ट्याक्सी चल्न थालेका छन र यात्रुहरुलाई समेत सुरक्षित भएको सन्देश दिनुपर्नेछ, जसमा कोरोना बिमा गर्दा ट्याक्सी चालकहरुले ढुक्कले सेवा दिनसक्नेछन्,’ अध्यक्ष पौडेलले भने । यसका साथै ट्याक्सी व्यवसायीलाई ट्याक्सी बिमा गराउँदा विभिन्न बिमा कम्पनीसँगको सहकार्यमा इजी ट्याक्सीले सहुलियत दरमा ट्याक्सी बिमा गराउने व्यवस्थासमेत गरेको छ । जसअन्तर्गत इजी ट्याक्सी नेपालले ट्याक्सी बिमामा न्यूनतम ७०० रुपैयाँदेखि ८,७६५ रुपैयाँसम्मको छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
यसैबिच ट्याक्सीको बिमा अवधि सकिएका वा सकिन लागेका ट्याक्सी व्यवसायीहरुले तीनकुने सुविधानगरस्थित इजी ट्याक्सी नेपाल एपको कार्यालयमार्फत ट्याक्सी बिमा नवीकरण गराउन सकिनेछ ।
प्रकाशित समय १७:३० बजे

















