गृहपृष्ठ कर्णालीका ९ जिल्लामा पुग्यो सलह किरा, खेतबारीमा पहरा दिँदै किसान
कर्णालीका ९ जिल्लामा पुग्यो सलह किरा, खेतबारीमा पहरा दिँदै किसान
कर्णाली प्रदेशमा सलह प्रवेश गरेसँगै किसानहरु चिन्तित बनेका छन् । शुक्रबार सलहको ठूलो झुण्ड वीरेन्द्रनगर उपत्यकामा प्रवेश गरेको थियो । मकै बारीमा पसेको सलह किसानहरुले थाल, ड्रम बजाएर सलहलाई भगाएका थिए ।
वीरेन्द्रनगर- ११ का प्रेमबहादुर खत्रीले मकै बारीमा पसेको सलहलाई ड्रम बजाएर भगाएको बताए । उनले भने, ‘सलह प्रवेश गरेपछि किसानहरु आतंकित भएका छन् । धानभन्दा पनि अग्ला मकै बारीमा बसेका सलहलाई आगोको धुँवा लगाएर तथा थाल र ड्रम बजाएर भगायाैं ।’
चिनगाड गाउँपालिकामा पनि सलह देखिएको छ । मकै बारीमा सलह पसेपछि होलहल्ला गर्ने, ड्रम बजाएर भगाउने गरिएको चिनगाड गाउँपालिका- ३, अवलघुवानीका प्रतिप जंग रानाले बताए । उनले शुुक्रबार साँझ ठूलो झुण्ड जाजरकोटको शिवालय गाउँपालिकातर्फ लागेको बताए । चिङगाडको ३ नम्बर वडा क्षेत्रका मकै बालीमा सलहले ठुलो क्षति पुगेको उनले बताए । उनका अनुसार किसानले बालीबाट भगाए पनि फेरि फर्किएर सलहले बाली क्षति गरेको छ ।
एकीकृत कृषि प्रयोगशाला सुर्खेतका बाली संरक्षण अधिकृत धनश्याम कार्कीले सलहको ठूलो झुुण्ड वीरेन्द्रनगर उपत्यकामा प्रवेश गरेको बताए । उनले यो सलहको झुण्डले खेतीबालीमा क्षति गर्ने सम्भावना धेरै रहेको जानकारी दिए । तरकारी, मकै र धानमा क्षति हुने उनको भनाइ छ । किसानलाई ड्रम, भाँडा, आगोको धुवाले सलह भगाउन भनिएको उनले बताए । उनले वीरेन्द्रनगर उपत्यकाबाट केही सलहको झुण्ड पश्चिम र उत्तरतर्फ लागेको जानकारी दिए ।
कृषि विकास निर्देशनालय सुर्खेतका बाली विकास अधिकृत याम रानाले किसानले लगाएको बालीमा सलह किराले ठुलो क्षति गर्ने सम्भावना भएको बताए । उनका अनुसार सलह पटक-पटक गरी सानो-सानो झुण्डमा कर्णाली प्रवेश गरेको र केही समय यतै रहने अनुमान छ । किसानलाई सलह भगाउनको लागि पावर स्प्रे र विषादिसमेत वितरण सुरु गरेको जानकारी रानाले दिए । उनले सुर्खेत जिल्लाको हकमा सबैभन्दा बढी भेरीगंगा- ११ को रामघाटमा भएकाले सोही ठाउँबाट किसानलाई पावरस्प्रे र विषादि वितरण सुरु गरिएको बताए ।
‘सलह बसेको ठाउँमा करिब ४० प्रतिशत बाली नोक्सान भएको छ,’ उनले भने, ‘तर धानलाई भने अहिलेसम्म क्षति गरेको छैन ।’ मकै, बोडी लगायतका तरकारी बाली र अन्य घाँसहरुमा सलहले क्षति गरेको उनले बताए । रानाका अनुसार भदौ महिनामा समेत भारतबाट केही सलहको झुण्ड प्रवेशको संकेत आएको उनले बताए ।
प्रदेशका नौ जिल्ला पुग्यो सलह
कर्णाली प्रदेशका नौ जिल्लामा सलह किरा पुगेको छ । कर्णालीमा ठूलो समूहमा सलहका झुण्ड देखिएको हो । यसअघि प्रदेशका विभिन्न स्थानमा सानो समूहमा देखिएको सलह बिहीबारदेखि ठूलो संख्यामा देखिएको हो । बिहीबार पूर्वी सुर्खेत र सल्यानका केही स्थानमा देखिएको सलह किराको समूह शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगर आइपुगेको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशका १० जिल्लामध्ये मुगुमा मात्र सलह पुगेको छैन । वीरेन्द्रनगर उपत्यकाका विभिन्न ठाउँमा समेत सलह पसेको छ । ठूलो संख्यामा सलह देखिएकाले नियन्त्रण गर्न विषादी प्रयोग गर्नुपर्ने भए पनि यो उपयुक्त समय नभएको । भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरि पण्डितको भनााइ छ । अहिले मकै र धानको ब्याड हुने भएकाले सलह किराको जोखिम त्यसमा बढ्नसक्ने अनुमान गरिएको उनले बताए ।
मन्त्रालयका प्रवक्ता पण्डितका अनुसार सलह दाङ हुँदै कर्णालीका विभिन्न जिल्ला पसेको हो । सलह किराले मकै, धानको बिउ र तरकारी नष्ट गर्न थालेपछि किसान समस्यामा परेका छन् । बाली र तरकारी बचाउन किसानले पहरा दिन थालेका छन् । सलह भित्रिए पछि किसानहरु बालीनाली कसरी जोगाउने भन्नेमा चिन्तित छन् । एकपटक हजारौंको संख्यामा आउने सलह किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ ।
प्रकाशित समय १८:५६ बजे
















