गृहपृष्ठ किसानको हितमा उद्योग चलाउने चिया उद्योगी
किसानको हितमा उद्योग चलाउने चिया उद्योगी
भन्छन्– किसान मारेर कुनै उद्योगी उँभो लाग्दैनन्
यतिबेला चिया क्षेत्रमा उद्योगी र किसानबीच मनोमालिन्य बढेको छ । उद्योगीले चियाको उचित दाम नपाएको भन्दै किसान आन्दोलनमा छन् । वर्षैपिच्छे उद्योगविरुद्ध किसान र मजदुरले आन्दोलन गर्छन् । यसको मतलव उद्योगीसँग किसान–मजदुर असन्तुष्ट छन् भन्ने बुझिन्छ तर यही क्षेत्रमा किसान–मजदुरलाई ‘चित्त बुझ्दो’ दाम दिने उद्योगीको भने कमी छैन ।
यसैमध्येमा पर्ने चिया उद्योगी हुन्, सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईं । सधैँ किसान–मजदुरको पक्षमा वकालत गर्ने चापागाईं चिया उद्यमीमध्ये पनि सबैभन्दा ‘सिनियर’ उद्योगी हुन् । उनी चिया क्षेत्रमा रहेदेखि नै सधैँ किसान–मजदुरकै पक्षमा काम गर्दै आएकाले सधैँ उद्योगमा किसान–मजदुर माथिल्लोस्तरमा पर्ने बताउँछन् । ‘मलाई उद्योगले किसानलाई हरियो चियापत्तीको मूल्य कम दिए भनेको सुन्दा अचम्म लाग्छ,’ चापागाईं भन्छन्, ‘किसानलाई मारेर कहिल्यै पनि हामी उद्योगी उँभो लाग्दैनौँ ।’
चापागाईं किसानको चियामा चलनचल्तीमै भएको मूल्य उद्योगले दिनुपर्ने बताउँछन् । चापागाईँ उद्योगले चिया किन्दा अग्रिम रूपमै चियाको रकमसमेत भुक्तानी गर्नुपर्ने धारणा राख्छन् । अहिले बन्दाबन्दीको समयमा चिया बिक्री नभएको भन्दै धेरैजसो उद्योगीले चियाको रकम नदिएको बेला चापागाईँ भने किसानलाई ‘भोकभोकै’ राख्न नहुने पक्षमा छन् ।
‘मेरो उद्योगमा आएर हेर्नुहोस् । मैले त अग्रिम रूपमै चियाको भुक्तानी दिइसकेँ,’ उनी भन्छन्, ‘किसानलाई मारमा पारेर कहिल्यै व्यवसाय चलाउन सकिँदैन ।’ चापागाईंले हरियो चियापत्ती ८० देखि ८५ रुपैयाँ प्रतिकिलोमा किन्ने गरेका छन् । अन्य उद्योगमा त्यही पत्ती ४० मा बेच्न आन्दोलन गरिरहनुपरेको छ ।
यस्तै किसान र मजदुरलाई सधैँ हितमा राखेर काम गर्ने अर्का उद्योगी छन्, इलाम नगरपालिकास्थित जस्वीरे चिया प्रशोधन केन्द्रका सञ्चालक शरद सुब्बा । लामो समयदेखि यही पेसामा रहेका सुब्बा किसानलाई सधैँ आफूसरहकै व्यवहार गर्ने बताउँछन् । किसानबिना उद्योग सञ्चालन नहुने बुझेका सुब्बाले अहिले चलनचल्तीमा भन्दा धेरै हरियो चियापत्तीको मूल्य दिइरहेको बताए ।
‘अहिले पनि किसानले उचित दाम पाएका छैनन्,’ उनले भने, ‘उद्योगीका पनि आ–आफ्नै समस्या छन् तर चियाको दाम भने उचित दिनुपर्छ ।’ उनको उद्योगले चियाको न्यूनतम मूल्य ६० रुपैयाँ दिएको छ । न्यूनतम ६० रुपैयाँ देखि एक हजार ५०० सम्ममा हरियो चियापत्ती किन्ने गरेको उनले जानकारी गराए ।
सुब्बाले चियाको गुणस्तरअनुसार दाम पाइने स्पष्ट पारे । उनले मोटो सुइरोवाला चियालाई एक हजार ५००, मोटो सुइरो र एक पात चिया भएकोलाई ३५०, सानो दुई पात र एक सुइरो भएकालाई २०० मूल्य दिने गरेका छन् । यस्तै ‘टपकटपक टिपेको ठूलो पात र सानो सुइरो’ भएको चियालाई १०० र सुइरो सानो भएको हरियो चियापत्तीलाई प्रतिकिलो ६० रुपैयाँले किन्ने गरेको उनले बताए । (रासस)
प्रकाशित समय ०९:०३ बजे

















