गृहपृष्ठ एनएमबी बैँकको ४२ जलविद्युत आयोजनामा ७ अर्ब लगानी

एनएमबी बैँकको ४२ जलविद्युत आयोजनामा ७ अर्ब लगानी

‘ग्रिन फाइनान्सिङ’ अभियान ल्याएर नेपालकै उत्कृष्ट वाणिज्य बैंक बन्ने योजना बनाएको एनएमबी बैंकले ४२ जलविद्युत परियोजनामा लगानी गरेको छ । डच सरकारको स्वामित्वमा रहेको एफएमओसँगको संयुक्त लगानीमा सञ्चालित एनएमबी बैंकले १४औँ वर्ष पूरा गर्दै गर्दा ४२ वटा जलविद्युत आयोजनामा करिब ७ अर्ब लगानी गरेको हो ।

एनएमबी बैंकको नेतृत्वमा साउन अन्तिम सातामात्रै २४ मेगावाट क्षमताको मादमे खोला जलविद्युत आयोजनामा लगानी जुटेको छ । त्यस्तै फागुनमा ८.६३ मेगावाट क्षमताको चेपेखोला साना जलविद्युत आयोजनामा पनि एनएमबी बैंकले लगानी गरेको थियो ।

एनएमबी बैंकले अरुण भ्याली हाइड्रोपावर कम्पनीले निर्माण गरेको तीन मेगावाट क्षमताको पिलुवाखोलाबाट जलविद्युत आयोजनामा लगानी गर्न सुरु गरेको हो । १३ मेगावाट क्षमताको थापाखोला, १० मेगावाट क्षमताको तल्लो मोदी १, १५ मेगावाट क्षमताको कालंगागाढ, १८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला, २३ मेगावाट क्षमताको सोलु र २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी बैंकले लगानी गरेका ठूला आयोजना हुन् । बैंकले केही लघुजलविद्युत र बायोग्यास, सोलारलगायत विद्युतका अन्य स्रोतमा पनि लगानी गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुनिल केसी एनएमबी बैंक अन्य वाणिज्य बैंकहरूभन्दा फरक किसिमले जान खोजिरहेको बताउँछन् । ‘हामीले सस्टेनेबल फाइनान्स अथवा रियल इकोनोमीमा केन्द्रित भएर लगानी रणनीति तय गरेका छौँ,’ उनी भन्छन्, ‘मार्जिन या नाफाभन्दा पनि हामीले गरेको व्यवसायले कसरी रियल इकोनोमीमा योगदान दिन सक्छ भनेर सोच्छौं ।’

बैंकले ऊर्जा क्षेत्रमा पनि नवीकरणीय ऊर्जा र पर्यटन, कृषि, शिक्षा, पूर्वाधारलगायत साना तथा मझौला कर्जालाई प्राथमिकतामा राखेको छ ।

बैंकले तीन वर्षयता यसलाई अझै फरक किसिमले अघि बढाइरहेको उनको बताए । ऊर्जा क्षेत्रमा पनि नवीकरणीय ऊर्जा र पर्यटन, कृषि, शिक्षा, पूर्वाधारलगायत साना तथा मझौला कर्जालाई एनएमबीले प्राथमिकतामा राखेको सिइओ केसीले जानकारी दिए । ‘नेपालले पूर्वाधारमा धेरै ठूलो लगानी गर्न बाँकी छ,’ उनी भन्छन्, ‘सरकारी योजनाअनुसार केही वर्षभित्र १५ हजार मेगावाट विद्युत उत्पादन गर्नुपर्नेछ, त्यसअनुसार हामीले जलविद्युतलाई केन्द्रमा राखेर लगानी विविधीकरण गरेका छौँ ।’

एनएमबी बैंकले लगानी गरेका ४२ जलविद्युत आयोजनाको कुल उत्पादन क्षमता ५४० मेगावाट रहेको सिइओ केसीले जानकारी दिए । मौद्रिक नीति २०७७/७८ अनुसार वाणिज्य बैंकहरूले २०८१ असार मसान्तसम्ममा कुल लगानीको कम्तीमा १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ । एनएमबी बैंकको हालसम्ममा ऊर्जा क्षेत्रमा ६.३ प्रतिशत लगानी गरिसकेको छ ।

एनएमबी बैंकले लगानी गरेका ४२ जलविद्युत आयोजनामध्ये २५ आयोजनाको नेतृत्व आफैँ गरेको छ भने १७ वटामा सहवित्तीयकरण छ । तीमध्ये २२ वटा आयोजना सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । २० वटा आयोजना निर्माणाधीन रहेको सिइओ केसीले जानकारी दिए । बैंकबाट हालसम्म ६ अर्ब ७८ करोड लगानी भइसकेको छ भने कर्जा सीमा १८ अर्ब ४० करोड रुपैयाँबराबर छ ।

यसबाहेक एनएमबी बैंकले साना तथा मझौला व्यवसायतर्फ ३१.५ प्रतिशत कर्जा प्रवाह गरेको छ । बैंकले कर्जा विविधीकरण गरी अर्थतन्त्रमा योगदान पुर्‍याउन नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ नेपाल, नेपाल उद्यमशील महिला महासंघ, जडिबुटी व्यवसायी संघलगायतसँग पनि सम्झौता गरेको छ ।

प्रकाशित समय १४:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु