गृहपृष्ठ भारतसँग सामान किन्न उल्टै उसैसँग भारु किन्छ नेपाल
भारतसँग सामान किन्न उल्टै उसैसँग भारु किन्छ नेपाल
यस वर्ष भने डलर बेचेर भारु किन्ने क्रम घट्यो
विगत केही वर्षयता अमेरिकी डलर बेचेर भारतीय मुद्रा (भारु) किन्ने क्रम घटेको छ । नेपालको कुल वैदेशिक व्यापारमा ६४ प्रतिशत हिस्सा रहेको भारतसँग वस्तु खरिदबाहेक भारतमा नेपालीहरू तीर्थाटन गर्न, औषधोपचार र अध्ययनका लागि जाँदा भारु चाहिने भएकाले सरकारले डलर भारतलाई बेचेर भारु किन्ने गरेको छ ।
सीमावर्ती क्षेत्रका नेपालीहरूको दैनिक किनमेलदेखि माइती-मावलीका लागि आवत-जावत गर्दासमेत भारु चाहिने भएकाले नेपालमा भित्रनेभन्दा बाहिरिने भारु बढी भएकै कारण नेपाल राष्ट्र बैंकले भारतीय रिजर्भ बैंक (आरबीआई) सँग भारु किन्ने गर्छ ।
नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन- २०१४ अनुसार नेपालमा नेपाली मुद्राबाहेक अन्य मुलुकका मुद्रा रंगीन कागजसरहमात्रै हुने भए पनि भारुलाई नेपाली मुद्रासरह लेनदेन गरिरहिँदा यसले समानान्तर मुद्रासरह उपस्थिति जनाउँदै आएको छ ।
नेपाल भ्रमणमा आउने अधिकांस भारतीय पर्यटकहरूले स्थानीय मुद्रासरह नै भारुमै भुक्तानी गर्ने गरेका छन्, जबकी कानुनी व्यवस्थाअनुसार उनीहरूले बैंकमा भारुलाई नेपाली मुद्रासँग साटेर कारोबार गर्नुपर्ने भए पनि व्यवहारिक रूपमा यो कार्यान्वयन नहुँदा भारुले समानान्तर मुद्राका रुप लिएको हो ।
यसबाहेक भारतमा नेपाली वस्तु निर्यात गर्दा त्यहाँबाट केही आयात भए पनि उताबाट हुने आयभन्दा यताबाट तिर्नुपर्ने रकम बढी हुँदा भारु खरिद गर्ने गरिएको हो । वितेको आर्थिक वर्ष (आव)२०७६/७७ को ११ महिनामा भारतबाट ६ खर्ब ७० अर्ब रूपैयाँबराबरको वस्तु आयात भएकोमा नेपालबाट जम्मा ६७ करोड रूपैयाँको मात्र निर्यात भएको थियो ।
२०५८/५९ सम्म नेपालको बैंकिङ प्रणालीमा प्रशस्त भारु सञ्चित हुने गरे पनि त्यसयता भारुको सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले अमेरिकी डलर, स्ट्रलिङ पाउन्ड, जापानी येनसहितका परिवर्त्य विदेशी मुद्रा बेचेर भारु किन्ने गरेको छ ।
भारु खरिदको यो अनुपात भने अघिल्लो आव २०७५/७६ देखि घट्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आव २०७३/७४ मा ४ अर्ब १२ करोड अमेरिकी डलर बेचेर २ खर्ब ७३ अर्ब ५६ करोड रूपैयाँबराबरको भारु किनिएकोमा आव २०७४/७५ मा यो अझ बढेर ४ अर्ब ७६ करोड अमेरिकी डलर बेचेर ३ खर्ब ११ अर्ब ६४ करोड रूपैयाँबराबरको भारु किनिएको थियो ।
यसैगरी आव २०७५/७६ मा ४ अर्ब २४ करोड ४० लाख अमेरिकी डलर बेचेर२ खर्ब ९९ अर्ब ३२ करोड रूपैयाँबराबरको भारु किनिएकोमा भर्खरै बितेको आव २०७६/७७ मा भारु किन्ने क्रम अझ घटेको छ । गत वर्ष जम्मा ३ अर्ब ८२ करोड डलर बेचेर २ खर्ब ७६ अर्ब ७६ करोड रूपैयाँबराबरको भारु किनिएको छ ।
कोरोना भाइरस महामारीको विस्तार रोक्न लगाइएको लकडाउनका कारण भारतबाट हुने आयात २० प्रतिशतले घटेको र नेपालीहरूको भारत जाने क्रम रोकिएपछि भारु पनि कम किन्नु परेको हो । भारु कम किन्नु परेपछि नेपाल राष्ट्र बैंककको खातामा परिवर्त्य विदेशी मुद्राको सञ्चिति पनि बढेको छ ।
प्रकाशित समय १४:३६ बजे

















