गृहपृष्ठ कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी
कर्मचारी सञ्चय कोष र एनआईसी एशिया बैंकबीच समझदारी
कर्मचारी सञ्चय कोष र एनआईसी एसिया बैंकबीच समझदारी भएको छ । कर्मचारी सञ्चय कोषबाट कर्जा उपभोग गरिरहेका ऋणीले साँवा ब्याजसहितको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्नका लागि कर्मचारी सञ्चय कोष र एनआईसी एसिया बैंकबीच समझदारी भएको हो ।
समझदारी पत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र कोषका मुख्य प्रबन्धक अर्जुनकुमार गौतमले हस्ताक्षर गरेका छन् । बैंकले नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा कर्मचारी सञ्चय कोषबाट कर्जा सुविधा लिएका ऋणीलाई सुविधाको निमित्त कर्जाबमोजिमको किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधासम्बन्धी समझदारी गरेको जनाएको छ ।
डिजिटल बैंकिङ सेवामा अग्रणी स्थानमा रहेको एनआईसी एसियाले ‘डिजिटल फर्स्ट’ बैंक बन्ने दीर्घकालीन लक्ष्यअनुरुप नेपाल क्लियरिङ हाउससँगको सहकार्यमा विद्युतीय भुक्तानी जस्तो नवीनतम सुविधा ल्याएको छ । यो व्यवस्थाअन्तर्गत जुनसुकै बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालन गरेका कर्मचारी सञ्चय कोषका ऋणीले नेपाल क्लियरिङ हाउसको वेबसाइट लगइन गरेपछि गभर्मेन्ट पेमेन्टमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् ।
यस बैंकका डिजिटल सर्भिसहरू जस्तैः डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङका प्रयोगकर्ता २२ लाख रहेको अवस्थामा बैंकले विद्युतीय भुक्तानी तथा डिजिटल सेवालाई अझ परिस्कृत बनाउँदै लैजाने उद्देश्यअनुरुप विद्युतीय भुक्तानी तथा सेवागत क्षेत्रहरूमा समेत डिजिटल प्रणालीको विकास गरिरहेको जनाएको छ । बैंकले देशको बैंकिङ इतिहासमै पहिलो पटक घर वा अफिसबाट सेवाग्राहीले आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी आफ्नो वा आफूले चाहेको यस बैंकको खातामा नगद रकम जम्मा गर्न भौचर भर्ने अनलाइन प्रणालीको सुरुवात गरिसकेको छ । नगद जम्मा गर्ने भौचर भर्ने सेवाबाहेक बैंकले मोबाइल बैंकिङ सेवा नवीकरण, अनब्लक, ब्लक तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई–कमर्स दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध र स्टेटमेन्ट अनुरोध गर्नका लागि पनि अनलाइन प्रणाली आइसर्भमार्फत सेवा दिइरहेको छ ।
डिजिटल भुक्तानीलाई प्रवर्धन गर्न बैंकले मोबाइल बैंकिङ वा बैंकका ग्राहकले कार्डमार्फत भुक्तानी गर्दा देशभरका २ हजार ५०० भन्दा बढी अस्पताल, होटल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सुपर चामत्कारिक घर कर्जा, सुपर चामत्कारिक सवारी कर्जा र सुपर चामत्कारिक व्यवसाय कर्जाअन्तर्गत बैंकले ८.२५ प्रतिशत ब्याजदर र ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ ।
देशभर यस बैंकका ३२६ शाखा कार्यालय, ४६४ एटिएम, १०१ एक्स्टेन्सन काउन्टर र ६१ वटा शाखारहित बैंकिङ इकाइ रहेको नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिरनाथ पाण्डेले जानकारी दिए ।
प्रकाशित समय २१:४४ बजे

















